प्रहरीले कसैसँग सम्झौता गर्दैनः एसपी कर्माचार्य

 

प्रहरी उपरीक्षक शिशिर कुमार कर्माचार्य र प्रहरी नायव उपरीक्षक केदार ढकालल
प्रहरी उपरीक्षक शिशिर कुमार कर्माचार्य र प्रहरी नायव उपरीक्षक केदार ढकाल

जिल्ला प्रहरी कार्यालय सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक शिशिर कुमार कर्माचार्यले प्रहरीद्वारा सम्पादन गरिने गतिविधिहरुको स्वच्छ एवम् निष्पक्ष रुपमा आलोचना गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार भेंटघाट एवम् परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो सञ्चारकर्मीहरुसँग यस्तो आग्रह गरेका हुन् । प्रहरीद्वारा गरिने सकारात्मक तथा आलोचनात्मक समाचारहरु स्वच्छ एवम् निष्पक्ष रुपमा सम्प्रेषण गर्न आग्रह गर्दै उनले भने– हाम्रा गतिविधीहरु पनि निर्धक्क रुपमा सम्प्रेषण गरिदिनुस तर त्यस्ता समाचारमा हाम्रो भनाई पनि राखिदिनुस् ।
आफू सोमवार सप्तरी जिल्ला आएको जानकारी दिँदै सप्तरीमा नेपाल प्रहरीको कार्य सम्पादन कार्यलाई अझ व्यवस्थि तगर्न लागि परेको बताए । दिन–रात जनताको सेवामा खटिने प्रहरीको जनतासँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै प्रहरी उपरीक्षक कर्माचार्यले भने– प्रहरीको तीतो बोलीका कारण जनतासँगको सम्बन्धमा तिक्तता आएको हामीले महशुस गरेका छौं, आगामी दिनमा त्यसलाई सुधार गर्दै लाने प्रयासमा छौं । जनतासँगको सम्वन्ध सु–मधुर बनाउनका लागि मातहतका जिम्मेवार व्यक्तिहरुलाई निर्देशन समेत दिई सकिएको उनले जानकारी दिए ।
जिल्लामा भईरहेको चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणसँगै शान्ति सुरक्षा थप सुदृढ गर्ने प्रहरी उपरीक्षक कर्माचार्यले विश्वास व्यक्त गरे । सोही अवसरमा पत्रकारहरुले आ–आफ्ना सुझाव तथा जिज्ञासा राखेका थिए । पत्रकार भेंटघाटकै क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक केदार ढकालले त्रैमासिक गतिविधिहरुबारे जानकारी गराएका छन् ।