​कांग्रेस केन्द्रीय सदस्यमा ७ जना मनोनित

ncनेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा कसैलाई पनि अन्याय नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राजधानीमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सभापति देउवाले कुनै कालखण्डमा कांग्रेस पार्टी दुईवटा भएपनि अव एक ढिक्का हुने बताए । उनले पार्टी भित्र कुनै भागबण्डा नहुने दावि समेत गरे ।

त्यस्तै कार्यक्रममा कांग्रेसका नवनिर्वाचित महामन्त्री डाक्टर शशांक कोईरालाले पार्टी संगठनलाई मजबुत बनाउन पनि साठी चालिसको भागवण्डा अन्त्य जरुरी भएको बताए । उनले पार्टीमा कुनै मतभेद र विभाजन छैन् भन्ने देखाउनु सबैका लागि चुनौति भएको बताए ।

कार्यक्रममा नवनिर्वाचत कोषाध्यक्ष सितादेवि यादवले मतभेदलाई विर्सिएर पार्टीका सबैलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठकले आजै ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी कार्यालय सानेपामा पदबहाली कार्यक्रमपछि सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र नरहरि आचार्यलाई पार्टीको केन्द्रिय कार्यसमितिमा मनोनयन गरेको हो ।

१३ औं महाधिवेशनमा पौडेल र सिटौला सभापतिको, अर्जुननरसिंह केसी र गगन थापा महामन्त्रीको तथा चित्रलेखा यादव र उमाकान्त चौधरी कोषाध्यक्षको उम्मेद्वार हुनुहुन्थ्यो । यस्तै अस्वस्थताका कारण नरहरि आचार्य भने महाधिवेशनमा सहभागी हुनुभएको थिएन ।१३ औँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार पदबहाली गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित सभापति शेबहादुर देउवासहितका पदाधिकारीलाई प्रमाणपत्र दिँदै जिम्मेवारी हस्तान्तरण गरेको हो ।