६९ औं भारतीय गणतन्त्र दिवस

100b20780e2f8af2260539dd620d0f85आज ६९ औं भारतीय गणतन्त्र दिवस । अर्थात समावेशी लोकतन्त्र स्थापनार्थ संबिधान निर्माण गरी भारतलाई सार्वभौम,समाजवादी,धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्रको दिशामा उन्मुख गराउनकालागि योगदान दिनेहरुको स्मरणको दिन । भारतको सामाजिक राजनैतिक व्यवस्थाले समाजका विभिन्न तह,तप्कालाई समेट्ने गरी समावेशी प्रगति र विकासको निमित्त सुनिश्चितता प्रदान गरेको छ । भारतले गरेको आर्थिक तथा प्राविधिक उन्नतिले विश्व मञ्चमा आफ्नो छुट्टै छाप छोड्नसमेत मद्दत पुर्याएको कुरा स्मरण योग्य छ ।

भारतले आफ्नो प्रगतिको आकांक्षामा सबैको साथ सबैको विकास भन्ने मार्गदर्शी सिध्दान्तका साथ छिमेकी मित्र राष्ट्रसँग पनि यो भावनालाई बाँड्न चाहेको विषय ६९ औं भारतीय गणतन्त्र दिवसका अवसरमा नेपालकालागि महामहिम भारतीय राजदूत मञ्जिव सिंह पुरीले दिनुभएको सन्देशमा समेत उल्लेख छ । राजनैतिक,आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्यतर्फ अगाडि बढिरहेको नेपालसँग भारत काँधमा काँध मिलाएर अघि बढ्न प्रतिबध्द रहेको कुरालाई उहाँले व्यक्त गर्नु भएको देखिन्छ ।

आफ्नो संबिधानको उत्सवका रुपमा भारतले ६९ औं गणतन्त्र दिवस मनाईरहँदा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  आआफ्ना भारतीय समकक्षी मार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी केही दिन अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनले वाम गठबन्धनलाई दिएको बहुमतले नयाँ प्रधानमन्त्रीको अग्रिम चर्चामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन मार्फत अग्रिम शुभकामना दिई सक्नुभएको छ । यसलाई दुई देश वीचको विशिष्ठ सम्बन्धका रुपमा दिन सकिन्छ । यसैगरी गणतन्त्र दिवसको पूर्वसन्ध्यामा विहीबार राती नेपालका बरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पुरस्कार पद्मश्री  प्रदान गर्ने घोषणा गरेको छ । समग्रमा हेर्दा नेपाल र भारत वीचको सम्बन्ध भौगोलिक दृष्टिकोणले मात्रै नभई सांस्कृतिक,भाषिक,धार्मिकलगायत विभिन्न आयामहरुलाट समेत अत्यन्त प्रगाढ रहेको तथ्य सर्वविदितै छ ।

अति घनिष्ठ यो सम्बन्धका कारणले यी दुई मुलुक मध्ये एकमा देखा पर्ने उथलपुथलले अर्को प्रभावित हुने अवस्था विद्यमान छ । यही कारणले पनि यी दुई मुलुकका वीचको सम्बन्ध विशिष्ठ किसिमको रहेकोमा कुनै आशंका छैन । भारतले गणतन्त्र दिवस मनाईरहँदा एक घनिष्ठ छिमेकी मित्र नेपालले पनि भारतीय जनता र सरकारलाई बधाई तथा शुभकामनाकासाथ असल छिमेकी प्रतिको सद्भाव व्यक्र्त े गरेको छ । दुवै छिमेकी मित्र राष्ट्रका वीचको यो सुमधुर सम्बन्धलाई आगामी दिनमा अझै दरिलो बनाउनेतिर लाग्दा दुवैको अझै हित हुने अपेक्षा राखियो भने पक्कै पनि त्यो अन्यथा नहोला । अन्तमा नेपाल तथा भारत दुई घनिष्ठ छिमेकी वीचको पारस्परिक सम्बन्ध अझै प्रगाढ बनोस् र आगामी दिनमा दुवै वीचको पारस्परिक सहयोगबाट उन्नतिको बाटो अझै फराकिलो बनोस् । गणतन्त्र दिवसको सबै भारतीय जनताई हाम्रो पनि बधाई तथा शुभकामना ।