३२ जिल्लामा पहिलो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा, भोलि बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान

electionगृह मन्त्रालयले निर्वाचन सुरक्षाका निम्ती हवाई र स्थल दुवै सुरक्षा सर्तकतालाई अपनाएको जनाएको छ । ३२ जिल्लाका २ हजार ९ सय १९ मतदानकेन्द्रका निम्ति ६४ हजार सेना, ६८ हजार ६ सय ७८ प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र र ९८ हजार १ सय ७६ म्यादी प्रहरी खटिएका छन् ।
प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा मताधिकार प्रयोग गर्न राजधानीमा रहेका सर्वसाधारण आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । आईतबार हुने निर्वाचनमा मताधिकार प्रयोगका लागि आफ्ना गन्तव्य तर्फ प्रस्थान गर्न शनिबार बिहानैदेखि काठमाडौको बिभिन्न नाकामा यात्रुको भिड लागेको थियो ।

काठमाडौको बालाजु, कोटेश्वर कलंकी लगायतका नाकाबाट अन्य दिनभन्दा शनिबार बढि संख्यामा सवारी साधन र यात्रु बाहिरिएको ट्राफिक महाशाखाले जनाएको छ । यसैबीच आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ । आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरिएको हो ।

आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव वाहन, अस्पताल सेवा र विद्युत सेवालगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । यसका लागि चुनाव हुने जिल्ला हुँदै चल्ने गाडी पनि चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न मन्त्रालयले सबैलाई अपील गरेको हो ।

गृह मन्त्रालयले दस देखि तीस मिनेटभीत्र जुनसुकै स्थानमा सुरक्षाकर्मीको टोली पुग्नेगरी निर्वाचन सुरक्षा प्रबन्ध मिलाइएको बताएको छ । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको तीन घेरामा निर्वाचन सुरक्षा रहने बताउँदै गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘भयरहित, स्वच्छ र विश्वसनिय रुपमा निर्वाचन सम्पन्न गराउन भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको छ ।’

प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बाम गठबन्धनका सहयात्री एमालेले २१ र माअाेबादी १६ गरि ३७ सीटमा प्रतिनिधि सभामा चुनावी तालमेल गरेका छन् भने प्रदेश सभा तर्फ एमाले ४३ र माअाेबादी केन्द्र ३३ सिटमा चुनावमा भिड्दैछन्।
यता काँग्रेस, संघीय समाजबादी फाेरम, राप्रपा लगायतका गठबन्धन मिलेर चुनावी अभियानमा छन् ।