०५४ को गजेन्द्र, ०७४ को उपेन्द्र

gajendra-narayan-singh-photo ‘त्यतिवेला हामिले गरेको गल्ती सच्याउने अवसर हो यो, उपेन्द्रको जितले हाम्रो राजनीतिक मुद्दालाई मात्रै स्थायित्व दिदैनन्, स्वर्गिय गजेन्द्र बाबु प्रति पनि सच्चा श्रद्धाञ्जली हुने छन् ।’

- कश्यप/ २०५४ को आम निर्वाचन चाहेर पनि सप्तरीबासी विर्सन सक्दैनन् । उक्त निर्वाचनमा स्वर्गिय नेता गजेन्द्रनारायण सिंहले भोगेको पराजय अझै पनि अधिकांश सप्तरीवासीको मनोमष्तिस्कलाई घोचिरहेका हुन्छन् । विभिन्न चुनावी नारामा अल्झिएर, जातियताको चंगुलमा फसेर, कतै साना तिना स्वार्थ त कतै मन भित्रको क्षणिक आवेग, द्वेश र अहंबस नै त्यतिवेला गजेन्द्र बाबु क्षेत्रका बहुसंख्यक मतदाताले उनी विरुद्ध मतदान गरेका थिए ।
लहलहैमा त्यतिवेला गरिएको मतदानले दुई दशक पछि पनि भित्र भित्रै आत्म कुण्ठा दिई राख्छन् भनि कसैले सोचेका पनि थिएनन् । तर त्यतिवेलाको त्यो निर्वाचन परिणामलाई सम्झेर आम मतदाता मात्रै नभई काँग्रेसका तत्कालिन नेता कार्यकर्ताहरुलाई पनि पछुतो भईरहेको छ । ०५४ को आम निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईवाट स्व. गजेन्द्रवावु चुनाव उठेका थिए र काँग्रेसका उम्मेदवार रामकुमार चौधरीसँग १७ मतको झिनो अन्तरले पराजित भएका थिए ।

‘गजेन्द्र नारायण सिंह राजपुत हुन’, ‘राजपुत सामन्ती हुन्छ’, ‘सधै राजपुत नै किन’, ‘राजपुत ब्राम्हण वाहेकका हामि बैकवार्ड जातिकाहरु कहिले नेता वन्ने’, ‘४÷५ सिट जित्ने सदभावनाले कस्तो विकास गर्लान’, ‘विकास र लोकतन्त्रको रक्षाका लागि काँग्रेस जिताउनु पर्छ’, ‘यस अघि पनि गजेन्द्रवावु जितेर गएका थिए के गरयो त’ जस्ता तथ्यहरु गजेन्द्रवावु विरुद्ध त्यतिवेला फैलाईएको बयोबृद्ध योगेन्द्र झालाई अझै सम्झाना छ ।

तिलाठी निवासि ७० बर्षिय झा प्रतिवन्धित कालदेखिनै नेपाली काँग्रेससँग आवद्ध रहेका छन् । ‘त्यतिवेला काँग्रेसलाई जिताउने भन्दा पनि गजेन्द्र बाबुलाई हराउने तर्फ सवै शक्तिहरु केन्द्रीत भएको थियो’, उनी सम्झन्छन्, ‘एकातिर तल्लो र उपल्लो जातिको नारा दिईदै थियो तर तिलाठी जहाँ बहुसंख्यक उपल्लो जातिका मतदाताहरु छन् त्यहाँ गजेन्द्रनारायण सिंहले त आफ्नो चुनावी भाषणमा तिलाठीलाई माइनस गरेरै पनि आफु जितिरहेको छु रे भनेका छन्, भनि भ्रामक प्रचार गरियो ।’ दुई दशक अघि स्मार्ट फोन तथा डिजिटल क्यामेराहरु हात हातमा आईसकेको अवस्था थिएन । न त सञ्चार जगतनै आजको जस्तो विकसित स्वरुप धारण गर्न सकेको थियो ।

‘गजेन्द्र बाबुको महत्व त्यतिवेला हामिले बुझनै सकेनौ, न त उनले उठाएका राजनीतिक मुद्दाकै महत्वलाई बुझने प्रयास ग¥यौ’, बृद्ध झा भन्छन्, ‘कुनै नेता प्रतिको व्यक्तिगत द्वेश वा घृणा आफ्नो ठाउँमा हुन्छ तर उसले उठाएका राजनीतिक मुद्दा वा मुलुकको राजनीतिमा ती व्यक्तिको महत्वलाई खयाल गरेर हामिले मतदान गर्नसक्नु पर्छ ।’ गजेन्द्र बाबुले उठाएको ‘मधेशवाद’को महत्व बुझेको भए यसभेगका मतदाताहरुलाई ०५४ को त्यो परिणामले अहिले सम्म आत्म कुण्ठा बोध हुनेथिएन होला ।

मुलधारको नेपाली राजनीतिमा मधेशवादको अजेण्डा उठाउने पहिला व्यक्ति गजेन्द्रनारायण सिंह नै हुन् । सप्तरीको कोईलाडी निवासी सिंहले आफ्नो राजनीतिक जिवनको थालनी काँग्रेसवाटै गरेका थिए । तराई काँग्रेस र सदभावना परिषद् हुँदै उनी नेपाल सदभावना पार्टीको स्थापना गरे । सप्तरीवाट उनी दुई पटक निर्वाचित भई संसद पुगे । मन्त्री पनि भए । यद्यपी ०५४ को निर्वाचन उनको राजनीतिक जिवनको अन्तिम निर्वाचन रहियो । चुनावमा पराजय पश्चात उनको राजनीतिक प्रतिष्ठामा पनि ठेस पुगेको थियो । विस्तारै पार्टी पनि कमजोर हुँदै गए र अन्ततः उनको निधन भयो ।

गजेन्द्र बाबु चुनाव नहारेका भए अझै केहि समय बाच्ने थिए भन्नेहरु पनि सप्तरीमा थुप्रै छन् । उनको मृत्यु पश्चात सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरु भित्र भित्रै कठोर पिडाको अनुभुति गरेका थिए । ‘गजेन्द्रबाबुको निधनको खवर पछि यस क्षेत्रका ग्रामिण भेगका कयौ घरमा खाना सम्म पाकेको थिएन’, ६५ बर्षिय बद्री मुखिया भन्छन्, ‘त्यो दिन हामि रोएका थियौ, तल्लो उपल्लो जातको नारामा फसेर उहाँलाई मतदिन नपाएको पछुतो अझै पनि छ ।’

मुलुकमा ०६२÷०६३ को ठुलो राजनीति परिवर्तन नभएको भए गजेन्द्र बाबुको पराजय पछि विस्तारै सेलाउँदै गएको मधेशको मुद्दा उनको निधन सँगै इतिहासको पाना भित्र सिमित हुने थियो । किन भने त्यस पछि कुनै पनि मधेशी नेताले मधेशकै मुद्दामा राजनीति गर्न सक्ने आँट गर्ने थिएन । ‘आखिर किन गर्नु, लोकतन्त्रमा राजनीतिक मुद्दा स्थापनाको मुल आधार भनेको निर्वाचन हो तर, निर्वाचनकै वेला त्यस मुद्दालाई मतदाताले खारेज गरिदिएपछि त्यस्तो मुद्दाको आधारमा राजनीति गर्नुको के औचित्य ?’, प्रश्न गर्दै पूर्व सभासद समेत रहेको प्राध्यापक शिवचन्द्र मिश्र भन्छन्, मुलधारका राजनीतिक दलहरुले तराई÷मधेशलाई बाईपास गरिदिएपछि स्वर्गिय गजेन्द्रबाबुले मधेशको मुद्दा अघि सार्दै राजनीति थाले तर जनताले तीनै मुद्दाको पक्षमा मत दिएन भने राजनीतिक अभियान अगाडि बढाउन निकै गा¥हो हुन्छ ।’

तर भनिन्छ, महापुरुषले थालेका महान अभियानको कहिले पनि अन्त्य हुँदैन । गजेन्द्र बाबुले थालेका अभियान पनि निरन्तर जारीनै रहियो । र उनले थालेका ती अभियानलाई निरन्तरता दिन उपेन्द्र यादव अघि सरे । मधेशवादको राजनीतिमा उपेन्द्र कसरी आए, किन आए, उनलाई कसले ल्याए, कसले सघाए भन्ने वारे नाना थरिका चर्चा परिचर्चा चलिरहेका छन् । यद्यपी एउटा यथार्तता के हो भन्ने गजेन्द्र बाबु पछि मधेशवाद, मधेशको मुद्दा र मधेश आन्दोलन सवैलाई निरन्तरता दिने नेतृत्व कर्ता भनेको उपेन्द्र यादवनै हुन् ।

साथ छाड्दैनाैं : मधेस गठबन्धनले राजबिराजमा अायाेजना गरेकाे चुनावी सभामा मंचमै एकअर्कालाई अंकमाल गर्दै फाेरम अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता राजेन्द्र महताे।

गजेन्द्रवावुको सदभावना परिषद् जस्तै उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम पनि शुरुमा गैर सरकारी संस्था नै थियो र उक्त संस्थाकै ब्यानरमा एतिहासिक मधेश आन्दोलन पनि गरे । विभिन्न विरोधका विच पहिलो संविधान सभा चुनावमा भाग लिन फोरमलाई गैर सरकारी संस्थावाट राजनीतिक दलमा परिणत पनि गरे ।

चुनाव जिते, मन्त्री भए । शत्ता र शासनमा पनि सहभागि भए । विस्तारै पार्टीमा फुट हुन थाल्यो र विस्तारै फोरम कमजोर पनि हुँदै गए । यद्यपी उपेन्द्रले फोरमलाई कहिले छाडेन । जस्तो सुकै विसम परिस्थितीमा पनि मधेश आन्दोलनको मर्म र भावनालाई सम्मान सहित जोगाएरै राखे । जेपि गुप्ता, विजय गच्छदार, राजकिशोर यादव, सिताराम राय लगायत कयौ ठुला नेताहरु पार्टी फोडेर छुटट–छुट्टै फोरमहरु निर्माण गरे । तर एक दशकको अन्तररालमा उपेन्द्र नेतृत्व वाहेकका सवै फोरमहरु हराए ।

गजेन्द्र बाबुले छाडेर गएका राजनीतिक मुद्दालाई जिवन्तता दिनुका साथै उनको राजनीतिक विरासत पनि मुल रुपमा उपेन्द्र यादवले नै सम्भालेको मधेश मामिलाका अधिकांश जानकारहरुको बुझाई छ । त्यसैले होला सधै जित्दै आएपनि आफ्नो जिवनको अन्तरालमा गजेन्द्र बाबुले चुनावी हार बेहोरेको सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई उपेन्द्रका लागि चुनावि गन्तव्य वन्न पुग्यो । उपेन्द्र यादव सुनसरी र मोरंगवाट प्रत्यक्ष राजनीतिमा संलग्न भएपनि मुलतः उनी पनि गजेन्द्र बाबु जस्तै सप्तरी निवासी नै हुन् । यादव आफु मधेशको पहिचान तथा सप्तरीको विकासका लागि सप्तरी आईपुगेको बताउने गर्दछन् । दुई दशक अघि ०५४ को चुनावमा गजेन्द्रवावुको चुनावी मुद्दा पनि उहि थियो । त्यतिवेला गजेन्द्रवावु सदभावनाका राष्ट्रिय अध्यक्ष हुनेगर्थे अहिले उपेन्द्र फोरमका राष्ट्रिय अध्यक्ष हुन् ।

यसभेगका कतिपय उनलाई गजेन्द्रबाबुको उत्तराधिकारी समेत भन्न थालेका छन् । ‘चुनावी परिणाम जस्तो सुकै आएपनि दुई दशक पछि आफुहरु माझ गजेन्द्रबाबु जस्तै कुनै नेता आएको महशुस गरिरहेको छु’, उक्त क्षेत्रको मतदाता समेत रहेको शिक्षक शिवचरण मण्डल भन्छन्, ‘मधेश आन्दोलनका उपलब्धीहरुको रक्षा गर्दै मधेशको मुद्दालाई स्थापित गर्न उपेन्द्र जस्ता नेतालाई संरक्षण गर्नै पर्छ ।’ उपेन्द्रको उम्मेदवारी यस क्षेत्रका मतदाताहरुका लागि आफ्नो गल्ती सच्याउने अवसर रहेको मण्डलको बुझाई छ । ‘त्यतिवेला हामिले गरेको गल्ती सच्याउने अवसर हो यो, उपेन्द्रको जितले हाम्रो राजनीतिक मुद्दालाई मात्रै स्थायित्व दिदैनन्, स्वर्गिय गजेन्द्र बाबु प्रति पनि सच्चा श्रद्धाञ्जली हुने छन् ।’