हरिपुर पूर्ण खोप गाविस घोषणा

2सप्तरीको हरिपुरलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ । विहीबार आयोजित एक समारोहका बीच उक्त गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो । गाविस सचिव विन्दुलाल चौधरीको अध्यक्षता तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जन्मे देखि एक वर्ष सम्मका लागि २ सय ९५ वटै बालबालिकालाई सबै प्रकारको खोप दिने काम सम्पन्न भएकोले हरिपुरलाई पूर्ण खोप घोषणा गरिएको बताए ।

उनले तराई मधेशका ८ जिल्ला मध्ये यस अघि सप्तरीकै बोरिया पहिलो पूर्ण खोप गाविस भईसकेको भन्दै पुस ६ गते भारदहलाई पनि यस्तै घोषणा गर्ने तयारी भईरहेको जानकारी दिए । कार्यक्रममा बाल स्वास्थ्य महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख मुुकुन्द गौतम, पूर्व पूर्वाञ्चल स्वास्थ्य महानिर्देशक  यशोबद्र्धन प्रधान, विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय संयोजक डा. नागेन्द्र बोहरा, पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि नारायण खड्का, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सदस्य हरेकृष्ण भगत, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द बहादुर न्यौपाने, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश कुमार खतिवडा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा ठूलो संख्यामा स्थानीय नरनारीहरुको सहभागिता रहेको थियो ।