स्वतन्त्र मधेश गठबन्धनको तीन आधार स्तम्भ : सीके राउत

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. सीके राउत
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. सीके राउत

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले मधेशमाथि सदियौदेखि शोषण, दमन, उत्पीडन कायम रहेको भन्दै मधेशको मुक्ति नभएसम्म आफुहरुको अहिंसात्मक आन्दोलन जारी रहने बताएका छन् ।

स्तन्त्र मधेश गठबन्धनद्वारा मङ्गलबार राजविराज स्थित साह अतिथि सदनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । मधेशमा औपनिवेशिक र आप्रवासनको समस्या व्याप्त रहेको बताउँदै उनले भने– मधेशमाथि सदियौदेखि शोषण, दमन, उत्पीडन कायम रहेकोले मधेशको मुक्ति नभएसम्म अहिंसात्मक आन्दोलन जारी रहन्छ । मधेशमा पहाडी समुदायको बसोबास तीब्र रुपमा बढीरहेको प्रष्ट पार्दै डा. राउतले ई.सं. १९५१ मा मधेशमा ६ प्रतिशत मात्र पहाडी समुदाय रहेकोमा बृद्धि भएर २००१ मा भने ३३ प्रतिशत पुगेको बताए ।

आफूहरुको लडाई कुनै जात वर्ग विशेषको विरुद्धमा नभएर स्वतन्त्र मधेशको आन्दोलन भएकोले मधेशमा बस्ने सम्पूर्णलाई सहयोग गर्न उनले आह्वान गरे । मधेश स्वतन्त्र भए मधेशमा बसोबास गर्ने पहाडी समुदायले पनि समान अधिकार उपयोग गर्न पाउने भएकोले कसैले यसमा शंका उपशंका नगर्न समेत पत्रकार सम्मेलन मार्फत आग्रह गरे ।

भारत गुलाम बनेको बेला ३ प्रतिशत मात्र अंग्रेज रहेको र बाँकी भारतीय नै रहेको चर्चा गर्दै उनले उनले भने– मधेशमा व्यापक रुपमा आप्रवासनको समस्या रहेको कुरा नेपालकै इतिहासकारहरुले समेत लेखिसकेका छन, बाहिरबाट आएर मधेशमा शासन कायम गरी आफ्नो निहित स्वार्थ गर्ने कार्य सिद्धि गर्ने कार्य भईरहेको छ । मधेशबाट ७६ प्रतिशत भन्दा बढी राजश्व उठाएर लग्ने गरेकोमा ६ प्रतिशत मात्र मधेशमा खर्च गर्ने गरेको डा. राउतले प्रष्ट पारे ।

उनले वर्तमान अवस्थामा आफूहरुको हात बाँधेर मधेशको श्रोत साधन उठाएर लग्ने गरेकोले पहिला हात खोल्नुपर्ने आवश्यकता औंल्याए । आफ्नै श्रोत साधन आफू खुशी प्रयोग गर्न पाउने अवस्था छैन– डा. राउतले भने– मधेशी जनता आफ्नै प्राकृतिक श्रोत साधनको उपयोग गर्न पाएका छैनन्, त्यसमाथि शासक वर्गको अधिपत्य कायम छ त्यसैले हात खोल्नुपर्ने आवश्यकता छ ।

अहिलेसम्म भएका आन्दोलनहरु पार्टी तथा व्यक्ति विशेषका लागि भएको तर्क गर्दै उनले  स्वराज आन्दोलन संगठनका लागि नभई आजादीका लागि भएको बताए । आफूहरु मधेश स्वराजका लागि शान्ति आन्दोलनको तयारीकै क्रममा रहँदा सरकारले अनावश्यक रुपमा गिरफ्तार गरेको डा. राउतको भनाइ थियो । आन्तरिक रुपमा तयारीमा रहेका कारण मिडियासँग आफू अलग रहँदै बताए ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. राउतले स्वतन्त्र मधेश, लोकतान्त्रिक व्यवस्था र अहिंसात्मक आन्दोलन आफुहरुको तीन वटा आधारस्तम्भ रहेको भन्दै यसमा कुनै सम्झौता हुन नसक्ने विश्वास व्यक्त गरे । मोरङ्गबाट पक्राउ गरी आफुमाथि मुद्दा चलाएपछि धरौटी तिरेर रिहा भएको र जनताले आफुप्रति दर्शाएको समर्थन वापत धन्यवाद सभा गर्दा पनि प्रहरी प्रशासनले ठाउँ–ठाउँमा अबरोध पु¥याएको, धरपक्कड गरेको उनले पत्रकार सम्मेलनमा बताए ।

आइतबार महोत्तरीको जलेश्वरमा आयोजित धन्यवाद सभामा जानै नदिई बाटो बाटै नियन्त्रणमा लिएको भन्दै उनले सोमबार राती १० बजे राजविराज–९ स्थित घरमा पु¥याएर छोडिएको पत्रकार सम्मेलनमा बताए । आफुले संविधानमा व्यवस्था भएअनुसारकै अभिव्यक्ति स्वतन्त्रताको प्रयोग समेत गर्न नपाएको बताउँदै राउतले भने ‘मलाई पाँच वटा गाडी बदलेर जलेश्वरबाट सोमबार राती १० बजे राजविराज पु¥याइयो ।’ उनले आफुलाई पक्रेर जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा लैजाँदा जनताले देखाएको व्यापक समर्थनका कारणले नै आफुलाई प्रहरीले छोड्न बाध्य भएको स्पष्ट पारे ।

गृह जिल्लामा पहिलो पटक पत्रकार सम्मेलनमा सहभागी भएका राउतले आफूलाई हिरासतमा राखेर मानसिक रुपमा प्रताडना दिने काम गरेको बताए । सोही क्रममा केही व्यक्ति तथा मिडियाहरुले बयान फेरेको भनि आम जनमानसमा भ्रम फैलाएको बताउँदै उनले भने– स्वराज मधेशको लागि मैले शान्तिपूर्ण रुपमा कुरा उठाउँदै आएको छु, यसबाट एक ईन्च पनि पछाडि हटदिनँ ।