सुरक्षाको प्रत्याभूति गर

policeमुलुक यति वेला प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको चरणमा छ । मंसीर १० गते पहिलो चरण तथा २१ गते दोस्रो चरणको निर्वाचन हुने भएका कारणले गर्दा देशैभरि यति वेला चुनावी माहौल तातेको छ । चुनावलाई लक्षित गरी सुरक्षा व्यवस्थामा ध्यान दिनु पर्ने सरकारको जिम्मेबारी भए पनि सन्तोषजनक सुरक्षा व्यवस्था कायम गर्न सरकारले नसकिरहेको भन्ने जनगुनासो उठ्दो छ । र यस प्रकारको गुनासो उठ्नुलाई अहिलेको अवस्थामा अन्यथा भन्न सकिने स्थिति समेत देखिन्न ।

निर्वाचनको प्रचारप्रसारमा खटेका कतिपय उम्मेदवार दिनहुँजसो आक्रमणकारीहरुको निशानामा पर्न थालेपछि सुरक्षा चिन्ता बढ्न थालेको छ । उम्मेदवारी दिएर चुनावी प्रचारमा हिंडेका ठूला नेताहरु समेत आक्रमणकारीको निशानामा परेका समाचारले उम्मेदवारदेखि मतदाता समेतमा त्रास उत्पन्न हुन थालेको छ । रौतहटको चन्द्रपुरमा त चुनावी सभास्थल नजिक गराईएको वम विष्फोटबाट एक वालिका समेत गम्भीर रुपले घाईते हुन पुगिन् ।

सुरक्षा पदाधिकारीले निर्वाचनकालागि सुरक्षामा कुनै कमी नरहने जतिसुकै बखान गरेपनि व्यवहारतः सुरक्षा व्यवस्था फितलो नै रहेको वास्तविकतालाई यी घटनाहरुले नै पुष्टी गर्दै आएका छन् । मुलुकमा शान्तिसुरक्षा वहालीकालागि गृह मन्त्रालयको जिम्मेवारी मूल रुपमा रहने गर्दछ । तर,अहिलेसम्म गृहमन्त्रीको वहाली समेत हुन सकेको छैन । देशमा ६४ सदस्यीय मन्त्रिपरिषद् त छ , तर गृह मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री स्वयम्ले नै वहन गरिरहनु परेको छ । विभागीय मन्त्री न भएको र प्रधानमन्त्रीको कार्यबोझका कारणले गर्दा पनि गृह मन्त्रालयको शान्तिसुरक्षाको काम सन्तोषजनक नरहेको टिप्पणी समेत उठ्न थालेको छ । प्रधानमन्त्री सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली काँगे्रसका सभापति समेत रहेका कारणले कार्यबोझ रहनु स्वाभाविकै पनि हो ।

सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरेर सुरक्षा निकायका पदाधिकारीलगायतको बैठक र समयसापेक्ष आवश्यक निर्देशनकालागि पनि गृहमन्त्रीको उपस्थिति आवश्यक रहनु स्वाभाविकै हो । अहिले चुनावी सरगर्मी रहेको र पार्टी सभापति भएका कारणले गृह मन्त्रालयको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्रीलाई देशव्यापी दौडाहामा जानु परेका कारणले पनि सुरक्षाका बारेमा आवश्यक निर्णयकालागि ढिलाई हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन ।

यस्तो गम्भीर स्थितिलाई आत्मसात गर्दै सुरक्षाको अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ भन्नाकालागि सरकारले आवश्यक पहलकदमी लिनुपर्ने जरुरी देखिन्छ । सार्थक निर्वाचनकालागि जनताले भयरहित बातावरणमा निर्वाचनमा भाग लिन पाउनु पर्दछ । यसैगरी उम्मेदवारले निर्भय तवरले चुनावी अभियानमा जुट्न पनि पाउनु पर्दछ । निर्वाचन आयोग समेतले उम्मेदवारमाथि मुलुकका ठाउँठाउँमा आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्थामा सुधारकालागि सरकारको ध्यानाकर्षण गराईसकेको छ । यस्तो परिस्थितिमा कसरी शान्तिसुरक्षा सुदृढ हुन सक्छ भन्नेतिर आवश्यक पहलकदमी अपेक्षित देखिन्छ ।