सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

फोटो : एसएसपी श्याम खत्रीको फेसबुक बाट
फोटो : एसएसपी श्याम खत्रीको फेसबुक बाट

दुबईबाट आएको ३४ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले आइतबार प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको हो ।

ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले घटनाको अनुसन्धानको क्रममा खत्रीको संलग्नता देखिए पछि उनलाई नियन्त्रणमा लिएको बताए। खत्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत थिए। सुन प्रकरण पछि उनलाई हेडक्वार्टर तानिएको थियो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव र एसएसपी खत्रीबीच बारम्बार सम्पर्क भएको देखिए पछि उनी शंकाको घेरामा परेका थिए। यादव यस अघि नै सुन प्रकरणमा पक्राउ परेका छन्। स्रोतका अनुसार पक्राउ परेकाहरुले पनि एसएसपी खत्रीको संलग्नताबारे बयान दिए पछि उनलाई सिआइवीले पक्राउ गरेको हो।

२१ पुसमा दुबईबाट आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थलबाहिर बरामद गरेको थियो । सुन बरामद भययता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन आउने दिनबन्धु थापा र सन्तोष काफ्लेका अलवा काभ्रेको पनौतीबाट रामहरि कार्कीसहित अन्य एकलाई पक्राउ गरिसकेको छ ।