सुजितको ‘बुलबुल’ विमोचित

 पत्रकार-साहित्यकार सुजित झाको सातौ कृति मैथिली कथा संग्रह ‘बुलबुल’को विमोचन गर्दै ।
पत्रकार-साहित्यकार सुजित झाको सातौ कृति मैथिली कथा संग्रह ‘बुलबुल’को विमोचन गर्दै ।

पत्रकार-साहित्यकार सुजितकुमार झाको मैथिली कथा संग्रह ‘बुलबुल’को बुधवार राजविराजमा विमोचन गरिएको छ । जिल्ला विकास समितिको सभागृहमा आयोजित एक कार्यक्रम माझ भाषा विद् प्राध्यापक डा. सुनिलकुमार झा, मैथिली साहित्य परिषद्का पुर्व अध्यक्षहरु विष्णुकुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र र परिषद्का अध्यक्ष शुभचन्द्र झाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
जनकपुर घर भएका साहित्यकार झाको ‘बुलबुल’ सातौ कृति हुन । यसअघि उनले ‘चिडै’, ‘जिद्दी’, ‘कोईली घुरि आउ’, ‘खजुरी वाली’ लगायतका कृतिहरु प्रकाशित गरिसकेका छन् । पछिल्लो समयमा मैथिली भाषाका युवा साहित्यकारहरुमा झा निकै लोकप्रिय रहेका छन् । उनका कृतिहरुमा समाजमा देखिएका कुरितीहरु उपर सहज शैलिमा प्रहार गरिनुका साथै युवाहरुका लागि नयाँ सोच, उर्जा र साकारात्मक सन्देश रहने गरेको मैथिली साहित्यका जानकारहरुको भनाई छ ।
आफ्न्त नेपाल नामक गैर सरकारी संस्थाले प्रकाशित गरेको कथा संग्रह ‘बुलबुल’को विमोचन समारोहमा बोल्दै वक्ताहरुले मधेशवादी दलहरुको ढुलमुले भाषिक नीति तथा हिन्दी मोहका कारण मैथिली भाषाको अस्तित्व संकटमा परेको गुनासो गरे । मधेशवादी दलहरुको भाषिक नितीका कारण मैथिली लगायतका मातृभाषाहरुले भोग्नु परिरहेको समस्या प्रति समेत वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।
भाषा विद् प्राध्यापक डा. सुनिलकुमार झाले अरुको भाषाको सम्मान गर्दै आफ्नो मातृभाषाको अधिकार र पहिचानका लागि मैथिलहरुले सशक्त अभियान थाल्नुपर्ने अपरिहार्य रहेको टिप्पणी गरे । मैथिली भाषाको विकास प्रति राज्य पक्ष सँगै विभिन्न मधेशवादी दलहरुको व्यवहार सन्तोषजनक नरहेको उनको भनाई थियो ।
मैथिली साहित्य परिषद्का पुर्व अध्यक्ष तथा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले मधेशवादी दलहरुले स्पष्ट भाषा नीति नल्याए मैथिलहरुले उनीहरु उपर विश्वास गर्ने ठाउँ नरहेको वताए । राज्यको नामांकरण तथा काम काजको भाषा लगायतको मुद्दामा मधेशवादी दलहरुले मैथिलीसँग ठुलो विभेद गर्न लागेको उनको टिप्पणी थियो ।

‘सप्तरी देखि पर्सा सम्मको भू–भाग विसुद्ध रुपमा मैथिली भाषा र मिथिला संस्कृति वाहुल्यको भू–भाग हुन यस प्रदेशको नाम र काम काजको भाषा दुवै मिथिला र मैथिली नभए के हुने त ?’ प्रश्न गर्दै उनले भने, ‘एक मधेश एक प्रदेश लिन सकिए हामिलाई केहि भन्नु छैन् तर अहिलेको संघिय संरचनालाई स्विकार गरिए भने नामांकन तथा कामकाजको भाषा हाम्रो अनुकुल हुनुपर्छ ।’
मैथिली साहित्य परिषद्का अर्का पुर्व अध्यक्ष विवेकानन्द मिश्रले मिथिला राज्य नभएपनि यस प्रदेशको काम काजको भाषा मैथिली बाहेक अरु केहि स्विकार्य गर्न नसकिने वताए । उनले भने, ‘हाम्रो इतिहास छ, भुगोल छन्, समृद्ध भाषा साहित्य छन कसैले केहि तर्क राख्दैमा हाम्रो इतिहास र भाषा संस्कृति संग सम्झौता गर्न मिल्दैन ।’
मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाले मैथिली अभियानीहरु व्यक्तिगत तथा संस्थागत रुपमा समेत मधेश आन्दोलन तथा मधेशवादी दलहरुलाई निरन्तर सहयोग गरिरहेको भएपनि मैथिली भाषा प्रति दलहरुको रवैया खासै सन्तोषजनक नरहेको वताए ।
कार्यक्रममा सहभागि विभिन्न मधेशवादी दलका नेताहरुले समेत आ–आफ्ना दलको भाषिक नीति स्पष्ट नरहेको स्विकारेका थिए । यद्यपी मैथिली लगायतका मातृभाषाहरुको अधिकार पहिचान तथा विकासका लागि आफुहरु प्रतिवद्ध रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी, नेपाल सदभावना पार्टीका महासचिव राजिव झा, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले राज्यको विभेदका कारण मैथिली लगायतका भाषाहरुको विकास हुन नसकेको भनि गुनासो गर्दै मातृभाषाहरुको विकासका लागि आफुहरु गम्भीर रहेको टिप्पणी गरे ।
आफ्न्त नेपालका अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा आयोजित विमोचन समारोहमा बरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष रामअशिष यादव, सेन्चुरी बैंक राजविराजका प्रबन्धक तथा साहित्यकार ब्रजमोहन झा, साहित्यकार करुणा झा सहितकाहरुले पुस्तकवारे चर्चा गरेका थिए ।