सिंघानिया हत्याका योजनाकार सार्वजनिक

फोटो : पक्राउ परेका चनरदीप यादव र अन्य अभियुक्तहरु।
फोटो : पक्राउ परेका चनरदीप यादव र अन्य अभियुक्तहरु।

सञ्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न रहेका प्रमुख अभियुक्त चन्द्रदीप यादबलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । यादवलाई निकै समयदेखि प्रहरीले खोजी गरिरहेका थिए ।

भारततर्फ रहदै आएका यादव केही दिन पहिला मात्रै जनकपुर आएका थिए । जनकपुरको वकील महल्लामा डेरा लिएर बस्दै आईरहेको बेला यादवसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा श्रोतले जनाएको छ । पक्राउ पर्नेमा यादवका महिला साथी कल्याणी देवी यादवसमेत रहेका छन । पक्राउ परेका सम्बन्धमा अहिले अनुसन्धान भइरहेकोले थप जानकारी  पछि दिने धनुषाका प्रहरी उपरीक्षक  रामदत्त जोशीले बताएका छन ।

सञ्चारउद्यमी सिंघानियालाई २०६७ फागुन १७ गते होलीका दिन जनकपुरको शिव चोकमा हत्या गरिएको थियो । यादव निलम्बीत सांसद संजयकुमार साहका निकटका व्यक्ति रहेका थिए । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ६ बाट मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका  उम्मेदवार पनि बनेका थिए ।यादव माथि माघ २२ मा धनुषामा राजेन्द्र प्रसादको हत्या गरेको आरोप समेत छ ।

यस्तै धनुषा विरेन्द्र बजारमा नसिब मियाँ र राम सोघारत महतोलाई गोली हानेको आरोप समेत छ । फागुन ६ मा उनको पार्टीका सैन्य प्रमुख रामरिझन यादव र कैलाश ठाकुर पक्राउ परेका थिए । यादव केही दिनदेखि भूमिगत संगठन पनि सञ्चालन गरेका थिए ।

उनीहरुको साथबाट २ थान पेस्तोल, नेपाली सीम कार्ड १२ थान, भातरीय सीम कार्ड २ थान, ३१ राउण्ड गोली र ४ थान मोवाईल बरामद भएको जनाइएको छ । यस्तै १ सय एमएल भएको ७३ बोतल कोरेक्स, जनतान्त्रिक टाइगर जनशक्तिसंग सम्बन्धित पर्चा, पम्पलेट, चन्दा ठेली, चन्दा काटिएको बिल, डायरीहरु, पार्टीको विधान, लेटरप्याड, स्टाम्प, मोवाइलको चार्ज लगायतका सामग्रीहरु बरामद भएको जनाइएको छ ।

बिगत ६ महिना देखि धनुषा, सिरहा, सप्तरी लगायत तराईका विभिन्न जिल्लाहरुमा हत्या, हिंसा, चन्दा असुली लगायतका विभिन्न अपराधिक गतिविधि संचालन गर्दै आएका चन्द्रदीपलाई मंगलवार राति पक्राउ गरिएको थियो । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्वर २ राधापुर स्थायी निवासी करिव ३६ वर्षिय यादवलाई विशेष सूचनाको आधारमा जनकपुर उपमहानगरपालिका वडा नम्वर १ स्थित वकिल टोलबाट पक्राउ गरिएको प्रहरीको दावी छ ।

यादवसंगै पक्राउ परेका धनुषाको बालाबाखर गाविस वडा नम्वर ६ स्थायी निवासी करिव ३५ वर्षिय कल्याणी देवी यादव र सबैला नगरपालिका वडा नम्वर १० भटियन निवासी वर्ष २१ को सुन्देश्वर ठाकुरलाई सार्वजनिक गरिएको हो । कल्याणी देवी चन्द्रदीपको प्रेमिका भएको बताइएको छ ।

जनकपुरबाट प्रकाशित जनकपुर टुडे दैनिक पत्रिका तथा रेडियो टुडेका संचालक तथा चर्चित व्यवसायी सिंघानियाको २०६६ साल फागुन १७ गते होली पर्वको दिन गोली प्रहारबाट हत्या भएको थियो । धनुषाको बालाबाखर निवासी करिव ५० वर्षिय नेपाली कांग्रेसका नेता राजेन्द्र यादवलाई गोली प्रहार गरी हत्या गर्नुको साथै गणेशमान चारनाथ नगरपालिका स्थित बिरेन्द्र बजार निवासी नसिम राइनमाथि गोली प्रहार गरी हत्या प्रयासको घटनामा कमाण्डरको भुमिका निर्वाह गरेको प्रहरीको दावी छ ।

यस्तै धनुषा सहित तराईका विभिन्न जिल्लाहरुमा उद्योगपाति तथा व्यवसायीहरु समेतलाई धाकधम्की दिएर अवैध चन्दा असुली तथा फिरौती माग गर्ने लगायतका कार्यहरुमा प्रत्यक्ष संलग्नता रहेको जनाइएको छ ।

यस्तै गणेशमान चारनाथ नगरपालिका वडा नम्वर २, राधापुर निवासी वर्ष १९ को रबिन यादव र बिजय भन्ने सुन्देश्वर ठाकुरलाई सार्वजनिक गरिएको हो । पक्राउ परेका चारै जना जनतान्त्रिक टाइगर जनशक्ति पार्टीसंग आवद्ध रहेको प्रहरीको भनाई छ ।

२०६७ साल असोज २४ गते धनुषाको भरतपुर गाविस वडा नम्वर १ निवासी बिनोद गोहितमानको हत्या घटनाको मुख्य योजनाका, २०७२ साल कात्तिक २० गते गणेशमान चारनाथ नगरपालिका ४ स्थित बिरेन्द्र बजारमा रहेको बुद्ध सिद्धार्थ बोडिङ स्कुलको बसमा आगिजनी गरेको, गत पुस २८ गते सिरहाको गोपाल पेट्रोल पम्पमा बस बिस्फोट गराएको, गत माघ २३ गते गणेशमान चारनाथ नगरपालिका स्थित बिरेन्द्र बजार निवासी नसिम राइन र पोर्ताहा स्थित राम सोगारथ महतोलाई गोली प्रहार गरी हत्या प्रयास गरेको डिआईजी उपाध्यायले पत्रकार सम्मेलनमा जनाए ।

उनका अनुसार हालसम्म उक्त पार्टीमा आवद्ध १५ जना कार्यकर्ताहरुलाई पक्राउ गरिसकिएको छ । हालसम्म पार्टीका सैन्य कमाण्डर रामरिझन यादव, कैलाश ठाकुर, कारी गोहिवार, मंगले भन्ने विश्वनाथ यादव, अनिल भन्ने डा.जोगिन्द्र महतो, प्रमोद पूर्वे, नागे साह, बेचन पासवान, जयसवाल पासवान लगायतलाई पक्राउ गरिसकिएको उनले बताए ।

पत्रकार सम्मेलनमा जनकपुर अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपपरिक्षक सुरेश विक्रम शाख र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक रामदत्त जोशीको उपस्थिति थियो ।