सिँचाई मन्त्री महोत्तरीमा

सिँचाई मन्त्री उमेश कुमार यादव
सिँचाई मन्त्री उमेश कुमार यादव

सिँचाई मन्त्री उमेश कुमार यादवले आज (सोमवार) महोत्तरीका रामगोपालपुरलाई पूर्ण सिँचित क्षेत्र घोषणा गर्नुभएको छ । हरेक किसानको हरेक खेतमा पानी पुर्याउने लक्ष्यका साथ उहाँले यो कार्यक्रम घोषणा गर्नुभएको हो । कुनै पनि किसान सिँचाईबाट बन्चित रहनु हुँदैन, पानी कहाँ पुगेको छैन, त्यसको अध्ययन गरि सम्पूर्ण ठाउँमा पुर्याउनुपर्ने सांसद लालेन्द्र मण्डलले बताउनु भयो ।

सप्तरीदेखि पर्सासम्मलाई पूर्ण सिँचित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । यो घोषणाका लागि मात्र घोषणा होइन, यसलाई सफल पार्नका लागि मन्त्रालयले विभिन्न योजना पनि ल्याइएको मन्त्री यादवले जानकारी गराउनु भयो । रामगोपालपुरमा स्यालो ट्युवेल, डिप बोर्डिगं, पोखरी, इनारलगायत अन्य के के स्रोतबाट सिँचाई योजना पुर्याउने ती सबै कार्य मन्त्रालयले गर्न तयार रहेको उहाँले घोषणा गर्नुभयो । यहाँका लागि दुईसय स्यालो ट्युवेल चाहिने ठाउँमा पचासबटा स्यालो ट्युवेल तयारी अवस्थामा रहेको छ अरु पनि व्यवस्था गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । डिप बोर्डिगंको पनि माग आएको छ त्यो पनि प्रकृया पुर्याएर तत्कालै पुरा गर्ने घोषणा गर्नुभयो ।

खेतीयोग्य जमिन प्रयाप्त भएपनि सिँचाईको व्यवस्था नभएको कारण भोकमरीको अवस्था रहेको बताउँदै मन्त्री यादवले ८० प्रतिशत किसान यो देशमा भएपनि २० अर्वको खद्यान्न निर्यान्त गर्न बाध्य भएको बताउनु भयो । यस्तो हुनुको कारण सिँचाई नै हो । किसानको खेतखेतमा सिँचाईको व्यवस्था पुग्यो भने नेपालका किसान अर्थात जनता कृषिमा आत्मनिर्भर हुने मन्त्री यादवले बताउनु भयो ।

वैज्ञानिक तथा व्यवसायीक कृषिको कुरा गरेर मात्र हुँदैन, त्यसका लागि किसानको हात हातमा सिँचाई पुग्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।चुरै विनाशका कारण तराई मधेशका नदी, नाला, पोखरी, इनार सुक्दै गइरहेको उल्लेख गर्दै उहाँले चुरे संरक्षणमा विशेष जोड दिनुभयो । उहाँले रामगोपालपुर सिँचित क्षेत्र घोषणा भइसकेपछि त्यसलाई कार्यान्वयनमा विशेष जोड दिन सम्बन्धित निकायले मञ्चबाट नै निर्देशन दिनुभयो । सिँचाईका लागि के के चाहिन्छ ती सबै साधन स्रोत रामगोपालपुरमा केन्द्रीत गर्न सिँचाई डिभिजन कार्यालयलाई निर्देशन दिनुभयो।

महोत्तरीका विभिन्न सिँचाई आयोजना तथा नदी नियन्त्रण कार्यक्रम र पोखरीलाई मन्त्री यादवले आजै अनुगमन गर्नुभयो । विघही नदीमा विभिन्न ठाउँमा भएको कटानलाई नियन्त्रण गर्नुपर्ने भन्दै मन्त्री यादवले ती ठाउँहरुको अनुगमन गर्नुभयो र साथमा रहेका सिँचाईका कर्मचारीलाई ती ठाउँहरुमा अनियन्त्रित रहेका नदीलाई नियन्त्रण गर्न निर्देशन पनि दिनुभयो । विघही नदीको तीन ठाउँमा अनुगमन गरी त्यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले विघही नदीको तटबन्धन यही आर्थिक वर्षमा पूरा हुने गरि कार्यलाई अगाडि बढाउने प्रतिवद्धता किसानसमक्ष राख्नुभयो । जनताको तटबन्ध बनाउने कार्यक्रम अन्तर्गत दुई करोड रुपियाँ विनियोजन भएको कुराको जानकारी उहाँले सो अवसरमा गराउनु भयो । उहाँले विघही नदीको साथै विभिन्न चार जिल्लाका सदरमुकाम बचाउ अभियान अन्तर्गत तटबन्ध कार्यक्रम सञ्चालन हुन लागेको भनि जानकारी गराउनु भयो । त्यसका लागि पचास लाखदेखि एक करोडसम्मको बजेट विनियोजन रहेको बताउनुभयो ।

साथै उहाँले विघही नदीमा निर्माणाधिन पिगौना विघही सिँचाई योजनाको पनि अवलोकन गर्नुभयो । २३ करोड ७२ लाखको लगानीमा निर्माणाधिन सो योजनामा हालसम्म आठ करोड ७९ लाख खर्च भइसकेको महोत्तरी सिचाई डिभिजन प्रमुखले जानकारी गराउनु भयो । सो अवसरमा मन्त्री यादवले यो योजना छिटो पूरा गरी किसानलाई पानी पुर्याउन निर्देशन दिनुभयो ।

त्यसमा डिभिजन प्रमुखले असारमसान्तमा यो योजना पूरा हुने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैगरि, मन्त्री यादवले रामगोपालपुरको रजोखर पोखरी, सुतनियाँ पोखरी, औंकसी नदीको पनि अनुगमन गर्नुभयो । विघही नदीमा फोहर पानी रहेकोप्रति मन्त्री यादवले चिन्ता व्यक्त गर्नुभयो । यो पानीले मानवको स्वास्थयमा प्रत्यक्ष असर गर्ने भएकाले त्यसलाई सफा पार्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । अनियन्त्रित रहेका नदीलाई नियन्त्रण गर्ने जिम्मा आफ्नो मन्त्रालयले गर्ने तर त्यसअघि यो नदी सफा हुनुपर्ने कुरामा उहाँले विशेष जोड दिनुभयो ।

महेन्द्रनगर पेपर मिल्सबाट निस्किने फोहर विघही नदीमा मिसिएको छ । त्यसले पुरै नदी फोहर भएको छ । पानी कालो भएको छ । यो पानीले मानवको स्वास्थ्यमा मात्र होइन, बालीनालीलाई पनि असर गर्नेछ । मिलबाट निस्किने फोहर नदीमा नमिसाउन त्यहाँका स्थानीयले धेरै लामो समयदेखि संघर्ष गर्दै आएका छन् । त्यसको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ । तर हालसम्म कुनै सुनुवाई भएको छैन । मन्त्री यादवले यस बारेमा आफूले पनि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिवद्धता गर्दै कसैले पनि मानवको स्वास्थ्यसँग खेलवार गर्न नमिले बताउनु भयो ।

यसैबीच क्रान्तिकारी पत्रकार संघ सप्तरीले मंगलवार आयोजना गरेको ‘सप्तरी सिंचाई समस्या र समधान’ विषयक विचार विमर्श कार्यक्रममा बोल्दै सिंचाई मन्त्री उमेशकुमार यादवले तराई मधेशलाई समृद्ध बनाउनकालागि सिंचाईमा विशेष कार्यक्रम ल्याएको र त्यसलाई सफल पार्न सबैको सहयोग चाहिएको बताएका छन् ।

नवलपरासी र रुपन्देहीसहित मधेशका आठ जिल्लालाई केन्द्र बनाएर सो कार्यक्रम ल्याएको बताउँदै उनले त्यसका लागि अर्थ मन्त्रालयले बजेट शिर्षक पनि छुट्याई दिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रमा दुई पोखरी अनिवार्य, पूर्ण सिंचित नमूना गाउँ घोषणा गर्नेलगायत कार्यक्रम शुरु भइसकेको उनले बताए ।

उनले सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा पूर्ण सिँचित कार्यक्रम घोषणा भएको जानकारी गराए । समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रमकालागि जनकपुरमा कार्यालय खोल्न लागेको बताउँदै उनले किसानका लागि पूर्ण सिँचाईको व्यवस्था नभएम्म देश समृद्ध बन्न नसकिने बताए ।

देशलाई समृद्ध बनाउने स्रोत भनेको कृषि हो र कृषिका लागि सिंचाई अनिवार्य भएको बताउँदै मन्त्री यादवले भने ‘कृषि मन्त्रालयले २७ बुँदे प्रतिवद्धतापत्र जारी गरेको छ त्यसलाई सफल पार्नका लागि पनि सिँचाई आवश्यक छ ।’ तराई मधेश वर्षेपिच्छे बाढीबाट आक्रान्त हुने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरीका सदरमुकाम बचाउ अभियान अन्तर्गत नदी नियन्त्रणका लागि तीन करोड रुपियाँ विनियोजन गरेको पनि उनले बताए । उनले सप्तरीका खडग तथा महुली नदी नियन्त्रणकालागि चार करोड पनि छुट्याइएको बताए । नेपालमै सबभन्दा पहिले सप्तरीबाट सिंचाई शुरु भएको हो तर अहिले आएर त्यसको यस्तो अवस्था भएको छ कि सोच्न बाध्य बनाएको छ, उनले भने, सप्तरीलाई विभिन्न कोणबाट हेपेको छ, अब सप्तरीवासी मिलेर सप्तरीलाई नमूना बनाउनुपर्छ ।’

च्तरा व्यारेज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले सो व्यारेज बनाउनका लागि कुनै कानूनी उल्झन नरहेको बताए । इच्छा शक्ति भयो भने चत्रा व्यारेज पनि निर्माण गर्न सकिने उहाँले विश्वास व्यक्त गरे । सप्तरीका लागि दुईसय ५५ स्यालो ट्युवेल र एक डिप बोर्डिगको व्यवस्था सप्तरी जिल्लाका लागि भएको र अर्को आर्थिक वर्षदेखि अझै थपिने बताए ।

कार्यक्रममा सप्तरीका नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा पत्रकारहरुले मन्त्री यादवलाई सिँचाइमा गर्न लागेको कामको प्रशंसा गर्नुभयो । यसअघि पनि सप्तरीबाट थुप्रै मन्त्रीहरु बने तर यसरी सिँचाईका लागि गम्भीर भएर काममा नलागेको भन्दै मन्त्री यादवले बताए ।

वरिष्ठ पत्रकार शिवहरि भट्टराईले सप्तरीमा खद्यान्नको अभाव बढ्दै गएको छ त्यसको आपूर्तिका लागि कृषि तथा सिँचाईमा दीर्घकालिन तथा तत्कालिन नीति ल्याउनु पर्ने सुझाव दिए । सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कृपानारायण यादवले सप्तरीका समस्या देखाएर मात्र हुँदैन त्यसको समाधान पनि गर्नुपर्ने सुझाव दिए ।

चन्द्रशम्शेर राणाका पालामा बनेको चन्द्रनहरप्रति चिन्ता व्यक्त गर्दै उनले चन्द्रनहरको अवस्था यस्तो हुनुमा सरकार मात्र होइन किसान पनि दोषी रहेको आरोप लगाए । किसानले नहरलाई पुरेर खेत बनाएको आरोप लगाउँदै उनले समयमा सिंचाई प्राप्त गर्नका लागि किसानले पनि आफ्नो बानी सुधार गर्नुपर्ने बताए ।