सरकारले दिइने जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने : प्रधान सेनापति

army  chiefrajendra-Chatri1‘सेना दिवस २०७३’ को शुभ उपलक्ष्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ फागुन १२ गते जङ्गी अड्डास्थित सभामण्डप हलमा एक समारोहबीच नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।
नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले स्वदेश तथा विदेशमा तैनाथ सकलदर्जा, नेपाली सेना अन्तर्गत सेवारत निजामती कर्मचारीहरु, अवकाश प्राप्त सैनिकलगायत परिवारजनहरुमा सुख, शान्ति, समृद्धि र सु—स्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रिय हितको रक्षार्थ आफ्नो प्राणको आहुति दिने वीर वीराङ्गनाहरुको आत्माको चीर शान्तिको कामना गर्दै कर्तव्यपालनाको सिलसिलामा घाइते, बिरामी भई उपचारको क्रममा रहेका सकलदर्जाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो  ।
मन्तव्यकै क्रममा वँहाले नेपाली सेना सारा नेपालीहरुको साझा राष्ट्रिय सेना भएको बताउनुहुँदै राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा, नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेना प्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको र यो नै नेपाली सेनाको हौसला र ऊर्जाको स्रोतहरु भएको बताउनु भएको छ । नेपाली सेनाको इतिहास, राज्यको प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवं देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाको लागि पूर्वजहरुले देखाएको वीरताका गाथाहरु नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको बताउनु भएको छ । सोही क्रममा वहाँले समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको समेत उल्लेख गर्नुभएको थियो ।
मन्तव्यकै क्रममा वँहाले हाल केहि विखण्डनबादी शक्तिहरुले साम्प्रदायिकता भड्कीने अभिव्यक्तिहरु दिनुको साथै केही समूहहरुले हतियार उठाउने धम्की दिईरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको बताउनु हुँदै वँहाले पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिहरुलाई निश्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहेको समेत व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, वहाँले हाम्रो अखण्ड सुनौलो इतिहासलाई जिवित राख्न, राष्ट्रिय हित विरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानूनले निर्दिष्ट गरेका नियम र कानूनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभएको छ । प्राप्त हुने सबै किसिमका जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई सक्षम, व्यवसायिक सैनिक सङ्गठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनहरुको अधिकतम् प्रयोग गरी सबल र सक्षम सङ्गठन तयार गर्ने, नागरिक—सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको थियो ।
साथै, वहाँले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनहरुसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान विभिन्न मित्रराष्ट्रहरु सँग संयुक्त तालिम तथा अभ्यासहरु सञ्चालन भईरहेको र यसै क्रममा पहिलो पटक मित्रराष्ट्र श्रीलंका सँग सयुक्त अभ्यास सम्पन्न हुनुको साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना रहेको समेत बताउनु भएको थियो ।
सम्बोधनको अन्त्यमा, प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय नेपालीहरु, नेपाल सरकारका विभिन्न निजामती एवं अन्य सुरक्षा निकायमा कार्यरत महानुभावहरु, सञ्चार जगत, विभिन्न सङ्घ संस्थाहरु तथा नेपाली सेनाका सबै शुभेच्छुकहरु प्रति नेपाली सेनाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त कार्यक्रम अगावै प्रधान सेनापति महारथी श्री क्षत्रीले आजै विहान नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाहरु प्रति पुष्पमाला सहित छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सोही क्रममा नेपाली सेनाको एक टुकडीले वीर वीरङ्गाना प्रति सम्मानगारतसमेत अर्पण गरेको थियो । सोही क्रममा नेपाली सेनाका वीरगति प्राप्त सैनिक व्यक्तिहरुको नामावली अंकित ‘वीर स्तम्भ’ अनावरणसमेत गर्नुभएको थियो । सोहि अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले वीरगति प्राप्त गर्ने सैनिकहरुका आफन्तहरुलाई सम्मान प्रदान गर्नुभएको थियो ।
९.उक्त दुवै कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।
सेना दिवस २०७३ लाई भव्यताकासाथ मनाउने क्रममा नेपाली सेनाका सबै पृतना, बाहिनी, गण तथा गुल्महरुले सार्वजनिकस्थलमको सरसफाई, रक्तदानलगायतका जनहितका कार्यहरु सञ्चालन गरिरहेका छन् ।टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत सेनाको व्यानर प्रदर्शनसहित पुष्पवृष्टि गर्नुका साथै महाशिवरात्री बढाईं गरेको थियो । कार्यक्रममा परम्परागत झाँकी, कवाज, मार्चपास, तथा सैन्य कौशल प्रदर्शन गरिएको थियो ।