सरकारको तातोपानी नाका खोल्ने तयारी

rrrमहा भूकम्पले ध्वस्त पारेको संरचना पुनर्निर्माणमा सहयोग पुर्याउन झन्डै ७७ अर्ब डलर सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको चीनले सोही वाचा अन्तर्गत तातोपानी नाका खुलाउने तत्परता देखाएको हो । चिनियाँ पक्ष र नेपाली सम्पर्क अधिकृतहरुबीच तातोपानीमा बिहिवार भेटघाट भएको थियो।

रक्षा मन्त्रालयका सचिव इश्वरी पौडेलले दुई पक्षको सल्लाहपछि शनिवारदेखि बाटो खोल्ने काम शुरु गर्न लागिएको बताए। उनले भने, “नेपाली सेनाको समन्वयकर्ता टोली र चिनियाँ पक्षबीच कुरा भइसकेको छ, शनिवारबाटै काम थाल्ने सहमति भएको छ।

चिनियाँ टोलीले अवरुद्ध भएको मुख्य बाटो तातोपानी मितेरी पुलदेखि खाडीचौरसम्मको झन्डै ३५ किमी खुलाउने काम थाल्नेछ। त्यसका लागि चीनबाट एक सय कामदार र ३९ वटा बाटो खोल्न आवश्यक उपकरण पठाएको छ। मन्त्रिपरिषदले नेपाली सेनालाई खटाउने निर्णय गरे अनुसार सेनाले यो कार्यमा चिनियाँ पक्षलाई सघाउन लागेको हो।

नेपाली सेनाले उनीहरुलाई सुरक्षा र प्राविधिक सहयोग पुर्याउने जनाइएको छ। नेपाली सेनाका  प्रवक्ता जगदिशचन्द्र पोखरेलले बीबीसी लाइ भने-“सेनाले सुरक्षा र उनीहरुको आवश्यक प्राविधिक काममा सहयोग गर्दैछ, तर बाटो खन्ने कामका लागि सवै उपकरण चीनबाट आएकोले त्यसमा हाम्रो भूमिकाको आवश्यकता छैन।”

तातोपानी चीन र नेपालबीचको प्रमुख स्थल व्यापारिक नाका हो। दशैं, तिहार जस्ता ठूलो चाड नजिकिंदै गर्दा चीनबाट लत्ताकपडा सहितका अन्य वस्तु सो नाकामार्फत आउन नसकिरहेकाले दुवै देशले त्यसलाई चाँडै खुलाउन सहमति जनाएका हुन्।

सैनिक प्रवक्ता पोखरेलले १५ दिनभित्र नै खाडी चौरसम्मको बाटो खुल्ने योजना बनाइएको बताए। गत महिना नेपालमा भएको अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा चीनले घोषणा गरेको झन्डै ७७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण तथा अनुदानबाटै ती योजनामा खर्च गरिने रक्षा मन्त्रालयले स्पष्ट पारेको छ।