सरकारकै निर्देशनमा भिजिलान्ते प्रयोग : फोरम

smjfnसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले इटहरीको सभा सरकारले नियोजित रुपमा विथोलेको आरोप लगाएका छन् ।

यादवले विज्ञप्ति जारी गर्दै नौं राजनीतिक दल आबद्ध संघीय गठबन्धनले आज इटहरीमा शान्तिपूर्ण जनसभा आयोजना गर्ने तयारी हुँदा सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थी प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड र आगजनी गराएको उल्लेख छ । इटहरी घटनाले वार्तामार्फत् निकास दिनुको सट्टा सरकार मुलुकलाई थप संकटतर्फ धकेल्न लागि परेको स्पष्ट भएको यालवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ,’ फोरम अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने, सभा सम्मेलन गर्न पाउने नागरिकको अधिकारमाथि प्रहार गर्दै एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गराउनुले सरकारको गैर लोकतान्त्रिक, तानाशाही र गैरजिम्मेवार चरित्र उदाङ्गो भएको छ ।’

ithari -1इटहरी घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट भएको फोरमले जनाएको छ । ‘वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गर्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘वार्ता र संवाद मार्फत् मुलुकलाई निकास दिनुको सट्टा वार्ताबाट भाग्दै हिडेको सरकारको पछिल्लो क्रियाकलाप अत्यन्तै खेदजनक, चिन्ताजनक एवं आपत्तिजनक हुनुका साथै गैर जिम्मेवार देखिएको छ ।’

आन्दोलनकारीको सुझबुझ र संयमताले इटहरीमा कुनै अप्रिय घटना नभएको उल्लेख गर्दै फोरमले शान्तिपूर्ण सभा सम्मेलनमा अवरोध हुनुले सरकार आफैले सामाजिक सद्भाव बिगारेर सम्प्रदायिक दङ्गा भड्काउन खोजेको प्रष्ट भएको जनाएको छ ।