सम्पादक यादव सम्मानित

प्रमुख अतिथि सभासद् उमेश कुमार यादवले पत्रकार वैद्यनाथ यादवलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्दै
प्रमुख अतिथि सभासद् उमेश कुमार यादवले पत्रकार वैद्यनाथ
यादवलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्दै

सप्तरी सदरमुकाममा ७ कार्तिकमा आयोजित एक समारोहका बिच सप्तरी जागरण साप्ताहिक तथा अनलाइनका सम्पादक तथा एभिन्यूज टेलिभिजनका जिल्ला सम्वाददाता वैद्यनाथ यादव पुरस्कृत भएका छन् ।

यादव सेवा समिति केन्द्रीय कार्यालय सप्तरीले आयोजना गरेको गोवद्र्धन पूजा तथा सम्मान समारोहमा कार्यक्रमका प्रमुख अतिथि सभासद् उमेश कुमार यादवले पत्रकार यादवलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । विगत डेढ दशकदेखि पत्रकारिताको माध्यमले देश र जनताको पक्षमा कलम चलाएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै सभासद् यादवले कांग्रेस एमाले गठबन्धनको शासक जातीय अहंकारवादले राज्यलाई प्रयोग गरी मधेशीलगायत उत्पीडित जातीहरुलाई कुनै पनि हालतमा पहिचान र अधिकार दिन नचाहेकोले कुनै पनि हालतमा तोकिएको समयमा संविधान जारी नहुने दावी गर्नुभयो । वहाँले लडाकु गुण भएको मधेशको बहुसंख्यक आदीवासी यादव जातीलाई कमजोर पारेर मधेशको संघीयता र क्षतिपूर्ती सहितको अधिकारको विरुद्धमा गम्भीर प्रकृतिको षडयन्त्र भईरहेकोले अन्य बहुसंख्यक र अल्पसंख्यक जातीहरुसँग मिलेर कडा संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रकृति र श्रमजिवीहरुको सम्मानको रुपमा चल्दैआएको गोवद्र्धन पूजाको अवसरमा किसान मजदुरहरुको हक हितलाई कुनै पनि हालतमा विर्सन नमिल्ने एनेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सभासद् यादवले बताउनुभयो । सभासद् यादवले आफू पदमा बसुञ्जेलसम्म ५ हजार एक सय नगद राशीको समाजसेवी स्व. धर्मी—कपलेश्वर यादव स्मृति पुरस्कार घोषणा गर्नुभएको छ । वहाँले उक्त पुरस्कारको वितरण तथा व्यवस्थापनको जिम्मा यादव सेवा समितिलाई नै दिएका छन् । साथै राधाकृष्ण मन्दिर प्रवेशदार निर्माणमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने वहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रमा सदभावना  पार्टीका केन्द्रीय सदस्य लक्ष्मण यादवले आफ्नी दिवंगत आमा कलमवती यादवको नाउँमा ११ हजार एक सय ११ रुपैयाँ नगद राशीको पुरस्कार घोषणा गर्नुभयो । उक्त पुरस्कार प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन पत्रकारिता, राजनीतिक र एसएलसीमा उत्कृष्ट छात्र छात्रालाई प्रदान गरिने यादवले जानकारी दिनुभयो ।