समस्या र सम्भावनाका विच विकासको पर्खाईमा सप्तरी

 जितेन्द्रकुमार झा “जितु”

जितेन्द्रकुमार झा “जितु”

सात वटा प्रमुख हिमाली नदीहरु मिसिएर वनेको सप्तकोसी नदीको जिल्ला सप्तरी । कतिपयले यसलाई सप्तऋषिको जिल्ला भनेर समेत परिभाषित गर्ने गरेका छन् । जे सुकै भएपनि एतिहासिक तथा पुरातत्वीक पृष्ठभुमि भएको जिल्लाका रुपमा सप्तरीलाई चिन्ने गरीएको छ ।

विभिन्न काल खण्डमा राजनैतिक तथा शैक्षिक चेतनाका लागि समेत मुलुकमै सप्तरीलाई फरक स्थान र पहिचान उपलब्ध गराएका छन् । राजनीतिक तथा प्रशासनिक महत्वले होला सप्तरीलाई काठमाण्डौले समेत विषेश दृष्टिले नै हेर्दै आएको जानकारहरुको ठम्याई छ ।

सप्तकोसी ब्यारेज, कोसीको स्वादिलो माछा, भारदहको केरा, बरमझियाका पुरानो बुढोको पेडा, महुलीको मासु तथा दुध र चुरे देखि दशगज्जासम्मको प्राकृतिक विविधता सप्तरीलाई आफैमा एउटा विषेश पहिचान उपलब्ध गराएका छन् ।

छिन्नमस्ता, कंकालनी र राजदेवि भगवती, शम्भुनाथ महादेव, रुपनगरको प्रसिद्ध विष्णु मन्दीर तथा तिलाठीका राजपुरोहित ज्योतषि यदुनन्दन मिश्रदेखि लिएर विश्व प्रसिद्ध ज्योतिषाचार्यहरु सप्तरीलाई धार्मिक रुपमा पनि विशिष्ट पहिचान दिएको इतिहासविद् प्राध्यापक हरिकान्तलाल दासको ठम्याई छ । कनकपट्टी दरवार, चन्दभोगा गढी, कमल दह तथा कञ्चन दह, दिनाभद्रीको एतिहासीक मन्दीर लगायतका पुरातात्वीक महत्वका स्थानहरु सप्तरीको प्राचिन सम्भयता र संस्कृतिलाई उजागर गर्न प्रर्याप्त रहेको उनी वताउँछन् ।

भौगोलिक अवस्था ः

सगरमाथा अञ्चलका ६ जिल्ला मध्यै सप्तरी अञ्चलको दक्षिण पूर्वमा अवस्थीत रहेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको यस अञ्चलको सवैभन्दा कम उचाईमा अवस्थित जिल्ला हो सप्तरी ।

१ हजार ३ सय ६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो जिल्ला पूर्व पश्चिम फैलिएको तथा उत्तर दक्षिणमा चौडाई कम रहेको छ । मुलुकमै सबभन्दा वढि ११४ गाविस सप्तरीमै रहेको छ । मुलुककै पहिलो प्लानिङ्ग सिटी राजविराज नगरपालिका यहाँको सदरमुकाम हो । सप्तरीलाई १७ वटा इलाका तथा ६ वटा निर्वाचन क्षेत्रमा विभाजन गरीएको छ ।

उत्तरमा चुरे क्षेत्र हुँदै दक्षिण समथर दश गज्जा क्षेत्रले यहाँको भौगोलीक विविधतलाई अझ प्रष्टाएको छ । कोसी, त्रियुगा, बलान सहितको प्रमुख नदीहरु सँगै दर्जन वढी साना नदी तथा खहरे खोलाहरु सप्तरीलाई एकातिर उर्बर वनाउन महत्वपुर्ण भुमिका निर्वाह गरीरहेका छन् भने अर्को तिर यीनै नदी तथा खोलाहरुका कारण आउने बाढीले बर्षैनी सप्तरीलाई ठुलो क्षति समेत बेहोर्नु पर्ने बाध्यता रहेको छ ।

सामाजिक अवस्था ः

समाजिक सहिष्णुता तथा आपसि भाईचाराका निम्ति चिनिने जिल्ला हुन सप्तरी । पछिल्लो राजनीतिक उथलपुथलका बेला आंशिक रुपमा सामप्रदीयक सदभाव खलवलिएको महशुस गरिएपनि यहाँका बासिन्दाहरुले आपसि समन्वय तथा सुझवुझका आधारमा उक्त समस्यालाई समेत दुर गरेका छन् ।

तराई मधेश तथा पूर्वी पहाडमा पाईने प्रायः जसो जात जातिका मानिसहरुको बसोबास सप्तरीमा रहेको छ । यद्यपी यहाँका प्रमुख जातिहरुमा यादव, थारु, मुसलमान, तेली र धानुक रहेको जिल्ला विकास समितिले सार्वजनीक गरेको तथ्यांकमा उल्लेख छ । पहाडे तथा मधेशी(मैथिल) ब्राम्हणहरुको बसोबास पनि उल्लेख्य रुपमै रहेको तथ्यांकले देखाउँछन् ।

हिन्दु धर्म बाहुल्यता भएको जिल्ला हो यो । कुल जनसंख्याको ८८.४४ प्रतिशत हिन्दु धर्माबलम्बीहरु भएपनि कुनै पनि काल खण्डमा यहाँ धार्मिक सदभाव खलवलिने खालको घटनाहरु नदेखिएको स्थानिय बयोबृद्धहरु बताउँछन् । हिन्दुका अतिरीक्त मुश्लिम(८.३५), बौद्ध(२.९७), किराँत(०.१०), क्रिश्चियन(०.०२) र अन्य(०.१२) प्रतिशत रहेका छन् ।

नयाँ वर्षका अवसरमा शम्भुनाथमा लाग्ने १ महिने लामो शम्भुनाथ मेला, सरस्वती पुजाका अवसरमा तिलाठीमा लाग्ने बसन्तपञ्चमी मेला, दशैका अवसरमा छिन्नमस्ता, भारदह, पातो, बोदेबर्साइन सहितका स्थानहरुमा लाग्ने मेला यहाँका मुख्य धार्मिक तथा संस्कृतिक आयोजनहरु हुन् ।

मिथिलाञ्चल क्षेत्र अन्तर्गत पर्ने भएकोले मैथिली भाषा तथा मिथिला कला संस्कृतिले समेत सप्तरीको पहिचान जोडिएको बताईन्छ । यहाँका बासिन्दाहरुले बोलचालका रुपमा प्रयोग गर्ने सवै भन्दा वढि मैथिली भाषा प्रयोग गर्ने गरेका छन् । प्राप्त पछिल्लो तथ्यांक अनुसार यहाँका ७५.११ प्रतिशत जनसंख्या मैथिली भाषि हुन । त्यस्तै थारु, नेपाली, उर्दु, मगर लगायतका भाषाहरु समेत यहाँका बासिन्दाहरु मातृभाषाको रुपमा प्रयोग गर्ने गरेका छन् ।

आर्थिक अवस्था तथा रोजगार ः

केन्द्रीय तथ्यांक विभागले केहि साता अघि मात्रै सार्वजनीक गरेको तथ्यांक अनुसार सप्तरीका ४० प्रतिशत भन्दा वढि जनसंख्या हाल गरिबी रेखामुनि जिवन यापन गर्न बाध्य रहेका छन् ।

पूर्वाञ्चल विकास क्षेत्र मात्रै नभई तराईकै सबै भन्दा गरिब जिल्लाको रुपमा उक्त तथ्यांकले सप्तरीलाई प्रस्तुत गरेको छ । पछिल्लो एक दशक यता सप्तरीमा गरिबीको स्तर निकै बढेको उक्त तथ्यांकमा भनिएको छ । यद्यपी एक दशक अघि मुलुकमा समृद्ध तथा आत्म निर्भर जिल्लाको रुपमा सप्तरीलाई लिने गरीन्थ्यो ।

कृषिका लागि निकै उर्बर मानिने सप्तरीमा पछिल्लो केहि वर्ष यता सिंचाईको उपयुक्त प्रवन्ध नहुनु, विउ मलको अभाव, बदलिदो परिवेशमा कृषकहरुमा आवश्यक कृषि ज्ञानको अभाव, अति बृष्ट, अनाबृष्ट लगायतका समस्याले कृषि क्षेत्रको आत्म निर्भरता घटदै गएको यहाँका अगुवा कृषकहरुको भनाई छ ।

मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहर दशकौ देखि जिर्णोधारको पर्खाईमा रहेका छन् । कोसी पम्प नरह तथा कोसी पश्चिमी नहर वितरण प्रणाली सहितका सिंचाई पूर्वाधारको अवस्थामा पनि उस्तै रहेको छ । यहाँका आधा जति कृषि योग्य जग्गा अहिले पनि मौसमि बर्षामै आधारीत रहेकोले उत्पादन घटनुका साथै कृषकहरुको आर्थिक हैसियत पनि न्यून हुँदै गएको बयोबृद्ध किसान नेता मंगल राय बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार कुल ७१ हजार २ सय ५६ हेक्टर कृषि योग्य जग्गा मध्यै मात्र ५१ प्रतिशत जग्गामा सिंचाई प्रणालीहरुको पहुच रहेको छ । यद्यपी उक्त प्रणालीहरु पनि वर्षौदेखि जिर्ण रहेका कारण ती ५१ प्रतिशत सिंचित मध्यैका पनि अधिकांश जग्गाहरु सिंचाईका लागि मौसमि बर्षाकै पर्खाइमा रहेका हुन्छन् ।

कुल जनसंख्याको ६२.२२ प्रतिशत कृषिमै आधारित छन् । यद्यपी यहाँको कृषि पेशा व्यवसायमुखि भन्दा पनि निर्वाहमुखि बढि भएकोले कृषकहरुको जिवनस्तरमा खासै फरक आउन नसकेको स्थानिय कृषकहरुकै गुनासो छ ।

नमुना आँप,केरा खेती र पशुपालन ः

कृषि क्षेत्रमा थुप्रै समस्याहरुको बाबजुद पनि सप्तरीका केहि क्षेत्रमा गरिने आँप खेति, तरकारी खेती तथा पशुपालन मुलुकमै नमुना रहेको छ ।

खासगरेर पूर्व पश्चिम राजमार्गको छेउमा चुरे क्षेत्रसँग जोडिएको भु–भागमा गरिने सप्तरीको आँप खेति मुलुकमै परिचित रहेको छ । रुपनगर, कञ्चनपुर, धरमपुर, ठेलिया, फत्तेपुर, महुली, कुसहा, खोक्सर प्रवाहा लगायतका गाविसहरुमा व्यवसायिक रुपमै आँपको खेति गर्ने गरीएको छ । सप्तरीको आँप पूर्व मेचि देखि पश्चिम महाकाली सम्म निर्यात गर्ने गरिन्छ ।

आँप खेतीले यस क्षेत्रका कृषकहरुको जिवन स्तरनै फेरेको रुपनगरका अगुवा आँप उत्पादक उत्तम आचार्य वताउँछन् । त्यस्तै पछिल्लो केहि समय यता जिल्लाको पूर्वोत्तर क्षेत्रका केहि गाउँमा शुरु गरिएको केरा खेति समेत निकै कम समयमा लोकप्रिय भएको छ ।

भारदह, पोर्ताहा, बदगामा, योगिनियाँ, मधवापुर लगायतका क्षेत्रमा गरिने केराखेतीले यस क्षेत्रका ठुलो संख्यालाई रोजगार उपलब्ध गराएको भारदहका अगुवा केरा कृषक रामु विश्वास वताउँछन् । पहिला पहिला भारतवाट यस क्षेत्रमा आयात हुने केरा हाल यस क्षेत्रसँगै मुलुकभरीनै निर्यात गर्न थालिएको छन् । केरा खेतीमा राम्रो कमाई हुन थालेको देखेर यस क्षेत्रका थुप्रै युवाहरु विदेशिन वाट समेत जोगेको भारदहका निर्वतमान गाविस अध्यक्ष पवन मण्डलको भनाई छ ।

आँप र केरा मात्रै नभई जिल्लाको कोचावखारी, इटहरीविष्णुपुर, बोरीया, कट्टी, लगायतका गाविसहरुमा गरिने तरकारी खेतीपनि कम समयमै निकै लोकप्रिय भएको छ । कोवी, परवल, कदिमा, खिरा, खुर्सानी, साग, आलु, प्याज लगायतका तरकारी उत्पादनमा पछिल्लो समय जिल्लाका केहि ग्रामिण कृषकहरु निकै चर्चित भएका छन् । यद्यपी बजारको अभाव, आवश्यक पुजि तथा ज्ञानको अभावमा सोचो अनुरुप सफलता पाउन नसकेको कोचावखारीका अगुवा कृषक विनोद मण्डलको भनाई छ ।

यता जिल्लाको महुली, बकधुवा, लोहजारा, खोक्सरप्रवाहा, जण्डौल सहितका क्षेत्रका कृषकहरुलाई पशुपालन गरेर समेत राम्रो आम्दानि गरिरहेका छन् । गाई पालनमा मुलुकमै चिर्चित नाम रहेको छ सप्तरीको महुलीको । पछिल्लो केहि वर्ष यता यहाँका खसि बाख्रा पालन व्यवसाय पनि मुलुककै लागि उदाहरणिय भईरहेको जिल्ला पशु विकास कार्यालय सप्तरीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. काशिनाथ यादव वताउँछन् । ‘राज्यले आवश्यक लगानी तथा पूर्वाधार निर्माण गर्न सके यस क्षेत्रका कृषकहरु रातारात समृद्धिको शिखर चुम्ने निश्चित छ’, डा. यादवले भने ।

समस्या ः

धान, गहुँ लगायतका कृषि उत्पादनका लागि मुलुकमै चिनिने जिल्ला सप्तरी । पञ्चायत देखि प्रजातन्त्र सम्म, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन पश्चातको वर्तमान परिवेशमा पनि राम्रै राजनीतिक पकड र पहुच भएको जिल्ला सप्तरी ।

यहाँ नदी नालामा पनि छन्, चुरे पनी । वन जंगल सहितका प्राकृतिक स्रोत साधन पनि नभएको होईनन् यहाँ । विकासीय मेरुदण्ड राजमार्ग र भारतसँग जोडिएको भन्सार नाका पनि छन् । त्यसमाथि मुलुकमै शिक्षीत जिल्लाका रुपमा पहिचान र प्रशासनिक पहुच पनि राम्रै । तर, खै त विकास ?

विभिन्न राजनीतिक परिवेश र कालखण्डमा विरलै यस्तो मन्त्री परिषद् होला जसमा सप्तरीको प्रतिनिधित्व नहोस । त्यस्तो विरलै कालखण्ड होला जति वेला सप्तरीको प्रशासनिक पहुच वा भनौ प्रशासनिक प्रतिनिधित्व नरहेको होस । मुलुकमा राजमार्ग निर्माण हुनु भन्दा पुर्वनै सप्तरी भएर हुलाकी मार्ग जाने गर्दथ्यौ । मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहर सप्तरीमै निर्माण गरियो । कोसी पश्चिमी नहर वितरण प्रणाली, पम्प नहर सप्तरीमै छन् ।

सम्भवतः मुलुककै सवैभन्दा नजिकको ठुलो भन्सार नाका तिलाठ स्थित राजविराज भन्सार कार्यालय सप्तरीमै छन् । राजधानि पछिको मुलुककै पुराना विमानस्थलहरु मध्यै एक राजविराज विमान स्थल सप्तरीमै छन् । त्रिभुवन विश्वविद्यालय भन्दा जेठो कलेज महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस सप्तरीमै छन् । औद्योगिक क्षेत्र, मुलुककै पहिलो प्लानिंग सिटी सहितका थुप्रै पहिचान र उपलब्धी हुँदाहुँदै पनि समयन्तर सप्तरीको विकास भन्ने हुन सकेन ।

सप्तरीको वर्तमान आर्थिक अवस्था पनि त्यतीको जर्जर छैन् । एक आँकडा अनुसार जिल्लाको ४० हजार युवा भारत लगायतका अन्य मुलुकहरुमा रोजगार लगायतका कारणले विदेशीएका छन् । उनीहरुले मासिक सरदर ५ हजार रुपैयाँ पनि रकम पठाएपनि वार्षिक रेमिट्यान्स झण्डै अढाई अर्ब जति हुन्छ । यहाँ स्थित विभिन्न सरकारी तथा निजी बैंक तथा वित्तिय संस्थाहरुको वार्षिक निक्षेपलाई हेर्ने हो भन्ने झण्डै दुई अर्व वढि हुन्छ । तर विकासीय अवस्था भन्ने दयनिय ।

भनिन्छन, नेतृत्व पंक्तिको व्यक्तिगत तथा निहित स्वार्थ पुर्ति, सर्वसाधारणहरुमा चेतनाको अभावमा सप्तरीको अवस्था दयनिय वन्दै गएको हो । हाल जिल्लामा एउटा पनि सडक छैन् । जिल्लाको पश्चिी, उत्तरपुर्व तथा कतिपय दक्षिणी गाउँ सम्म पुग्न पनि अप्ठयारो छ । आपद विपदका वेला त्यहाँ सम्म एम्बुलेन्स वारुण यन्त्र सहितका आपातकालिन सवारी साधन पुर्याउनु पनि अप्ठायारो ।

– तराई मधेशको मेरुदण्ड हुलाकि राजमार्ग दशकौदेखि जिर्ण

– राजविराज–कुनौली सडकमा डेढ दशक देखि ठुलो सवारी साधन अवरुद्ध

– राजमार्ग जोडने राजविराज–हनुमाननगर सडकको अवस्था पनि उस्तै

– राजविराज–छिन्नमस्ता सडकका लागि वर्षौदेखि आन्दोलन जारी

– १५ वर्षदेखि जिर्णोधारको पर्खाईमा कञ्चनपुर–फत्तेपुर सडकखण्ड

– कच्ची रोड तथा कृषि सडकहरु पनि छैन हिडने लायक

जिल्लाको औद्योगिक विकास मत्थर भएको छ । मधेश आन्दोलन र त्यस यता प्रारम्भ भएको सशस्त्र गतिविधिले पलायन भएको उद्योगी व्यवासायीहरुलाई अझै पनि फर्काउन सकिएको छैन । फाटफुट रुपमा लगानी भएपनि लगानीको वातावरण निर्माण गर्न सकिएको छैन । एक मात्र व्यवस्थीत औद्योगिक क्षेत्र उद्योगको प्रतिक्षामा छन् ।

विमान स्थलमा दशकौदेखि नियमित विमान अवतरण हुन सकेको छैन । करौडो बजेट खर्चिए पनि ती बजेटहरु उपलब्धी मुलुक हुन सकेन । स्थायिन विकास, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार निर्माण लगायतका नाममा आउने बजेटको सदुपयोग छैन । राजनीतिक भागवण्डा, भ्रष्टाचार, अनियमितता लगायतका कारणले बजेटको सदुपयोग हुँदैन, करौडो बजेट कामै नगरी फ्रिज हुने समस्या पनि दिन प्रति दिन विक्राल हुँदै गएको छ ।

सम्भावना ः

सप्तरीमा लगानीको वातावरण छैन्, सुरक्षाको अभाव छ भन्ने नाकारात्मक प्रचार प्रसार भईरहेको अवस्था अहिले पनि विद्यमान छन् । तर सप्तरीमा पछिल्लो तीन वर्ष यता आधा दर्जन वढि नीजि बैंकहरु सञ्चालनमा आए । ग्रामिण भेगहरुमा पनि बैंकहरुको शाखा विस्तार हुँदैछन् र सवैजसो बैंकहरु कारोवार पनि राम्रै गरिरहेका छन् । सप्तरी उद्योग बाणिज्य संघका निर्वतमान महासचिव सुरेशकुमार सिंह प्रश्न गर्छन्, ‘सुरक्षाको अभाव भए कसरी खोलिन्थ्यो त धमाधम बैंकहरु अनि लगानीको वातावरणै नभए लगानी गरेका बैंकहरु कसरी आफ्नो कारोवार सफलतापुर्वक गरिरहेका छन् ?’

वित्तिय क्षेत्र एउटा उदाहरण मात्रै भएको सिंहको ठम्याई छ । उनले भने, ‘अन्यान्य क्षेत्रमा पनि निकै सम्भावना छन्, तर लगानिकर्तालाई हामिले आकर्षित गर्न नसक्दा यस्तो समस्या भएको हो ।’ कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा निकै सम्भावनाहरु रहेको वताउँदै सिंहले भने, ‘नाकारात्मक र भ्रमपुर्ण प्रचार हामि आफै गरिरहेका छौ, यसलाई रोक्नु पर्छ ।’

‘प्रसिद्ध शक्ति पिठहरु छिन्नमस्ता, कंकालनी र राजदेविलाई एउटै रुठमा जोडेर अन्य धार्मिक क्षेत्रहरु एउटा सर्किल वनाउन सक्यौ भने यहाँ पर्यटनको उत्तिकै सम्भावना छ’, सिंह भन्छन्, ‘दशैमा मात्रै लाखौ श्रद्धालुहरु सप्तरी आउँछन तर उनीहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध नगराईदा दशै बाहेको समायमा हामि त्यसलाई निरन्तरता दिन सकिरहेका छैनौ ।’

त्यस्तै भन्सार नाका नजिक हुँदा हुँदै पनि सडकको अभावमा कच्चा पदार्थ सहितका माल समान जोगवनी तथा विरगंज भन्सारवाट ल्याईउनु पर्दा लगानी बढदै गएकोले सप्तरीमा उद्योग व्यवसाय समेत फस्टाउन नसकेको उनको भनाई छ । यता सिंचाईको उपयुक्त प्रवन्ध, अलिकति कृषि सम्बन्धी ज्ञान र कृषि बजारको व्यवस्थापन गर्न सकिए मुलुकमै कृषिका लागि सप्तरी अब्बल हुने जानकारहरु बताउँछन् ।

Jitendra781jitu@gmail.com