सप्तरी प्राविधिकमा हाकिम नातागोताको भर्ना धमाधम ‘२४ घ’ बाट बढुवा भएका ओभरसियर ‘प्राविधिक र जिविस प्रमुख !’

सदरमुकाम राजविराजस्थित जिविस सप्तरी ।
सदरमुकाम राजविराजस्थित जिविस सप्तरी ।

योजनाको स्टीमेट र बील पास एकै ब्यक्तिबाट हुने भएकाले सप्तरी जिविसमा चालू आर्थिक वर्षमा ब्यापक भ्रष्टाचार हुने स्थानीय निकायमा दख्खल राख्नेहरु बताउछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजविराजस्थित एक कार्यालयका प्रमुखलाई अन्यत्र काजमा पठाई तल्लो स्तरका कर्मचारीलाई यहा स्थित दुई–दुई वटा महत्वपूर्ण कार्यालयको प्रमुख बनाईदिएको छ ।

 

जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख डिभिजनल इन्जिनियर श्यामसुन्दर मिश्रालाई सप्तरीबाट मन्त्रालयले काजमा सिन्धुली पठाई एक वर्षदेखि सहायक इन्जिनियर प्रदीप बहादुर सिंह यादवलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । यति मात्रै नभई गत पुस २९ गतेदेखि प्राविधिककै निमित्त प्रमुख यादवलाई सप्तरी जिविसको स्थानीय विकास अधिकारीको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।
विकासीय योजनको स्टीमेट गर्ने प्राविधिक कार्यालय र योजनाको बिल भरपाई पास गर्ने जिविसको प्रमुख यसरी एउटै ब्यक्ति भएपछि चालू आर्थिक वर्षमा सप्तरीमा विकासीय काम भन्दा भ्रष्टाचार बढी हुने आशंका गरिएको छ।
सप्तरी निवासी उपसभामुख गंगाप्रसाद यादव केन्द्रीय सदस्य रहेको पार्टी राप्रपा नेपालकै भागमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय परेकाले आफ्नो अनुकुल बनाउन प्राविधिकका निमित्त यादवलाई नै निमित्त एलडिओको जिम्मेवारी दिईएको श्रोतको भनाई छ ।
हुनत् लामो समयदेखि योजना अधिकृतबिहिन रहेका सप्तरी जिविसमा एक महिना अगाडी मात्रै मन्त्रालयले कम तहका कर्मचारीलाई उपसभामुखको योजनामा गडबडी हुन नदिन पठाईदिएका छन् । सप्तरी जिविसमा भर्खर आएका योजना अधिकृत धीरेन्द्र यादव पाचौ तहका हुन् भने प्राविधिकका निमित्त प्रमुख यादव छैठौं तहका हुन् । निमित्त प्रमुख यादवसित ‘इन्जिनियर’को प्रमाण पत्र छैन । उनी निजामती सेवा ऐन २०४९ को दफा २४ घ बाट बढुवा भएका हुन् ।

दरबन्दी रहेका कर्मचारीलाई अन्यत्र पठाई कम दर्ताका ब्यक्तिलाई मन्त्रालयले महिनौंदेखि प्राविधिक र जिविस प्रमुखको पद दिएकाले विकासीय काम भन्दा भ्रष्टाचार नै बढी हुने छाटकाट आफूले देखेको एमाओवादी नेता एवं उपसभामुख यादवको क्षेत्रबाट निर्वाचित सांसद अशोककुमार मण्डलको दाबी छ । ‘लागि आएको बानीअनुसार उपसभामुखले जिविसमा आफ्नो हैकम देखाउन चाह्नुभएकै छ’, सांसद मण्डलले भने, ‘उहाकै भरपूर प्रयासमा एउटै ब्यक्तिलाई स्टीमेट बनाउने र बिल पास गर्ने पदमा राखिएको हो, २ नम्बर निर्वाच क्षेत्रमा प्रत्यक्ष निर्वाचितको नाताले आफू संयोजक भएपनि ४० प्रतिशत बजेट उपसभामुखले आफ्नोअनुकुल योजनामा लगाउनुभएको छ ।’
उपसभामुख यादवले भने कर्मचारी सरुवा–बढुवामा आफ्नो कुनै मतलब नभएपनि क्षेत्रको विकासको सवालमा योजना बाडफाड गर्न जिल्लामा बढी समय बिताएको प्रतिक्रिया दिए । ‘प्रत्यक्ष निर्वाचितले चाहे बमोजिम सबै हुदैन, सबैको सहमतीमा हुनुपर्ने मान्यताअनुसार बजेट बाडफाडा गरी योजना छनौट भएको छ’, उनले भने ।
उता सामान्य प्रशासन मन्त्री रेखा शर्माले सप्तरी प्राविधिक प्रमुखमा दरबन्दी भई सिन्धुलीमा रहेका मिश्रालाई काज फिर्ता बोलाउन सकिन्छ । तर, यसो गर्दा गठबन्धन सरकारका दुई घटक राप्रपा नेपाल र एमालेबीच मतभेद उत्पन्न हुने भएकोले मन्त्री समेत अगाडी नबढेको नाम नबताउने सत्रमा जिविसकै कतिपय कर्मचारीहरु बताउछन् ।

 

सप्तरीको पश्चिम पिप्रा गाविसको शिशुवारीस्थित खोलाबाट बालु–गिट्टी निकालिंदै मजदुर ।
सप्तरीको पश्चिम पिप्रा गाविसको शिशुवारीस्थित खोलाबाट बालु–गिट्टी निकालिंदै मजदुर ।

सप्तरीमा चालू आर्थिक वषमा निर्वाचन क्षेत्र विकास अन्तर्गत १२ करोड ४० लाख, वातावरण मैत्रीको ८७ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसिडीपी)को ४ करोड २४ लाख ३७ हजार, स्थानीय निकाय मितिय आयोग अन्तर्गत ७ लाख ४१ हजार ७ सय, ग्रामिण खानेपानी तथा सरसफाईको ५४ लाख, बहुक्ष्त्रिय पोषणको ७४ लाख ३ हजार, उपेक्षित उत्पीडित उत्थान समितिको ४ लाख, सुनौला हजार दिनको ११ करोड ९७ लाख ७० हजार, पिछडिएको समुदाय उत्थान विकास समितिको ११ लाख, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको १ करोड ७ लाख ५२ हजार, स्थानीय यातायात पूर्वाधार क्षेत्रगतको १ करोड २ लाख, गरिबसग विशेश्वरको ३० लाख २५ हजार, गाविस अनुदानको १९ करोड ४७ लाख ७६ हजार, समाजिक सुरक्षा भत्ताको ३० करोड ८९ लाख ८० हजार ८ सय बराबरको बजेट छ ।
तर, अहिलेसम्म सप्तरीका सबै गाविसको परिषद्समेत नहुदा आर्थिक वर्ष सकिन केही दिन मात्र बाकी रहदा विकासको पहिलो चौमासिक पनि खर्च हुन सकेको छैन । योजना छनौटमा भेदभाव, कमिसन, आफ्नो अनुकुल सांसदले योजना बनाउने तथा जिविस कर्मचारीले गाविस सहित सबै योजनाहरुमा कमिसन लिएर निकास दिने प्रवृत्तिले विकासीय काम समयमा सुरु हुन सकेको छैन ।

प्राविधिकमा हाकिम नातागोताको भर्ना

……………………………………………………

विश्व बैंकको आर्थिक सहयोगमा जिल्ला प्राविधिक कार्यालय मार्फत सप्तरीमा सञ्चालन रहेको राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम(एसएनआरटिपी) अन्तर्गत आधा दर्जन बढी सडक निर्माणको काममा चाहिने आवश्यक कर्मचारी भर्ना सुटुक्क नातागोतालाई गरिएको पाईएको छ ।
निमित्त प्रमुख यादवले ल्याब टैक्निसियन पदमा विरेन्द्रकुमार यादव, ल्याब ब्योय पदमा रामबाबु चौधरी, समाजिक परिचालक पदमा बन्दनाकुमारी यादव र चालक पदमा ओम चौधरीलाई सुटुक्कै नियुक्ति गरिएको हो । चारै जनालाई नियुक्त गर्नुअघि प्राविधिक कार्यालयले खुल्ला विज्ञापन नगरेको सोही कार्यालयको तथ्यांङ्कले देखाएको छ ।
यसरी सुटुक्कै गरिएको नियुक्तिहरुमा ल्याब टैक्निसियन बिरेन्द्रकुमार यादव निमित्त प्रमुख यादवको निकटस्थ मानिने इन्जिनियर कुलानन्द विराजी र नासु कमलेश्वर बिराजीका बहिनी ज्वाइ हुन् । यस्तै समाजिक परिचालकमा नियुक्ति गरिएकी बन्दना कुमारी यादव सोही कार्यालयमै कार्यरत असिस्टेन्ट सब-इन्जिनियर राजकुमार यादवकी बहिनी हुन् । ल्याब ब्याय रामबाबु चौधरी कार्यालयका सब इन्जिनियर अशोक सिंहका साला हुन्, भने चालक ओम चौधरी पनि कार्यरत कर्मचारीकै नातागोताका हुन् ।
‘कुनै पनि पदका लागि करार कर्मचारी राख्नु पर्दा खुला प्रतियोगिताद्वारा कुनै पनि व्यक्तिलाई निश्चित अबधिका लागि करारमा नियुक्ति गर्न सक्नेछ’, स्थानिय निकायका सम्पुर्ण ऐन नियम र निर्देशिकाहरुको संग्रहको २१७ नम्बर बुदामा उल्लेख छ । तर, निमित्त एलडिओ र डीईसमेत रहेका यादवले भने आफुले नियमविपरित सरुवा नगरेको दाबी गरे । ‘नगद एक लाख सम्म तलब भत्ता खुवाउने गरी करार कर्मचारी नियुक्ति गर्दा विज्ञापनै गर्नुपर्ने वाध्याताछैन’, उनले भने ।

कमिसनमै जिविसको ठेक्कापट्टा

……………………………………………………….

गत आर्थिक वर्षमा ठेक्का नलागेपछि अमानतमा ठेक्का चलाएका जिविस सप्तरीले यसवर्ष पुनः कमिसनमै ठेक्का चलाईरहेको तथ्य खुलेको छ । गतवर्ष जिविस सप्तरीका प्राविधिक र प्रशासनका तीन–चार जना कर्मचारी मिलेर अमानतमा ठेक्का चलाएको थियो । त्यसमध्येका सबै कर्मचारीले ठेक्का वापतको लाखौं रकम ब्यक्तिगत काममा प्रयोग गरेको भनि जिविसलाई मन्त्रालयले ताकेता गरेपनि त्यस सम्बन्धमा ठोस कारबाही अहिलेसम्म हुन सकेको छैन ।

सोही अवस्थामा चालू आर्थिकवर्षमा जिविसका केही कर्मचारी र निमित्त स्थानीय विकास अधिकारी प्रदीपबहादुर यादवले ठेकेदारसित आर्थिक लाभ लिएर बालु–गिट्टी उत्खनन्को ठेक्का लगाएको हो । ठेक्का लगाउनु अगाडी सार्वजनिक गर्नुपर्ने प्राकृतिक श्रोत साधन उत्खनन् अध्ययनको रिपोर्टसमेत जिविसले अझ बनाएको छैन ।
तर, सप्तरी लोहजारा ८ का मोहम्मद नैसार अहमद मार्फत सुरुमा जिविसले ठेक्का मार्फत बालु–गिट्टी संकलनको कार्य गरेपनि अहिले निःशुल्क गराईरहेको रहस्यसमेत सार्वजनिक भएको छ ।
मधेस आन्दोलनको बहानामा आर्थिक वर्षको १ सय ४० दिनको रकम झण्डै ७८ लाख ५२ हजार ३ सय ९९ रुपैया ठेकेदारसित कमिसन खाएर मिनाहा गरिदिएको छ । त्यसपछि राख्नुपर्ने बैंक ग्यारेण्टी समेत नराखी कर संकलनको जिम्मेवारी तीनै ठेकेदारलाई निमित्त एलडिओ यादवले प्रदान गरेको छ ।
७८ लाख रकम मिनाह भएपछि बाकी रहेका साढे ७३ लाख मध्यै ३६ लाख ७४ हजार बुझाई ठकेदारले गत माघ २१ गते ठेक्का सम्झौता गरेका थिए । उक्त ठेकेदारसग जिविसले गरेको सम्झौतामा ठेकेदारले ०७२ फाल्गुन मसान्त सम्ममा बा“की रहेका रकम वा बैंक ग्यारेण्टी फाल्गुन २२ गते सम्म नबुझाए सोहि मिति देखि ठेक्का स्वतः रद्द हुने भनि उल्लेख थियो । यद्यपी उक्त समयमा ठेकेदारले रकम र बैंक ग्यारेन्टी नबुझाएको जिविसस्थित राजश्व शाखाको अभिलेखबाट प्रष्टिएको छ ।
नियम बमोजिम ठेक्का रद्द भएपनि ठेकेदारले कर भने उठाईरहेका छन् । तर, जिविसले भने कुनै कारबाही बढाउन सकेको छैन । जिविस श्रोतकै अनुसार निमित्त एलडिओ यादवकै आदेशमा ठेकेदारले कर उठाईरहेको छ । यसरी गैरकानूनी रुपमा उठाउने कर वापतको रकम गतवर्षजस्तै फेरी यसवर्ष पनि जिविसलाई प्राप्त हुने वा नहुने भनि शंका बढेको छ । निमित्त एलडिओ यादवले करीब ८ लाख कमीशन लिएको ठेकेदारहरु बताउछ ।