सप्तरी जागरण १५औं वर्षमा प्रवेशसँगै हाम्रो प्रतिबद्धता

1     ‘ जनताको सु–सुचित अधिकारको प्रतिक’  सप्तरी जागरण १५ औं वर्षमा प्रवेश गरेको छ । यस बीचमा आएका अनेकौं उतार चढावको सामना गर्दै जनतालाई सूचना तथा विचार प्रवाहको लागि हामीले अनवरत लाग्दै यहाँसम्मको यात्रा सफलतापूर्वक तय गरेका छौं ।

हुन त पत्रकारिता निरन्तर चल्ने विषय भएकोले शुभारम्भको तिथी मिति किटान भएपनि यसको अन्त्य हुँदैन । मुलक र मुलुकबासीका पक्षमा लगातार कलम चलाइने पवित्र पेशा पत्रकारिता जोखिमपूर्ण त छँदैछ । तर, सत्कर्मको बाटो अवलम्बन गरिएको कारण जतिसुकै जोखिम र बाधा अड्चन भएपनि उद्देश्य पवित्र हुँदा त्यस्ता समस्याहरु आफैं निस्तेज भएर जाने हामीले महशुस गरेका छौं ।

यही वास्तविकता कारण नै सप्तरी जागरणले १४ वर्षको यात्रा तय गर्दै यहाँसम्म आई पुगेको हो । समय परिवर्तनशील छ । समयको गतिसँगै जनताका इच्छा, आकांक्षा पनि परिवर्तन हुन्छन् । परिवर्तनको यो क्रमले मुलुकको शासनपद्धति समेतलाई प्रभावित तुल्याउँछ ।

सत्य र तथ्यको मार्ग पहिचान गर्दै जनताको भावना सित तादात्म्यता राख्दै उनीहरुकै पक्षमा पत्रकारिताले पनि सहयात्रा गर्नुपर्दछ भन्ने हामीले १४ वर्षे यो यात्राका क्रममा महशुस गरेका छौं । बढ्दो आधुनिकता र शिघ्र सूचना प्रवाहको चुनौतीलाई आत्मसात गर्दा समयको हाँकलाई स्वीकारेर सप्तरी जागरणले विगत एक वर्ष देखि ‘सप्तरी जागरण अनलाईन’(www.saptarijagran.org.np) सेवाको समेत शुभारम्भ गरेको छ ।

यसले विद्युतीय समाचार माध्यमका रुपमा छिट्टै समाचार र विचार पस्कदै आएको छ । साप्ताहिक सँगै अनलाइनले पनि लोकप्रियताको उचाई हासिल गर्नु पछाडी आदरणीय पाठक वृन्द, विज्ञापनदाता, यससँग आवद्ध सम्पूर्ण सहयोगी तथा शुभचिन्तकमा हामी यस घडीमा आभार व्यक्त गर्न चाहन्छौं । हामीले पाएको सफलताको पछाडी यहाँहरुकै अमूल्य योगदान छ । पाठकवृन्दले देखाउनु भएको माया र मार्गदर्शन नै हाम्रो मूल पुँजी हो ।

यसकै ऊर्जाबाट राम्रो आगामी यात्राले पनि सफलताको मार्ग प्रशस्त हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । जनतको प्रतिबद्धता हो । यसप्रति आगामी दिनमा पनि उत्तिकै कटिबद्ध भएर लागि रहने छौं ।
मुलुकले अझै राजनीतिक स्थायीत्व ग्रहण गर्न सकेको छैन ।

नयाँ बन्ने संविधानमा सबै जनताको भावना समेटिएर त्यसले पूर्णता हासिल नगरेसम्म यो स्थायित्व सम्भव छैन ।‘सप्तरी जागरण’ सबैलाई अटाउने संविधान निर्माण, लोकतन्त्रको सबलीकरण सँगसँगै जनताको पक्षमा सदैव पहरेदारका रुपमा रहने छ  भन्ने हाम्रो बचनबद्धता हो । हामीलाई पूर्णवत हौसला र ऊर्जाको प्राप्ति भई नै रहने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।