सप्तरीको गोबरगाढामा गोठमा स्वास्थ्य चौकि

गोबरगाढा स्वास्थ्य चौकिसँग भौतिक पुर्वाधारको नाममा रहेका दुई थान दराज ।
गोबरगाढा स्वास्थ्य चौकिसँग भौतिक पुर्वाधारको नाममा रहेका दुई थान दराज ।
सप्तरीको गोबरगाढा गाविस स्थित स्वास्थ्य चौकि पछिल्लो लामो समयदेखि गाई गोठमा सञ्चालन रहेको छ । स्वास्थ्य चौकिका इन्चार्ज नरेन्द्र सिंहका अनुसार स्थानिय हरिनारायण यादवले उपलब्ध गराएको गाईगोठमा पछिल्लो एक दशक भन्दा लामो समयदेखि स्वास्थ्य चौकि सञ्चालनमा रहेको हो ।
‘उनले (हरिनारायण)पालेका गाई भैसिहरु चर्न गईसकेपछि मात्रै उक्त गोठ हाम्रो प्रयोगमा आउँछन’, अहेब सिंहले भने, ‘अब गोठमा कसरी र कस्तो उपचार होला तपाँई आफै बुझ्न सक्नु हुन्छ ।’ स्वास्थ्य चौकि सँग पुर्वाधारको नाममा दुई वटा दराज र केहि थान भ्याक्सिन क्यारियर (भ्याक्सिन बोक्ने डिब्बा) रहेका छन् ।
पछिल्लो सोमवार विहान ११ बजे तिर गोबरगाढा पुग्दा स्वास्थ्य चौकि सञ्चालित उक्त गोठ र गोठ वरिपरी झण्डै दुई दर्जन वढि भैसिहरुलाई राखेर हरिनारायण दुध दुहँदै गरेको भेटिए । ‘गोबरगाढाको स्वास्थ्य चौकि कहाँ छन् ?’ भनि जिज्ञासा राख्दा हरिनारयणले आफु दुध दुहँदै गरेको गोठमा राखिएको स्वास्थ्य चौकिको दराज तर्फ इशारा मात्र गरे । दराज माथि लेखिएको उप–स्वास्थ्य गोबरगाढा हेरेर बल्ल त्यहि गोठ नै उप–स्वास्थ्य चौकि रहेको थाहा पाए ।
हरिनारायणका अनुसार स्वास्थ्य चौकि सञ्चालनका निम्ति कुनै पुर्वाधार नहुँदा उनका वुवा स्व. सुकदेव यादवले आफ्नो गाई गोठ उपलब्ध गराएको हो । वुवाको मृत्यु पश्चात आफुले विभिन्न समस्याका बाबजुद पनि स्वास्थ्य चौकिका लागि गोठ उपलब्ध गराएको उनको भनाई छ । सुकदेव यादव गोबरगाढाका पुर्व गाविस अध्यक्ष समेत रहेका थिए ।
‘विहान यसो भैसि दुह्ने वेला दुई÷चार घण्टा प्रयोग गर्छु’, हरिनारायणले भने, ‘साँझ सम्म भैसिहरु खेतमै चर्ने गर्छन, त्यति वेला सम्म स्वास्थ्य चौकिमा पनि छुट्टी भईहाल्छन् ।’ भवन र अन्य पुर्वाधार नहुँदा स्थानियहरुलाई भने निकै समस्या हुने गरेको यादवको भनाई छ ।
स्वास्थ्य चौकिका इन्चार्ज नरेन्द्र सिंह पनि पुर्वाधारका साथै कर्मचारी समेतको अभाव हुँदा निकै समस्या हुने गरेको वताउँछन् । ‘गर्भवती जाँच, सामान्य घाउहरुको स्टीचिङ्ग लगायतका काम त झन् गा¥हो हुन्छ’, सिंहले भने, ‘कर्मचारीको नाममा पनि एक्लै छु, त्यसो भएर पनि समस्याहरु भईरहन्छन् ।’
जिल्लाकै पहिलो मानिने तिलाठी स्वास्थ्य चौकिसँग पनि हाल सम्म आफ्नो भवन रहेको छैन । १९८९ सालमै स्थापित त्रिचन्द्र संस्कृति निमाविको जिर्ण र जर्जर भवनमा बर्षौदेखि सञ्चालित स्वास्थ्य चौकि हाल गाविसले उपलब्ध गराएको एउटा सानो कोठामा सिमित हुन पुगेका छन् । ‘उपयुक्त ठाउँनै छैन, प्रभावकारी सेवाको अपेक्षा गर्नु व्यर्थ हो’, स्वास्थ्य चौकिका प्रमुख दिपेन्द्र झाले भने, ‘गाविस देखि जिल्ला सम्म गुहारियौ तर कतैवाट केखि सहयोगको वाटो देखिएन ।’
जिल्लाकै नर्घो गाविस स्थित उप–स्वास्थ्य चौकि आफ्नो स्थापना कालदेखि स्थानिय परमानन्द यादवको घरमा सञ्चालित रहेको छ । यादव नर्घोका पुर्व गाविस अध्यक्ष समेत हुन् । उप स्वास्थ्य चौकिका इन्चार्ज रामचन्द्र यादवका अनुसार गाविससँग पटक पटक बजेट माग्दा पनि हाल सम्म खासै पहल हुन सकेको छैन ।
‘एउटा कोठामा बर्षौदेखि उप स्वास्थ्य चौकि सञ्चालित छन्, त्यहि कोठामा कार्यालय पनि सञ्चालन गर्नु पर्ने हुन्छ, त्यसमै विरामी पनि हुर्नुपर्ने बाध्यता’, यादवले भने, ‘विरामीलाई प्रभावकारी स्वास्थ्य सेवा त परै जाओस नियमित कार्यालय सञ्चालनमा पनि समस्या भईरहेको छ ।’
सप्तरीको गोबरगाढा गाविस भौगोलिक रुपमा त्यसै विकट गाविसका रुपमा परिचित रहेका छन् । तर स्वास्थ्य चौकिहरुको अवस्था हेर्दा समग्र जिल्लाकै अवस्था उस्तै रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्ला भरीका झण्डै ९० प्रतिशत स्वास्थ्य चौकिहरुसँग आफ्नो भवन रहेको छैन ।
सप्तरीको गोबरगाढा गाविस स्थित स्वास्थ्य चौकि सञ्चालित गोठमा राखिएका भैसिहरु ।
सप्तरीको गोबरगाढा गाविस स्थित स्वास्थ्य चौकि सञ्चालित गोठमा राखिएका भैसिहरु ।
हाल जिल्लाभरी १ सय ३ वटा स्वास्थय चौकिहरु रहेका छन् । पछिल्लो बजेट वक्तव्य मार्फत सरकारले मुलुकभरीका उप–स्वास्थ्य चौकिहरुलाई स्तरोन्नतरी गरी स्वास्थ्य चौकि घोषणा गरेका थिए । यद्यपी भौतिक पुर्वाधार तथा कर्मचारी नहुँदा उक्त निर्णय कागजी मात्रै हुन पुगेको सप्तरीका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाको भनाई छ ।
‘९० प्रतिशत स्वास्थ्य चौकिसँग आफ्नो भवन छैन, त्यस्तै अवस्था कर्मचारी तर्फ पनि रहेको छ’, उनले भने, ‘भवनको हकमा स्वास्थ्य चौकिहरुसँग जग्गा छैन, कर्मचारीको हकमा निजामति कितावखानावाट हाल सम्म दरबन्दी टेरीज आउन नसकेर समस्या भईरहेको हो ।’
नियमानुसार प्रत्येक स्वास्थ्य चौकीमा एक जना हेल्थ असिसटेन्ट वा सिअहेब, दुई जना अहेब, २ जना अनमि तथा १ जना कार्यालय सहयोगीको दरबन्दी हुनु पर्ने हुन्छ । तर जिल्लाका अधिकांश स्वास्थ्य चौकि अहिले पनि एक जना अहेब र एक जना कार्यालय सहयोगीकै भरमा चलिरहेका छन् ।
यसका अतिरीक्त भौतिक पुर्वाधार निर्माणका लागि सम्बन्धीत स्वास्थ्य चौकिको नाममा कम्तीमा ७ कट्ठा जग्गा भए जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारीसमा मन्त्रालय मार्फत शहरी विकासले भवन निर्माण गरिदिने प्राबधान रहेको बरिष्ठ जनस्वास्थ्य प्रकाशक झाले वताए । ‘हामि प्रयासरत छौ, गाविसहरुसँग पनि कुरा भईरहेको छ’, उनले भने, ‘जग्गाको प्रबन्ध मिलाउन सकिए भौतिक पुर्वाधारको समस्या रहदैन ।’