‘सत्यको जगमा त्यसको डटेर सामना हुनेछ’-सांसद सिलवाल

navrajएमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् ।

‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ,’ सिलवालले ट्विटमा लेखेका छन्, ‘सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’

 

सिलवाललाई ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको दुई दिनपछि  शुक्रबार ट्वीटमार्फ  सिलवालले आफूमाथि प्रतिशोधपूर्ण प्रहार भएको प्रतिक्रिया दिएका छन्। प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन्।

कार्यसम्पादन मूल्यांकनमा किर्ते भएकोबारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । तर, सिलवाल फरार छन् । सिलवाल हाल विदेशमा रहेको बताइन्छ ।