संविधान संशोधनको कुरा मधेसवादी दललाई बेबकुफ बनाउने खेल : थापा

kamal thapa & up-sabhamukhराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले अहिले गरिरहेको संविधान संशोधनको कुरा ओठे भक्ति र मधेसवादी दललाई बेबकुफ बनाउने, जनताको आँखामा छारो हाल्ने तथा भारतलाई खुशी पार्नका लागि मात्र गरिएको देखावटी भएको आरोप लगाएको छ ।

अध्यक्ष थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याइए त्यससँगै धर्म निरपेक्षताको अन्त्य र हिन्दू राष्ट्रको पुनर्स्थापना समबन्धि प्रस्ताव समेत ल्याउनुपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा बुधबार दिउँसो सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘यदि मधेसवादी दलको माग सम्बोधन गर्ने हो भने संविधान संसोधनको प्रस्ताव ल्याइन्छ भने त्यससँगै धर्म निरेक्षताको अन्त र हिन्दू राष्ट्रको पुनर्स्थापना समबन्धी संशोधन प्रस्ताव पनि सँगै लगिनुपर्छ ।’

राजतन्त्र प्रति अझै पनि आफ्नो पूर्ण निष्ठा रहेको बताउँदै थापाले भने, ‘राजतन्त्र प्रति मेरो र राप्रपा नेपालको पूर्ण निष्ठा छ, तर राजतन्त्र पुनर्स्थापना गर्ने नगर्ने कुरा नेपाली जनतामा भर पर्छ ।’

उनले जनताको बृहत्तर हितमा ल्याउने प्रस्तावमाथि सधैं राप्रपा नेपालको समर्थन रहने बताए । यद्यपी अहिले मधेसवादी दलको माग अनुरुप ल्याउने भनिएको संविधान संशोधनको प्रस्ताव भने देखावटी कुरा मात्र भएको जिकिर गरे ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले मधेसवादी दलहरुको उपयोग मात्र गरेको बताउँदै थापाले भने, ‘संशोधनको नाममा मधेसवादी दललाई बेबकुफ बनाइँदै छ ।’ भारत भ्रमणमा जानु अघि संविधान संशोधनको प्रस्ताव ल्याउछु भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले अपरिपक्क र अदुरदर्शिता देखाएको थापाले आरोप लगाए ।

‘भारत भ्रमणमा जानु अघि संशोधन प्रस्ताव ल्याउँछु भनेर प्रधानमन्त्रीजीले भन्नु भएको छ,’ थापाले प्रश्न गर्दै भने, ‘के प्रधानमन्त्री भारत गएनन् भने संविधान संशोधन हुँदैन ? यस्ता भनाइले प्रधानमन्त्री अपरिपक्क र अदुरदर्शी रहेको पुष्टि हुन्छ ।’ संविधान संशोधनको कुरामा भारतको नाम मुछनुको कुनै तुक नभएको थापाले स्पस्ट पारे।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट उपसभामुख बनेका गंगा प्रसाद यादवको पनि उपस्थिति थियो । थापा आज सप्तरीका पार्टी कार्यकर्ताहरुलाइ जिविस सप्तरीमा प्रशिकक्षण दिएका छन् ।