संविधान र संघीयता दुवै लागु हुन गाह्रो : अमरेश

amrनेपाली कांग्रेसका नेता तथा सांसद अमरेश कुमार सिंहले नेपालको नयाँ संविधान लागु नहुने बताएका छन् । सिंहले नेपालमा आर्थिक र राजनीतिक दुवै हिसाबबाट संघीयता पनि लागु नहुने बताए ।

संघीयता र एक मधेस एक प्रदेशको पक्षमा नेपाल र भारतमा लविङ गर्दै आएका नेता सिंह अहिले आएर संघीयता नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा पुगेका छन् । बीबीसी नेपाली सेवासँग दिएको अन्तर्वातामा सिंहले आफ्ना अपरिपक्व बुझाईका कारण पहिले संघीयताको पक्षपोषण गरेको स्वीकारेका छन् । प्रस्तुत छ रबीन्द्र मिश्रले नेता सिंहसँग गरेको अन्तवार्ताको पूर्ण अंश

  • संविधान र संघीयताका प्रखर वकालत तपाईंमा अहिले तपाईंको सोचमा त्यस्तो असोचनीय परिवर्तन कसरी आयो ?

संविधान एक तत्कालिन शक्ति सन्तुलनको एक दस्तावेज हो । राजनीतिक शक्ति सन्तुलनका लागि । त्यो राजनीतिक दस्तावेजको रुपमा पनि रहँन सकेन । किनकी राजनीतिक शक्ति सन्तुलन त्यो अनुसारले बनेन ।

दोस्रो कुरा जुन हिसावले संघीयता कोरिएको छ । त्यो हिसाबले लागु हुन सक्दैन । एक त आर्थिक रुपमा सम्भव छैन । जुन देशको गृहमन्त्रालयले चुनाव गराउँदा हजार एघार सय गाडी मागे हात जोडेर भारतसँग मागेर चुनाव गराउनुपर्ने अवस्था छ । त्यो विभिन्न प्रदेशको सुरक्षा निकाय, विभिन्न प्रदेशको मिनिष्टर, चिफ मिनिस्टरको कहाँबाट त्यो आर्थिकस्तर आउने ?

अर्को कुरा राजनीतिक रुपले पनि सम्भव छैन । तेस्रो अन्तर्राष्ट्रिय रुपले पनि किन सम्भव छैन भने भारत र चीनको नेपालप्रति असाध्यै सुरक्षा चासो छ । त्यसमा त भारतलाई पनि खुला सीमानाका कारण नेपालका सातवटा प्रदेशका चिफ मिनिष्टरसँग कुरा गर्नुपर्छ ।

किनभने ‘ल एण्ड अडर’ स्टेटको कुरा हुन्छ । केन्द्रको हुँदैन । ठ्याक्कै त्यस्तै तिब्बत बोर्डरमा अस्थिरता भयो भने चीनलाई प्रभाव पर्छपर्छ । त्यसमा जुनखालको सर्पोट पाउनुपर्ने, गुडविल हुनुपर्ने हो, त्यो अन्तर्राष्ट्रिय गुडविल पनि हुँदैन ।

चौथो कुरा तपाईंलाई बताउँछु । अहिलेको जुन पोलिटिकल इन्फा स्टक्चर संविधानले व्यवस्था गरेको छ । त्यो लागू हुन सक्दैन । त्यो भयो भने नेपालमा एको एनार्किकल हुन्छ ।

  • अहिलेको संविधानमा जुन किसिमको राजनीतिक संरचना छ, त्यो लागू भयो भनेचाँही नेपाल अराजक हुन्छ ?

किनभने यति ठूलो राजनीतिक इन्फा स्टक्चर नेपालले धान्न सक्दैन । राजनीतिक इन्फास्टक्चर पिरामिड जस्तै हुनुपर्छ । जति माथि जाँदा कम मान्छे हुनुपर्छ । कम भयो भने चुस्तदुरुस्त हुन्छ । शासन प्रशासन र विकास राम्रो हुन्छ ।

अहिले नेपालको जुन राजनीतिक इन्फा स्टक्चर छ । जुन सय जना राखेर समावेशी बनाउनुपथ्यो । त्यसकारण ६ सय नै समावेशी बनाउनुपथ्यो । तपाईंलाई बताउँछु कि बिहारको जनसंख्या १४ करोड छ । त्यहाँ ४५ जना सांसद भए पुग्छ । इभन १८ करोड जनसंख्या यूपीको छ त्यहाँ जम्मा ८० जना सांसद भए पुग्छ ।

तर, हाम्रो २.८ करोड जनसंख्या छ, वास्तविक जनसंख्या त दुई करोड मात्रै छ । दुई करोड जनसंख्यामा त हामीलाई ५० जना सांसद भए पुग्थ्यो । (दुई करोड मात्रै जनसंख्या छ भन्नुको अर्थ ५०/६० लाखभन्दा बढी युवाहरु देशबाहिर छन् । युवाहरु मलेसियामा होस्, कतारमा होस् तथा विभिन्न गल्फ कन्ट्रिमा होस् अथवा भारत र अमेरिकामा नै होस् बसेका छन् ।)

दुई करोड मात्रै जनसंख्या अहिले छ भने दुई करोड जनसंख्याका लागि अहिले हामीले टोटल हेर्यौं भने विभिन्न स्टेटको विधायकदेखि लिएर चिफ मिनिस्टदेखि लिएर, राज्यपालदेखि लिएर राष्ट्रिय सभादेखि लिएर, प्रतिनिधि सभादेखि मिलाएर हजारौंभन्दा बढी छ । त्यो इन्फा स्टक्चरले नेपालको डेभलपमेन्ट हुन दिँदैन ।

म राज्य व्यवस्थापन समितिको सदस्य छु । राज्य व्यवस्थापन समितिमा अस्ति भर्खरै बालानन्द पौडेलको कमिटीले हामीलाई ब्रिफिङ गरेको थियो । अब एउटा गाउँपालिका ७० जना कर्मचारी राख्ने कन्सेप्ट छ भने त्यो कर्मचारीको तलबभत्ता कहाँबाट आउने ? अब टु मच राजनीति भइसक्यो । अब देश विकासका लागि पनि जति कम या सानो पोलिटिकल इन्फा इस्टक्चर हुन्छ त्यति राम्रो हुन्छ ।

  • तपाईं संघीयताको, धर्म निरपेक्षताको, गणतन्त्रको एकदम कडा वकालतकर्ता यो परिवर्तनमा तपाईंको कहिले देखिने गरेर कहिले नदेखिने गरेर धेरै ठूलो संलग्नता रह्यो । त्यसमा तपाईं तराईको प्रतिनिधित्व पनि गर्नुहुन्छ । जहाँ संघीयताको लागि धेरै ठूलो आवाज उठ्यो । तपाईंले यो स्पष्ट रुपमा भनिराख्दा धेरै मान्छे त छक्क पर्लान नि ? तपाईं भित्र चाँही यो रियलाइजेसन कसरी आयो ?

हैन् । एउटा कुरा के भने म्याच्युरेटी आउँछ नि । जे काम गर्दा पनि, हामी राजनीति गछौं भने सार्वजनिक लाइफमा छौं भने जनता र राष्ट्रलाई हितमा राखेर काम गर्नुपर्छ । यदी जनता र राष्ट्र रहेमा मात्र भोली हामी राजनीति गरौंला, हामी मन्त्री, प्रधानमन्त्री बनौला अथवा राजनीति गरेर आफ्नो पार्टीको अध्यक्ष बनौला ।

अथवा विभिन्न अप्सन हुन सक्ला । तर, राष्ट्र र जनता कमजोर पारिकन कुनै पनि राजनीति सफल हुन सक्दैन् यो मेरो प्रष्ट बुझाईछ । त्यसकारणले राष्ट्र फस्ट हो, जनता फस्ट हो । आफ्नो इन्ट्रेस्ट, पार्टीको इन्ट्रेस र व्यक्तिगत इन्ट्रेस गौण हुन त्यसका लागि ।

तेस्रो कुरा म के भन्छु भने जुन हिसाबले राजनीतिक बेथिति भयो नि । जुन हिसावले राजनीतिक अस्थिरता भयो यसले के हुन्छ भने राम्रो काम गर्ने वातावरण हुन दिँदैन ।

  • अब यसको अर्थ त गणतन्त्र पनि नरहनसक्छ ?

गणतन्त्रको ठाउँमा आउने के त ? पूर्वराजाको कुनै शाख तथा जनताको कुनै सिम्पाथी, जनतामा मौन आकांक्षा छैनकी फेरि रि स्टेब्लिजन छ । जति राजनीतिक विकृतिहरुलाई हामी राजनीतिक दलका नेता, कार्यकर्ताहरु यसलाई सच्याएर अघि बढेन भने विकृतिलाई कम गरेर कमिकमजोरीलाई सच्याएन भने यो स्थिर खालको राजनीति हुन पनि गाह्रो हुन्छ । यो विकृति हो यसले फ्रस्टटेसन ल्याउँछ ।

  • यो खालको राजनीति रहनेन भने कस्तो खालको राजनीति आउने त फेरि ?

हैन्, एउटा कुरा के भने मान्छेमा फ्रस्टेसन हुन्छ । आजका दिनमा नेपाली जनतालाई फ्रस्टेसन छ । जनताको फ्रस्टेसनलाई हामीले ध्यानमा राख्नुपर्छ । जनताको चाहना के हो ? जनताको आकांक्षा विकास हो । जनतको चाहना समिृद्धि हो ।

  • तपाईंले अनौपचारिक कुरा गर्दा यस्तै अवस्था हो भने नरम तानाशाहको सम्भावनालाई पनि नकार्न सकिँदैन भन्नेखालको कुरा गरिरहनुभएको थियो । त्यो त्यति सहज होला र ?

राजनीतिक घटनाक्रममा कुनै पनि कुरालाई इन्कार गर्न सकिँदैन । राजनीतिक परिस्थितिले निर्माण गर्छ । परिस्थिति निर्माणको क्रममा कुन बेला कस्तो परिवेश चाहियो । जसरी संविधानसभाको पहिलो निर्वाचन भएपछि चारपाँच जना प्रधानमन्त्री हुनुभयो । सुरुमा गिरिजाबाबु हुनुहन्थ्यो, त्यसपछि प्रचण्ड बन्नुभयो । त्यसपछि माधव नेपाल बन्नुभयो ।

माधव पछि झलनाथ बन्नुभयो । बाबुरामसम्म आउँदा आउँदा कसैले परिकल्पना गरेका थिए, सर्वोच्चको प्रधानन्यायाधीशलाई ल्याएर चुनाव गराउनुपर्ने अवस्था बन्छ ? कसैले परिकल्पना गरेको थिएन । त्यस्तै अहिले नै त्यो परिकल्पना गर्ने बेला भएको छैन । तर, यस्तै बेतिथि रह्यो भने त्यो कुरालाई इन्कार गर्न सकिँदैन मैले अनौपचारिक रुपमा भनेकै हो । अहिले पनि म त्यसमा कायम छु ।

  • तपाईंले २०६२/६३ सालको परिवर्तनदेखि अहिलेसम्मको परिवर्तमा जसरी निकट रुपमा संलग्न हुनुभयो र आज तपाईंले अन्तवार्तामा संघीयताका बारेमा संविधानको बारेमा नरम तानाशाहका बारेमा जति कुरा गर्नुभयो । त्यसबाट अरु कयौं पनि खासगरेर तराई केन्द्रित दलका तपाईंका साथीहरु, नेताहरु नै र जनताहरु चिडिने अवस्था देख्नुभएको छैन् ?

राजनीतिमा के हुन्छ भने केही कुरा सत्य बोल्दाखेरि तत्कालिन अवस्थामा चिडिन्छ । तर, जहिलेपनि भविष्य द्रष्टाको काम गर्छ । यदी रियल पोलिटिसियन हो भने उसले भविष्य हेर्छ ।

  • तपाईं यहाँका राजनीतिक शीर्ष नेतृत्वसँग मात्रै होइन भारतसँग दिल्लीका निकायहरुसँग पनि तपाईंको निकटको सम्बन्ध छ भन्ने कुरा तपाईं आफैं पनि स्वीकार गर्नुहुन्छ र बाहिरपनि भन्ने गरिन्छ । भारतको चाँही धारणा के होला संघीयताका बारेमा तपाईंले जुन चिन्ता व्यक्त गर्नुभो । भारतको एउटा सुरक्षा चासोको लागि पनि चीनको सुरक्षा चासोका लागि पनि यो उपयुक्त छैन भनेर जुन भन्नुभयो । अहिले आएर उनीहरुको धारणा पनि परिवर्तन हुन थालेको हो ?

हैन् एउटा कुरा के भने भारत जुन तरिकाले नेपालमा घटनाक्रम बढिरहेको थियो । नेपाल भारतका लागि एउटा सरदर्द बनिरहेको थियो । अहिलेको परराष्ट्रमन्त्री सुष्मा स्वराजको नै कोट अनकोट भन्न चाहन्छु–‘आधा टाइम दिउँसो कन्ट्रिमा इन्भेष्ट गर्नुपर्छ भने एक्लै नेपाललाई १२ घण्टा इन्भेष्ट गर्नुपर्छ ।’

  • किन किन ?

किनभने यहाँको जेका लागि पनि नेता भारतसँगै आशा गर्ने । आशा पुगेन भने सबैभन्दा पहिले भारतलाई नै गाली गर्ने । फोन गरेमात्रै हुन्थ्यो दौडेर पुगिहाल्ने ।

  • अब तपाईंले अघि भनेजस्तो सात जना मुख्यमन्त्री हुँदा, एकजनासँग गर्न त यति गाह्रो भइरहेको छ सातजनासँग कसरी गर्ने भन्ने उनीहरुलाई पनि तनाव छ उसोभए ?

तनाव छ नि । भारतलाई तनावको त कारण छ नि एउटा नेपालको संविधान नै र अर्को अहिलेको राजनीतिक घटना क्रम । मैले अस्ति जिस्किएर पनि भनेको थिए यो संविधानको के लागु भएको छ भने राष्ट्रपति बन्नपायो । माओवादीले भोट हालेर राष्ट्रपति बनाइदियो । एमालेले माओवादीलाई नै भोट हालेर उपराष्ट्रपति र सभामुख बनाईदियो । त्यति मात्र लागु भएको छ मैले बुझेको अहिलेको संविधान । किनभने व्यवहारमा जनतामा संविधान आएपछि जुन उल्लास हुनुपथ्यो, जनताको समस्या समाधानतर्फ जानुपथ्र्यो, त्यो त गएननी ।

  • अन्त्यमा गएको १० वर्षमा तपाईंले जस्तो धारणा राख्दै आउनुभएको थियो । र, आजको अन्तर्वातामा मेरो धारणा, सोचाईमा, मुल्यांकनमा परिवर्तन आयो भनेर जुन जनाउ दिनुभयो । बाहिर नभन्ने तर, तपाईंकै जस्तो धारणा राख्ने थुप्रै नेताहरु भेटेको छु । एमालेमा पनि माओवादीमा पनि कांग्रेसमा पनि । तपाईंले चाँही भन्नुभयो । अब तपाईंको धारणामा आएको परिवर्तन अघि म्याच्युरिटि भन्नुभएको थियो । त्यो सोचाईमा म्याच्युरिटि आएर, अध्ययनले, तथ्यगत परिवर्तनहरु भएर आएको हो कि तपाईंमा पनि अरु कसैले लेर आएर यो धारणा गाभिदिएको हो ?

हैन् । तपाईंको पहिलो पोइन्ट सही थियो कि यो तथ्यगत यसको अध्ययनले व्यवहारिक कारणले हो । आखिर मैले राजनीति गरेको पनि १० वर्षभन्दा बढी भइसक्यो । १० वर्ष पहिले त म सांसद नै थिएँ । आजको पनि म निर्वाचित सांसद नै हो । यो जुन देखिरहेको छु कि जनताको जुन आधारभुत र देशको आधारभुत हामी जहाँ अड्क्या छौ त्यसबाट निस्कनलाई पनि यो कुरा सम्हाल्नुपर्छ । किनकी अहिलेको अवस्थामा देश समाधानतर्फ गइरहेको छैन ।

त्यसकारण जबसम्म केही मान्छे हामी त अठोट गछौं कि यसलाई नसुधारे पब्लिकमा जान्छौं । यति ठूलो इन्फास्टक्चर नेपालमा चाहिन्छ कि चाहिँदैन । हामीलाई सय जना सांसदले पुग्छ कि पुग्दैन । दुई सय ८५ नै किन चाहिन्छ ? हामी त्यो संस्कारमा छौं कि एउटा पार्टीले हाइड्रो पावर बन्न दिने अर्को पार्टीले त्यो रोकिहाल्ने । किनभने त्यो पार्टीले शेयर पाएको हुँदैन, कमिसन पाउँदैन, शेयर भन्दापनि कमिसन मैले भन्न खोजेको । त्यो साहस जबसम्म लिडरमा हुँदैन तब सम्म यो देशको स्थिति अगाडि बढ्दैन ।