श्रीखण्ड कि खुर्पाको बिड ?

ब्यासशंकर उपाध्याय
ब्यासशंकर उपाध्याय

साउनको दोश्रो साता दुई दिने नेपाल भ्रमण आएका मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपाली जनजनमा आफ्नो सकारात्मक भावना मात्र बाँडेर गएनन्, बरु अपार सहृदयता पनि पस्किन भ्याए । अति विशिष्ट व्यक्तिका लागि व्यवस्था गरिएको सुरक्षाका बीच पनि काठमाण्डौका मूल सडक छेउ उभिएर स्वागत गर्न पर्खेका सर्वसाधारणसित उनले हात्तै मिलाए । हजारौं नेपाली नरनारीले मोदीको जयजयकार गरे, हार्दिकता देखाए । सुरक्षा कार्गेटको समेत प्रवाह नगरी नेपाली जनताको स्वागत भावले आकर्षित मोदीले सबैलाई हात हल्लाउँदै स्वागत अभिवादन फर्काएर नेपाली जनमानसको मनमष्तिकमा स्थान सुरक्षित गर्न भ्याए ।
बालककाल देखि नै विछोडिएका नवलपरासीका जीतबहादुर मगरलाई पढाई लेखाइको व्यवस्था मिलाएका मोदीले नेपाल आगमनकै अवसरमा ती मगरका परिवारजनलाई भेट गराएको क्षण निकै भावनात्मक देखिन्थ्यो । विशाल मुलुक भारतका शक्तिशाली प्रधानमन्त्रीले शुक्ष्म कुराप्रति पनि कसरी ध्यान पु¥याउन भ्याएका रहेछन् भन्ने कुरालाई यो व्यवहार एक उदाहरण बन्न सक्नेछ । भारतीय सरकार प्रमुखले १७ वर्षपछि गरेको नेपालको भ्रमण थियो यो । जसरी भ्रमण लामो समयको अन्तरालपछि भयो सँगै यसले उत्तिकै गहिरो तबरले जनस्तरसम्म भिज्ने काम पनि ग¥यो ।
नेपालको इतिहासमै पहिलो पटक यहाँको संसदलाई सम्बोधन गर्ने विदेशका सरकार प्रमुख पनि मोदी नै बन्न पुगे । सुरुमा नेपाली भाषाबाट सम्बोधन सुरु गरेका उनले पछि हिन्दीमै आफ्ना अभिव्यक्ति राखे । मोदीले नेपालको व्यवस्थापिका संसदलाई सम्बोधनका क्रममा गौतमबुद्धको देश भएका नाताले नेपालको गौरब विश्वस्तरमै बढेको कुरा मात्र बताएनन् बरु बुद्धलाई भारतमा जन्मेको भनी भ्रम सिर्जना गर्न चाहनेहरुका लागि पनि सदाका लागि उनीहरुको भ्रमणको निवारण समेत गरिदिए । प्रायः बाक्यौपिच्छे तालिको गडगडाहटले स्वागत पाएका मित्रराष्ट्रका सरकार प्रमुख मोदीले बुद्धको भुमिमा युद्ध त्यागेर शान्ति प्रकृया मार्फत राजनीतिको मूलधारमा समाहित माओवादीहरुको परोक्षरुपले प्रशंसा गर्न समेत चुकेनन् ।
संविधान सभाको निर्वाचन सम्पन्न भएर लोकतान्त्रिक संविधान निर्माणको क्रममा रहेका नेपालका सभासद् तथा दलहरुलाई सबैको भावना समेटिएको संविधान बन्न सके यस मुलुकले विश्वकै सामु अपूर्व उदाहरण प्रंस्तुत गर्ने छ भन्ने आशयको उनको अभिव्यक्तिलाई प्रेरणादायी रुपमा ग्रहण गरिनु पर्दछ । नेपालीको भावनालाई मोदीका वाणीले हुबहु रुपमा प्रस्तुत गरेको हो । उनले नयाँ बन्ने संविधानलाई सबै फूलको सुगन्ध समेटिएको सुन्दर गमलाको रुप दिन प्रतिकात्मक रुपले गरेको आग्रहमै नेपालीहरुको भावना समेटिएको मान्नुमा कुनै द्विविधा नरहला । नेपाल र भारतको सम्बन्ध राजनीतिक रुपले मात्रै होइन भौगोलिक, साँस्कृतिक र ऐतिहासिक रुपले समेत घनिष्ट छ । एक मुलुकको ठण्डी वा गर्मीले अर्को प्रत्यक्ष प्रभावित हुने उदाहरणका साथ मोदीले नेपाली जनताको हित हुने कुरा नै भारतका लागि समेत हितकर रहने तथ्यपूर्ण भनाई दोहो¥याएका छन् । प्रधानमन्त्रीका रुपमा सपथग्रहण गर्दा नै सार्थक मुलुकका सरकार वा राष्ट्र प्रमुखहरुलाई विशिष्ट आतिथ्य प्रदान गर्दै नयाँ परम्पराको सुरुवात गरेका उनले ‘विहानीले दिनको संकेत गर्छ’ भन्ने कथनलाई सावित गर्न खोजेको मान्न सकिन्छ । नेपालमा रहेको अपार जनश्रोत, पर्यटकी सम्भाव्यता, प्राकृतिक श्रोतको दोहान लगायतको विकासीय कामका लागि भारतीय भुमिका सहयोगी रहने मोदीको प्रतिबद्धतालाई नेपालको सरकार तथा राजनीतिक दलहरुले राष्ट्रहितलाई ध्यानमा राखी फाइदा लिनेतर्फ अग्रसर हुनु जरुरी छ । भारतीय विशिष्ट पाहुनाले नेपालको उन्नतीका लागि हाइड्रो पावर, इन्फर्मेशन र ट्रान्समिसन (हिट) को सुत्र समेत अघि सारेका छन् । विश्व नै विकासको पथमा फड्को मार्ने क्रममा रहेको वर्तमान अवस्थामा नेपालले पनि यस सूत्रको भरपुर प्रयोग गर्न सके त्यसले तात्वरित आर्थिक विकासको लक्ष्य प्राप्तिमा टेवा पुग्न सक्छ ।
अन्त्यमा, मोदीले नेपाल भ्रमणको क्रममा विगतका भारतीय सरकार प्रमुखको तुलनामा निकै नबीन र उत्साहपूर्ण विचार प्रस्तुत गरी फर्केका छन् । उनको व्यक्त विचारबाट सकारात्मक कुरालाई बढी भन्दा बढी कसरी ग्रहण गर्न सकिन्छ भन्नेतिर सम्बद्ध सबैको ध्यानाकर्षण जरुरी छ । राम्रा कुराबाट राम्रै प्रतिफल लिन सक्नुपर्छ । नत्र ‘बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड’ चरितार्थ नहोला भन्न सकिन्न ।