शुरु भयो सप्तरीमा अपहरणको श्रृंखला, अपहरित महतोको अवस्था अझै अज्ञात

अपरिहत गुरुदयाल महतो
अपरिहत गुरुदयाल महतो

१५ दिन अगाडी सप्तरीको कडरबोना स्थित अमाहा चौकबाट अपहणमा परेका सिरहाको लहान नगरपालिका–३ बस्ने ३५ वर्षीय गुरुदयाल महतोको अवस्था अझै पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । जग्गा सम्बन्धी विवादमा उनको अपहरण गरेको हुन सक्ने श्रोतले दावी गरिरहेका छन् । एक जना सर्वसाधारणको गहुँ समातेर चर्चामा आउन चाहेका सप्तरीका प्रहरी प्रमुख दानसिंह बोहराको सप्तरी आगमन पछि यो पहिलो अपहरणको श्रृंखला भएको हो ।

सप्तरीका एसपी दानसिंह बोहरा
सप्तरीका एसपी दानसिंह बोहरा

महतोलाई सप्तरीको अमहा नजिकको पुलबाट गत कार्तिक २९ गते चार–पाँच जनाको समुहमा आएका अज्ञात समुहले ईटहरी जानु भन्दै अपहरण गरेको परिवारजनले बताएका छन् । आफ्नो निजी गाडी भाडा लगाउने र गाडी समेत आफै चलाउने महतो शनिवार लहानबाट गाडीमा मान्छे लिएर इटहरी गएको र इटहरीबाट फेरी मान्छे लिएर फर्किने क्रममा राति ९ बजेबाट सम्पर्क विहीन भएको उनको दाजु शिवदयाल महतोले बताए । उनले गाडी बिच सडकमा रहेको अवस्थामा अर्को गाडी चालकले गाडी नम्बर देखेर चालकलाई सम्पर्क गर्न खोजेको र नभेटेपछि घरमा खवर गर्दा आफूले प्रहरीलाई खवर गरेको सुनाए ।

महतो अपहरणको विषय सप्तरी प्रहरीको लागि टाउको दुखाई विषय बन्न पुगेको छ । सप्तरीका प्रहरी प्रबक्ता डिएसपी केदार ढकालको नेतृत्वमा टोली खटिएका छन् भने पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका डिआईजी नवराज सिलवालको निर्देशनमा समेत क्षेत्रको टोली परिचालन भएको छ भने सिरहा प्रहरी पनि तदारुकताका साथ अपहरण मुक्त अभियानमा लागेको छ ।

सप्तरी जागरण अनलाइनलाई सप्तरीका प्रहरी प्रमुख एसपी बोहराले अनुसंधान भईरहेकोले छिटै नै अपराधी पक्राउ गर्ने बताउँदै सिरहा र सप्तरीका प्रहरी अपहरणकारीलाई खोज्नमा सक्रिय रहेको बताएको छ ।

यसैगरी सगमाथा अंचलका प्रहरी प्रमुख रमेश भट्टराईले महतोलाई मुक्त गर्न हामीले कुनै कसर बाँकी नराखेको बताउँदै अनुसंधान बारे तत्काल केही बताउन चाहनु भएन ।

ssp१४ महिना अघिसम्म शान्त रहेको सप्तरीमा पुनः अपहरण शुरु हुन थालेपछि जिल्लाबासीहरु भयभित हुन थालेको छ । अपहरणकारी र अपहरित दुवैको पत्ता नलगाएका कारण जिल्लाबासीमा त्रास बढेको हो । अपहरणसँगै तस्किरीका घटनामा पनि वृद्धि हुन थालेको छ । रुपनीबाट काठ तस्करी हुनु, लहान हुँदै रुपनीमा रहेको खैनी फ्याक्ट्रीमा अवैध सुर्तीजन्य पदार्थ भित्राइनु र सप्तरीको सकरपुरामा रहेको दुईवटा खैनी उद्योगले तस्करीको नियतले प्रष्ट पारेको शंका गर्ने अवस्था उत्पन्न भएको छ ।

सप्तरीको विभिन्न नाकाबाट ठूलो मात्रामा भन्सार छलेर साइकल, ठेला गाडी र मोटरसाइकलबाट सुपारी, लत्ता कपडा, खाद्यान्न र इलेक्ट्रीक समानहरु निर्वाध रुपमा सिमा वारपार भईरहेकोले प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा भएको छ ?

दाजु शिवदयाल महतोले भाईको जीवन रक्षाको लागि पहल गरिदिनुहुन संचारकर्मी र अधिकारकर्मीलाई आग्रह गरेका छन् ।