वीरगञ्जमा कर्फ्यू, दर्जनौं घाइते, सेना परिचालन

birjung1सुरक्षाकर्मी र प्रदर्शनकारीको झडपले स्थिति असामान्य बनेपछि स्थानीय प्रशासनले पर्सा वीरगञ्जमा कफ्र्यु लगाएको छ ।

स्थिति तनावपूर्ण बनेपछि चार बजेबाट कर्फ्यू जारी गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। प्रहरीले ४ बजेदेखि सर्वसाधारणलाई घरभित्र बस्न र बाहिर ननिस्कन माइकिङ गरिरहेको छ। जिल्लाका तीनवटै सुरक्षा अंगका प्रमुख सहित जिल्ला सुरक्षा समितिको बैठक वीरगञ्जमा जारी छ।

अपरान्ह चार बजेदेखि लगाइएको कफ्र्यू अर्को सूचना नआएसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच नगवाचोकमा झडप हुँदा सात प्रर्दशनकारी घाइते भएका थिए ।

प्रहरीले सुरक्षा दिएर सवारी साधन पास गराउन खोज्दा आन्दोलनकारीले बाटो अवरुद्ध गर्दै प्रहरी चौकीमा ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै रवरको गोली प्रहार गरेको थियो ।

रबरको गोली लागी दश वर्षीय बालकद्वय इरफान अन्सारी र मुन्ना यादवसहित घाइते भएका छन् । अन्सारीको टाउको र यादवको खुट्टा र निधारमा रवरको गोली लागेको छ । यसैगरी, झडपका क्रममा पर्साका जितेन्द्र पटेल, राजेमान सिंह, रञ्जित यादव, मोहम्मद सर्खुद्धिन मिया, परमेश्वर साह ,  मनोज यादव, अनवर अवारी, मनोज महतो लगायत १२ जना घाइते भएका छन्।  प्रदर्शनकारीले घन्टाघरमा रहेको दुरसंचार कार्यलय तोडफोड पनि गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि सेना परिचालन गरेको छ ।