(विशेष सम्पादकीय) तिलाठी र कुनौलीको विवाद : खोक्रो राष्ट्रबादको नारा !

???????????????????????????????सप्तरीको सीमावर्ती तिलाठी-कुनौली क्षेत्र केही यता तनाबमय बनेको छ  । नेपाली क्षेत्रबाट बगेर भारतीय क्षेत्रमा पस्ने बर्षाकालीन नदीको वहावलाई कुनौली तिरका मानिसहरूले बाँध बनाउदा रोक्न खोजेपछि तनाव भएको हो ।

दशगजा क्षेत्रमा नेपाली सीमापारीका भारतीयहरुले बनाउन लागेको बाँध नेपाल तिरका जनताले भत्काउन खोजेपछि झडप भयो । दुबै तिरका केही मानिसहरू घाइते भए । घाईते नेपालीहरूको तस्वीर बीर योद्धाको रूपमा नेपालका पत्रपत्रिका, संचार माध्यमहरूमा प्रस्तुत गरिदै छ  । भर्खरै नेपाली राजनीतिमा छाएको स्वाभिमानको मुद्दालाई यस घटनाले निकै हौस्याएको छ । तिलाठी तिरका जनताले भारतीय अतिक्रमणका खिलाफमा सीमा रक्षकका रूपमा लडाई लडे, यही सूरतालमा यस घटनाको चित्रण एवं चर्चा आउने समयमा भैरहने छ । अहिले यस बिषयलाई माध्यम बनाएर राजधानी काठमांडूको सडकमा भारतका बिरोधमा कार्यक्रमहरू हुन शुरू भैसकोको छ । वास्तवमा यी सब सतही कुरा हुन् ।

तिलाठीको घटना भारतीय अतिक्रमण होईन । न त तिलाठीका जनता भारतसंग लडेकै हुन् । यस बारे जे जस्तो बहस गरिएपनि यथार्थमा यो दुबै तिरका जनताका जनजीविकाका सवाल मात्र हुन् । यस्तो समस्या दशकौ देखि सीमावर्ती दुबै तिरका जनताले भोग्दै आएका छन् । यस समस्याले गर्दा तिलाठी र कुनौलीका जनताका बीच झडप भएकै हो । तर,  काठमांडूको बजारमा जसरी चित्रण गरिएको छ, त्यो नेपालीहरुको हितमा छैन ।

समस्या भने अर्कै हो । यदि समस्याको पहिचान गरिएन र यसलाई फगत अनुत्पादक राष्ट्रिय स्वाभिमानको लडाईसंग जोडेर शो-पिसको रूपमा राखियो भने आउने बर्षहरूमा पनि यही रूपमा यसको पुनरावृति भै नै रहन्छ । कुनै दिन काठमांडूको सत्ताले भारतलाई महान मित्रवत् छिमेकी देखेको बर्षातमा पनि तिलाठी र कुनौलीका बीच यस प्रकारको द्वन्द भै नै रहने छ ।

यस टिप्पणीसंग बि.स. २०६४, साउन २७ गते प्रकाशित कांतिपुरको सह प्रकाशन “नेपाल साप्ताहिक” को एक रिपोर्टमा तराईको बाढीको विपत्ती वारे विस्तृत चर्चा गरिएको छ । अहिलेको बाढीमा जसरी नेपालगंजको होलिया क्षेत्र, चितौन-नवलपरासीको सुस्ता क्षेत्र, महोत्तरीको जलेस्वर क्षेत्र र सप्तरीको तिलाठी-सकरापुरा क्षेत्रको चर्चा भै रहेको छ, ठिक यसै किसिमले त्यस बेलापनि पनि यिनै क्षेत्रहरूमा आएको बाढी र त्यहांका बासिन्दाहरूले भोग्नु परेको विभिषिकाको चर्चा गरिएको छ ।

???????????????????????????????सप्तरीमा  एउटा रमाईलो प्रसंगको चर्चा हुने गरेको छ । खाडो नदीले हरेक बर्ष नै सप्तरीको तिलाठी लगायतका दक्षिणी क्षेत्रहरूलाई डुवानमा पार्ने गर्छ । खाडोको बौलाहा हुने पानीको भेल तोपा, महदेवा, इनरूवा, सखुवा,रामपुर मलहनिया  हुदै तिलाठीलाई डुबानमा पार्दै कुनौली तिर बग्दछ । यो आजको कुरो मात्र हैन, दशकौं देखि यस्तै हुदै आएको छ । नेपालबाट यसरी बगी आउने पानीको प्रलयकारी प्रवाहबाट जोगिन भारतपट्टीको कुनौलीका मानिसहरू सदैव बच्ने उपाय खोज्दै आएका छन । यसरी कुनौलीबासीहरूले प्रायस: हरेक बर्ष नै दशगज्जामा बाँध बनाउने गर्दछन । अब यसबाट जोगिन नेपालपट्टीका तिलाठी लगायत क्षेत्रका मानिसहरूको मुख्य काम हुने गर्दछ । अब यो बाँध न भत्काएमा पानीको स्वभाविक निकास कसरी हुने त ?

यसका लागि नेपालको तर्फबाट सप्तरीको  सप्तरीका प्रमुख जिल्ला अधिकारी  कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धारको एउटा सानो रकमको बजेट हुन्थ्यो । कहिलेकाँही यसमा जिबिसले पनि केही रकम थप्ने गर्दथ्यो । ठूलो बर्षा भएको बेला, बाढीले उत्पात गर्न लाग्दा, खाडो र महुली आदिको पानीले तिलाठी, रमपुरा-मल्हनीया, ईनरुवा-सखुवा, वेलही-तिलाठी आदि गाँउहरूलाई डुवानमा पार्न लाग्दा सप्तरीका सिडीओ ले तिलाठी तिरका मानिसहरूलाई बोलाएर त्यो बजेटको केही रकम दिन्थ्यो-रक्सी मासु खान र कुनौलीको त्यो बाँध कटान गर्नका लागि । यो पैसा र रकम लिन हुलका हुल मानिसहरू आउथें । रकम लिन्थे, राती भोज भतेर गर्थे र ठूलो बाढी आएको मौकापारी राती राती हुलका हुलमा गई कुनौलीबालाले दिनरात गरी बनाएको बाँधलाई भत्काई दिन्थे । हरेक बर्ष नै यस कामको सिलसिलामा दुबै तिरका मानिसहरूका बीच हात हालाहाल हुन्थ्यो । झैझगडा हुन्थ्यो । बाढीको पानी बगेर जान्थ्यो । स्थिति यतिकै साम्य हुन्थ्यो । त्यहां राष्ट्रिय स्वाभिमानको कुरो, भारतीय अतिक्रमणको कुरो कहिल्यै उठ्दैन्थ्यो । हाल तिलाठीका देवनारायण यादवको बडो चर्चा छ । यस पटकको झडपमा यिनी घाईते भए । पत्रपत्रिका र सामाजिक संजालमा यिनको रगताम्य तस्वीर भाइरल भएको छ । यिनी नेपाली कांग्रेसका तर्फबाट उ बेला सप्तरी जिबिसका सदस्य थिए । यिनीहरूपनि माथी चर्चा गरिएको बाँध भत्काउने काममा सरिक हुन्थे । यस पटक पनि यो समस्या जनजीविकाको समस्या नै हुन भन्ठानेर सरिक भएका हुन । अहिले भने यिनी नेपाल मुलुकप्रति मधेसी राष्ट्रवादीताको प्रतीक भएका छन् । यद्यपि यो एक संयोग मात्र हुन ।

 तिलाठीको घटनालाई समस्याको चूरोको रुपमा हेरिनु पर्दछ । समस्याको चुरा हो: चुरे भूस्वख:लनबाट उत्पन्न प्रतिकूलता:- चुरेमा भैरहेको निरन्तरको भूस्वख:लनबाट तराईका नदीहरूको सतह माथी अग्लिएको हुदां जल प्रवाहको दिशा परिवर्तित भएको छ ।  चुरे र महाभारतबाट निस्कने खाडो, त्रियुगा,महुली र सुन्दरी नदी अर्ध चन्द्रकारमा पूर्व तिर फर्कदै कोशीमा प्रवेश गर्ने गरेको हो । यी नदीहरू कोशी ब्यारेजको पश्चिमी तटबन्धलाई छेडेर कोशीमा पस्ने गरेको हो । यसलाई बाटो दिनका लागि उक्त बाँधमा ढोका बेगरको पुल र केही सुलेज गेटहरू बनाईएको थियो । अहिले कोशी छिर्नु अघि  नै यी सबै नदीको प्रवाह रोकिएको छ । यसरी नै कोशी नदीले सुनसरी  तर्फ अर्थात पूर्वी छेउबाट बाटो बनाएकोले पश्चिमी भाग बालुवा थुप्रेर अग्लो भएको छ । यस्तो अवस्थामा यी सबैको पानी सोझै दक्षिण तर्फ बाटो बनाई वैरवा, पोर्ताहा, भारदह, सखुवा, हनुमाननगर, ईनरूवा र अर्को तर्फ राजबिराज, पकरी, तोपा, बभंगामा कट्टी, बर्साइन, कोईलाडीहरू हुदै तिलाठी भई कुनौली तर्फ निकास खोज्छ । नदीले यो बाटो खोज्छ खोज्छ ।

 यसबाट निकासको एक दायित्ववान पक्ष भारत सरकार हो । कोशी योजना र कोशी सम्झौता अनुसार उक्त नदीहरूको निर्बिघ्न प्रवाहको हेरचार र सम्भार गर्ने दायित्व भारत सरकारको हो । उसले बर्षौ देखि यो काम गरेको छैन । अर्को दायित्ववान पक्ष नेपाल सरकार हो । यिनले आवधिक रूपमा हुने भनिएको कोशी कोर्डिनेशन कमिटीको बैठकमा यस एजेण्डालाई राख्नु पर्दछ तर कहिल्यै राख्दैन । अहिलेको जस्तो अवस्था नआओस भनी सचेतता राख्ने महत्वपूर्ण जिम्मेवारी स्थानीय निकायहरूको हो । जनताको हो । यस तर्फबाट जिम्मेवारीको निर्वाह भएको छैन । ???????????????????????????????

यी कुराहरू गंभीर बिषय हुन्  । यसर्थ, यी बिषयहरूमा ध्यान नदिएमा निश्चित रुपमा फेरी २०७४ सालको बर्षामा पनि यही अवस्थाको पुनरावृति हुन्छ, जुन २०६४ साल र त्यस पछि हुदै आएको हो । तिलाठी र कुनौलीको झगडा जनजीविकाको झगडा हो । न त राष्ट्रिय स्वाभिमानको न त भारतीय अतिक्रमण बिरूद्धको संघर्ष नै हो । तर, यो विवाद भारत सरकार र नेपाल सरकारका बीच हुनुपर्ने हो  । अन्यथा यसको समाधान हुन सक्दैन । भारत सरकारले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्नै पर्दछ र नेपाल सरकारले आफ्ना देशको हितका खातिर भारतसंग कुटनैतिक माध्यमबाट पहल गर्नै पर्दछ ।यी काम नगरेर कुनौली र तिलाठीमा राष्ट्रिय स्वाभिमानको जीत खोज्नु र भारतीय अतिक्रमणको खिलाफमा प्रतिरोध देख्नु मुर्खहरूको मुर्खता बाहेक अरू केही हुदैन ।