‘विमान अपहरणकारी पक्राउ’

160329123551_egypt_air_escape_640x360_ap_nocreditसाईप्रसको लार्नाका विमानस्थलमा अवतरण गर्न बाध्य पारिएको ईजिप्टएअरको एउटा विमान अपहरण प्रकरणको अन्त्य भएको छ। बन्धक बनाइएका यात्रुहरु सकुशल मुक्त भएका छन् भने अपहरणकारीलाई तनावपूर्ण अवस्थापछि गिरफ्तार गरिएको छ।

ति अपहरणकारी आफ्नो हात हावामा उठाएर विमानबाट बाहिर निस्केका थिए र धावनमार्ग भएर अघि बढी आतंकवाद विरोधी सुरक्षासैन्य समक्ष आत्मसमर्पण गरेका थिए। अपहरणमा परेको ईजिप्टएअर फ्लाईट एमएस १८१ नामको सो विमान अलेक्जाण्ड्रीयाबाट काएरो शहर तर्फको उडानमा थियो।

सो विमानलाई एकजना यात्रुले आफूले विस्फोटक पदार्थ सहितको आत्मघाती पेटी बाँधेको भन्ने दावी गर्दै नियन्त्रणमा लिएका थिए। साईप्रसको विदेश मन्त्रालयले सामाजिक संजालको वेबसाइट ट्विटरमा भनेको छ, “यो प्रकरण सकियो। अपहरणकारीलाई गिरफ्तार गरिएको छ।”

विमान अपहरण गर्नका पछाडि अपहरणकारीको उद्देश्य के थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

केही विवरणहरुमा अपहरणकारीले साईप्रसमा रहेकी आफ्नी अलग्ग‌िएकी पत्नीसंग कुरा गर्न चाहेको बताइएको छ।केही अरुले भने उनको उद्देश्य ईजिप्टमा रहेका महिला कैदीबन्दीको रिहाई गर्नु भएको बताएका छन्। मंगलबार बिहान साइप्रसको लार्नाकमा अवतरण भएदेखि उक्त विमानलाई केहि घण्टासम्म प्रहरीले घेरिराखेका थिए।बीबीसी