लाखौंको सामान बरामद

1936204_998144333554621_2957081932142688651_nभन्सार छली तस्करहरुले चोर बाटो भएर नेपाल ल्याउदै गरेको लाखौंको कपडा विहिवार राति गौर चन्द्र्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको शिवनगर नजिकबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

सिमापारी भारतीय बजारबाट मालसामानको अबैध कारोवार संचालन गर्दै आएका स्थानीय कोपवा पिपरिया गाविसका मोतिम मिया र गौरका संजय यादवले बंकुल नाका भएर ल्याएको कपडाको पोकाले भरिएको भारतीय नम्वरको पिकअप बोलेरो जिपलाई गए राति नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

विआर०५जी७३११ नम्वरको भारतीय पिकअप बोलेरोमा तस्करी गरेर गरुडा तर्फ लैजाने क्रममा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जयसवारको कमाण्डमा खटिएको गस्ती टोलीले बिहिवार राति ९ बजे शिवनगर चोक झाझ पुलको बिच भागमा जिपलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देखे पछि तस्करहरु गाडी छोडेर फरार भएको प्रहरीले बताएको छ ।

उक्त जिपमा साना ठूलो गरी १५ पोकामा साडी, कुर्तासुरुवाल, महिला एवं पुरुषहरु लगाउने कटु गंजी, सर्टपाइन्ट सहितको कपडा रहेको जानकारी दिदै प्रहरी निरीक्षक जयसवारले बरामद भएका कपडाको बजार मूल्य करिव १० लाख रहेको तथा भारतीय जिपको मूल्य करिव ८ लाख गरी १८ लाख मूल्य रहेको बताए ।

बरामद भएको उक्त मालसमान सहितको भारतीय जिपलाई आवश्यक कारवाहीका लागि मध्यमाञ्चल क्षेत्रिय राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक जयसवारले जानकारी दिए ।