राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव र ११ औ समूहको दीक्षान्त समारोह

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्री
राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता जति शारीरिक र मानसिकरुपले सङ्गठित, सवल र सक्रिय रहन्छन् त्यसैअनुरुप देशले विकास र समृद्धिमा सार्थकता पाउने बताएका छन ।

राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११औ समूहको दीक्षान्त कवाज समारोहलाई बुधबार सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले युवाको मनोविज्ञान, क्षमता अभिवृद्धिमा सेवा दलले पु¥याएको योगदानको प्रसङ्सा गर्नुभयो ।

सक्षम, कर्मठ, दक्ष, निष्ठावान सक्रिय र सङ्कल्पको भावनाले अभिप्रेरित अनुशासित युवा शक्तिबाट मात्रै राष्ट्र निर्माण सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सेवाको भावना, एकता, समर्पणको अभिव्यक्ति र अत्यन्त अनुशासित ढङ्गबाट सेवा दलका छात्रछात्राबाट प्रस्तुत मनोभावनाले सबैको मन जित्न सक्नुपर्नेमा जोड दिनुभयो । काम, व्यवहार, बचन, सेवा, इमान, अनुशासन र देशभक्तिका दृष्टिले उदाहरणीय पात्रका रुपमा काम गर्न छात्रछात्रालाई निर्देशन पनि उहाले दिनुभयो ।

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षत्रीले युवालाई अनुशासित, मर्या्दित, संस्कारयुक्त, नेतृत्वदायी, एकताबद्ध, बफादार र देशभक्त तुल्याउने अभियानलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।

यस आर्थिक बर्षमा ३७ जिल्लाबाट दुई हजार छात्रछात्रालाई तालिम प्रदान गरिने लक्ष्य रहेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले खास गरी माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रछात्रालाई लक्ष्य गरेर उक्त तालिम सञ्चालन गर्दै आएको छ । आजको समारोहमा ३७७ जना छात्रछात्राले दीक्षान्त हासिल गरेका छन ।