राष्ट्रपति र प्रधानमन्त्रीद्धारा अधिकारको सदुपयोग गर्न आग्रह

Bidhaya-bhandari-&-sher-bahadur-Deuba-photoराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गरेकी छिन । पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबार दिएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुङ्गा सावित हुने उल्लेख गरेकी हुन। राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन ।

भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । उनले निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन पनि आह्वान गरेकी छन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रूपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार विज्ञप्तिमार्फत मङ्सिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गरेका हुन । प्रधानमन्त्रीले सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रूपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सबैमा अनुरोध गरेका छन् ।

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले ०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनले देशमा राजनीतिक स्थायीत्व आउने राष्ट्रपतिको विश्वास छ ।

सन्देशमा लेखिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’

यसैबीच रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताएका छन् । निर्वाचनका लागि सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उल्लेख गर्दै उनले उहाँले ढुक्क भएर मतदान गर्न मतदातालाई आब्हान गरेका छन् ।