राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल : प्रधानमन्त्री दाहाल

p.mukharjiप्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको बताएका छन् । गएराति नेपाल टेलिभिजनको कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगमा बोल्दै प्रधानमन्त्री दाहालले मुखर्जीको भ्रमणले सकारात्मक सन्देश दिएको र चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सहज बाताबरण सिर्जना गरेको बताएका हुन् ।

चिनियाँ राष्ट्रपति बिशेष तयारीका साथ नेपाल आउने प्रधानमन्त्री दाहालको दाबी छ । संविधान संसोधनका बिषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्रीले संशोधन प्रक्रिया अब चाँडै अघि बढ्ने बताए ।संसदमा अख्तियार प्रमुख लोकमानसिंह काकीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव संविधान र नियमावलीले व्यवस्था गरेबमोजिम अघि बढ्ने र टुंगिने पनि दाहालले जानकारी दिए । अख्तियारलाई अझ प्रभावकारी, पारदर्शी र निष्पक्ष बनाउन सरकार लागि परेको  दाहालको भनाइ छ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।
तीन दिनको बसाइमा यहाँका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपतिसहित प्रायः सबै दलका नेता र पूर्व प्रधानमन्त्रीसँग भेटेर उनले शुद्ध राजनीतिक कुराकानी गरे । भेटघाटमा कार्यकारीकै शैलीमा उनले राजनीतिक चासो राख्न र सुझाव दिन पनि भ्याए । संविधानसभामार्फत नयाँ संविधान जारी गर्न सकेकोमा बधाई त दिए तर भारत सरकारको पुरानो अडान दोहो¥याउन भुलेनन्, ‘सबैलाई समेटेर संविधान कार्यन्वयनमा अघि बढ्नुस् ।’

नयाँ संविधान जारी (२०७२ असोज ३) गरेयता नेपाल–भारत सम्बन्धमा बढेको तिक्तता नाकाबन्दी हुँदै अहिले राष्ट्रपतिको भ्रमणसम्म आइपुगेको छ । यसबीच नेपालका दुई प्रधानमन्त्रीले तीनपटक भारत भ्रमण गरे भने दुई परराष्ट्र मन्त्रीले नौपटक । नेपालको संविधानको विषयमा भारतको अडान भने जहाँको त्यहीँ छ ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाएपछि बिग्रेको नेपाल–भारत सम्बन्ध मुखर्जीको भ्रमणपछि पुरानै अवस्थामा फर्किने अनुमान धेरैको थियो । तर नेपाल–भारत कुटनीतिक गाडीमा सवार गर्नेको संख्या बढे पनि सम्बन्धमा सुधार भने त्यही गतिमा हुन सकेको छैन, किन त ?

‘भारतले रुप मात्र परिवर्तन ग¥यो, नेपाललाई हेर्ने दृष्टिकोण तथा नीति पुरानै कायम राख्यो । आफूले गरेको गल्ती भारतले आन्तरिक रुपमा सच्याउन नमान्दा नेपाल–भारत सम्बन्ध पुरानो अवस्थामा फर्कन सकेको छैन,’ नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘भारतले नाकाबन्दी हटाएर रूप त फे¥यो, तर नेपालको संविधानप्रतिको आफ्नो अडान छाडेको छैन ।’