राजविराज औद्योगिक क्षेत्रमा हटलाइन सेवा

प्राधिकरण प्रमुख यादव र उद्योग संघका अध्यक्ष प्रधान संयुक्त रुपमा हटलाइन सेवाको उद्घाटन गर्दै ।
प्राधिकरण प्रमुख यादव र उद्योग संघका अध्यक्ष प्रधान संयुक्त रुपमा हटलाइन सेवाको उद्घाटन गर्दै ।

सप्तरीको बसबिट्टी गाविस स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापना भएको २७ वर्ष पछि हटलाइन विद्युत सेवा बुधबारबाट संचालनमा आएको छ औद्योगिक क्षेत्र विशेष कार्यक्रमको आयोजना गरी विद्युत सेवाको विधिवत संचालन गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज शाखा प्रमुख शम्भु कुसियैत यादव र उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान तथा उद्योगका निमित्त प्रमुख मो. बसिर हुसेनले संयुक्त रुपमा हटलाइन सेवाको शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै प्राधिकरण प्रमुख यादवले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी चौकबाट ७ किलोमिटर भित्र सिधा जडान गरिएको ईन्डष्ट्रियल फिडर मार्फत औद्योगिक क्षेत्रमा विद्युत सेवाको व्यवस्था गरिएको जानकारी दिए । ८÷८ घण्टाको सिफ्टका दरले दुई सिफट गरी दैनिक १६ घण्टा विद्युत रहने गरी हटलाइन सेवाको संचालन हुने उनको भनाई छ ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर मुजेलियाको सहयोगमा नेपाल सरकारबाट प्राप्त कुल ५६ लाख रुपैयाँको लगानीमा जडान गरिएको फिडर मार्फत उद्योगलाई आवश्यक विद्युतको आपुर्ति हुने र उद्योग धन्दा फस्टाउने कुरामा आफू विश्वस्त रहेको यादवले बताए । ११ हजार भोल्ट विद्युत लाईन संचालनको तयारी गरिए पनि त्यसका लागि आवश्यक एचटि मिटर आईपुग्न अझै १०÷१२ दिन लाग्ने भएकोले हाललाई पुरानै मिटर मार्फत ४ सय ४० भोल्टको विद्युत आपुर्तिको व्यवस्था मिलाइएको उनको भनाई छ ।
औद्योगिक क्षेत्रको करिब ५ लाखको लगानी लाग्ने उक्त मिटर आउनासाथ ११ हजार भोल्टको विद्युत संचालनमा ल्याईने प्रतिबद्धता समेत जनाएका यादवले विद्युतको नियमित आपुर्तिपछि ठूला उद्योगहरु संचालनमा आए रोजगारीको श्रृजना हुने र जिल्लाको विकास निर्माणमा समेत नयाँ आयाम थपिने विश्वास गरे ।
यसैगरी उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले सप्तरी स्थित औद्योगिक क्षेत्र संचालनका लागि सबै पक्षको पहलमा विद्युत आपुर्तिको व्यवस्था मिलेको बताउँदै, सुरक्षा र अन्य समस्याका विषयमा समेत समाधानको पहल कदमी आवश्य रहेको बताएका छन् । त्यसपश्चात ठुला घरानाका उद्योगीहरुलाई उद्योग स्थापनाका लागि आकर्षित गर्ने कार्यक्रम संचालन गर्न वाणिज्य संघले पहल गरिरहेको बताएका छन् ।
सो कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, पत्रकार महासंघका केन्द्रिय पारर्शद श्याम सुन्दर यादव, पत्रकार मनोहर पोखरेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
भारत सरकारको कुल १० करोड भारतीय रुपैयाँ सहयोगमा २०४४ सालमा निर्माण भएको ओद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । तत्कालिन नेकपा माओवादीको जनयुद्ध र मधेशकेन्द्रित भुमिगत संगठनको त्रासका कारण उद्योगीहरु पलायन भएपछि पुनः स्थापित हुने नसकेको औद्योगिक क्षेत्र पछिल्लो समय विद्युत अभावमा उद्योग विहिन बन्दै आएको थियो । हाल औद्योगिक क्षेत्रमा साना १० वटा उद्योग संचालनमा रहेका छन् ।