‘राजनीतिक विकृतिको देन हो जातियता’

gajendra-narayan-singh-photoसप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा चुनाव जित्ने सुर्यनारायण मण्डल नयाँ शक्ति पार्टीको टिकटवाट स्थानिय चुनाव जित्ने सम्भवतः तराई-मधेशकै पहिला व्यक्ति हुन् । आफ्नो चुनाव चिन्ह समेत नरहेको नितान्त नयाँ पार्टीले सप्तरी जस्तो तराई-मधेशका जिल्लामा यसरी स्थानिय तहको प्रमुख पदमै निर्वाचित भएपछि कतिपय राजनीतिक जानकारहरु चकित समेत भएका थिए ।

छिन्नमस्तामा मण्डलको जितलाई पार्टी, संगठन र सिद्धान्त भन्दा पनि जातिय भोटको ध्रुविकरणका रुपमा स्थानिय जानकारहरु व्याख्या गर्ने गर्छन । प्रसिद्ध छिन्नमस्ता शक्ति पिठकै नामले नामांकित यस गाउँपालिकामा शुरुदेखिनै यादव र गैर यादव मतदाताहरु विच चुनावी प्रतिस्प्रर्धा हुने गरेको इतिहास नै छ ।

‘कुरुर’को नामले चिनिने नव निर्वाचित गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल दशकौ देखि यस भेगमा गैर यादव समुदायका नेताका रुपमा स्थापित रहेका छन् । ‘पुरानै सहानभुतिको आधारमा यसपालि पनि उहाँ जित्नु भाएको हो’, पत्रकार समेत रहेका स्थानिय मतदाता अशोक शर्माले भने, ‘एकाथरिका मतदाताहरुको ध्रुविकरण कै नतिजा कुकुरको जित हो ।’

राजनीतिक रुपमा यादव समुदायको प्रभुत्व र वर्चश्व रहेपनि छिन्नमस्ता गाउँपालिकामा भने गैर यादव समुदायका मतदाताहरु पनि निर्णायक संख्यामै रहेको छ । स्थानिय तहको प्रमुख पदमा राजपा, माओवादी र फोरम सहितका प्रमुख राजनीतिक दलवाट यादव समुदायकै व्यक्ति उम्मेदवार रहेका थिए भने गैर यादव समुदयावाट नयाँ शक्तिको टिकटमा मण्डल एकल उम्मेदवार थिए । यादव मत तीन ठाउँमा बाँडिएको र गैर यादव मत एकै ठाउँ ध्रुविकरण भएकोले मण्डल विजय भएको जानकारहरुको बुझाई छ । छिन्नमस्ताको उपाध्यक्ष पदमा भने राजपाकी उषादेवि मण्डल निर्वाचित भएकि थिइन ।

मुश्लिम बाहुल्यता रहेको सप्तरीको खडक नगरपालिकाको मेयर पदमा निर्वाचित हिमायुँ हक हत्या गरिएका पूर्व सभासद सदरुल मियाँ हँकका छोरा हुन् । उक्त गाउँपालिकामा फोरमको राजनीतिक संगठन मजबुत नभए पनि एकल मुश्लिम उम्मेदवार रहेका कारण हिमायुँको जित भएको चुनावी जानकारहरुको भनाई छ । हिमायुँसँगै फोरमकै टिकटमा चुनाव सोहि नगरपालिकाको उप मेयर पदमा चुनाव लडेकि केन्दुला देवि झा भने चुनाव जित्न सकेनन् । मुश्लिम समुदायवाटै रहेकि काँग्रेस उम्मेदवार यास्मिन सुल्तान खातुन उप मेयर पदमा निर्वाचित भईन ।

‘यो पक्कै पनि कुनै दल, व्यक्ति वा सिद्धान्तको जित थिएन’, स्थानिय राजदेव साह भन्छन्, ‘पार्टीकै जित हुन्थ्यौ पनि उप मेयर पनि जित्नु पथ्र्यौ नी, मुश्लिम मत एक ठाउँमा ध्रुविकरण भएरै यस्तो नतिजा आएको हो ।’ यद्यपी यस नतिजालाई जातिय ध्रुविकरणको कोणवाट मात्रै पनि व्याख्या गर्न सकिने अवस्था नरहेको कतिपयको बुझाई छ ।

लामो मधेश आन्दोलन, मलेठ प्रकरण लगायतको सेरोफेरोमा सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर तथा उप मेयर दुवै पदमा पहाडे समुदायकै उम्मेदवार निर्वाचित हुन्छ भन्ने तर्फ अधिकांशले कल्पना समेत गर्न सकेका थिएन । दलहरुले समेत पहाडे–मधेशी–थारु ीवच तालमेल सहितको उम्मेदवारी नैदिएका थिए । यद्यपी नतिजा भने त्यहि रहियो । मेयरमा एमालेका बसन्त मिश्रा र उप मेयरमा काँग्रेसकी निरु पोखरेल निर्वाचित भईन ।

मेयर पदमा वसन्त मिश्रा पहाडे समुदायवाट एक उम्मेदवार थिए भने निरु पोखरेल पनि सो समुदायवाट एक्ली उम्मेदवार नै थिईन । ‘पार्टी सिद्धान्तका अतिरीक्त पहाडे मतदाताहरुको ध्रुविकरणले यस्तो नतिजा सम्भव भएको थियो’, स्थानिय पत्रकार राजकुमार पासवानले भने, ‘चुनावको अन्तिम समयमा आएर भित्रभित्रै यस्तो ध्रुविकरणको माहौल तयार पारिएको थियो ।’

पछिल्लो समय सप्तरीका प्रत्येक जसो निर्वाचनलाई उम्मेदवारको व्यक्तित्व, दलिय सिद्धान्त तथा अजेण्डा भन्दा पनि जातियता र पैसाले निकै हद सम्म निर्देशित गर्दै आएको स्थानिय जानकारहरुको बुझाई छ । यसअघिको संविधान सभा निर्वाचनमा पनि संख्यात्मक रुपमा मजवुत जातिय आधार तथा पैसा भएका उम्मेदवारहरु निर्वाचित भएको थियो ।

पछिल्लो संविधान सभा निर्वाचनमा सप्तरीका ६ मध्यै तीन निर्वाचन क्षेत्रमा तत्कालिन एकिकृत नेकपा माओवादीका उम्मेदवारहरु निर्वाचित भएका थिए । मधेशवादी र काँग्रेसको तुलनामा माओवादीको सांगठनिक पकड पनि सप्तरीमा खासै मजबुत मानिदैन । ‘त्यतिवेला मधेशवादी दलका एउटा पनि उम्मेदवारले जित हात पार्न नसक्नु मध्यैको एउटा मुख्य कारण जातिय ध्रविकरण समेत थियो’, युवा नेता किशोरकुमार यादव भन्छन्, ‘कतै यादव भर्सेल अलको अवस्था भयो त कै थारु भर्सेज आलको फैक्टरले काम गरेको थियो ।’

आफ्नो भनाईलाई स्पष्ट पार्दै उनले भने, ‘सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ वाट त्यतिवेला काँग्रेस, फोरम र फोरम लोकतान्त्रीकवाट तीन जना यादव समुदायकै उम्मेदवार थियो र एमालेवाट ताराकान्त चौधरी गैर यादव समुदायवाट एक्लो प्रभावशाली उम्मेदवार थिए, दुवै तिरको मत ध्रुविकरण भयो तर एकाथरिका मत तीन ठाउँमा बाँडिए अर्को थरिको अधिकांश एउटै ठाउँ रहियो ।’
प्रतिनिधि सभाको आगामि निर्वाचनका लागि ठुला मधेशवादी नेताहरु आफ्नो क्षेत्र परिवर्तन गर्नुलाई पनि कतिपय राजनीतिक जानकारहरुको भोटको जातिय ध्रुविकरणसँगै जोडेर व्याख्या गर्ने गर्दछने ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यादव मतको बाहुल्यता, धनुषा ३ मा सुडि मतको बाहुल्यता तथा महोत्तरीमा ब्राम्हण लगायत कथित उच्च जाति समुदायको मतको बाहुल्यता शिर्ष मधेशवादी दलहरुको चुनावी क्षेत्र परिवर्तनका कारकहरु मध्यै प्रमुख रहेको विश्लेश्कहरुको बुझाई छ।
उपेन्द्र यादव चुनाव लडदै गरेका सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा झण्डै ८० हजार हराहरीमा मतदाता रहेका छन् । जसमध्यै यादव समुदायको मात्रै साढे १३ हजारको हराहरीमा मत छ । उक्त क्षेत्रमा कुनै एक जाति समुदायको यो सवभन्दा ठुलो जनाधार हो । यद्यपी उक्त क्षेत्रवाट उपेन्द्रसँगै माओवादीका उमेशकुमार यादव पनि उम्मेदवार छन् । र गैर यादव समुदायवाट एक्लो उम्मेदवारका रुपमा राजपाका विद्रोही जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

पछिल्लो संविधान सभा निर्वाचनमा उक्त क्षेत्रवाट फोरम नेपालको टिकटमा शैलेन्द्र प्रसाद साह र तमलोपाको टिकटमा जयप्रकाश ठाकुर उम्मेदवार भएका थिए भने माओवादीको तर्फवाट उमेशकुमार यादव चुनाव लडेका थिए । साह र ठाकुर विच एक थरिका बहुसंख्यक मत बाँडिए पछि त्यतिवेला यादवले उक्त क्षेत्रवाट जित हात पारेको उक्त क्षेत्रका कतिपय मतदाताहरुको बुझाई छ ।
‘एउटा उम्मेदवार जित्नुका पछाडि थुप्रै कारणहरुले भुमिका खेलेका हुन्छन्, उमेशजीको जितमा पनि ती कारणहरु होलान’, स्थानिय युवा सञ्जीत यादव भन्छन्, ‘बहुसंख्यक यादव भोट एउ ठाउँमा एकिकृत हुनुले उनको जितको ठुलो भुमिका खेलेको थियो ।’

गजेन्द्र बाबुलाई पनि गाँजेको थियो ध्रुविकरणले’

मधेशवादका जनक भनेर चिनिने स्व. नेता गजेन्द्र नारायण सिंहलाई पनि भोटको जातिय ध्रुविकरणले निकै हद सम्म गाजेको थियो । ०५४को निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट १७ मतको झिने अन्तरले काँग्रेसका उम्मेदवार रामकुमार चौधरी(कथबनियाँ) सँग गजेन्द्र वावु चुनाव हारेका थिए । त्यतिवेला उक्त क्षेत्रमा ‘बैकवार्ड’, ‘फरवार्ड’को नारा दिईएको पुराना राजनीतिक कार्यकर्ता योगेन्द्र झालाई स्मरण छ ।

‘कथित तल्लो जात र उपल्लो जातको नारा त्यतिवेला निकै जोडसोडका साथ उठाईएको थियो’, उनी सम्झन्छन्, ‘गजेन्द्रवावु कोईलाडीका राजपुत थिए र त्यहाँवाट थुप्रै नेताहरु नेतृत्वका लागि विभिन्न दलभित्र संघर्ष गरिराखेका थिए, सोहि कुरालाई मुख्य मुद्दा वनाईयो, राजपुत वाहुनहरुलाई नै किन भोट भनेर जातिय ध्रुविकरण थालियो र गजेन्द्रवावु अन्ततः चुनाव हारे ।’

नेपालको इतिहासमा सवै जसो निर्वाचन हेरिसकेका बयोबृद्ध राजनीतिज्ञ खुशिलाल मण्डल राजनीति दुषित भएका कारण जातिय ध्रुविकरण, पैसा, मदिरा जस्ता तत्व निर्वाचन परिणाम माथि हावि हुन लागेको वताउँछन् । ‘मुद्दा हरायो किन भने राजनीतिक दलको छवि नै स्वच्छ रहेन’, उनी भन्छन्, ‘त्यसैले अब अजेण्डाको कुरा हुँदैन जातियताको कुरा हुन्छ, सिद्धान्तको कुरा हुँदैन पैसा र भोज भतेरको कुरा हुन्छ ।’

दलहरु आफ्नो घोषणा पत्र प्रति इमान्दार रहन नसक्नु, प्रत्येक चुनावमा झुठा आश्वासनहरु बाड्दै हिडनु, आफुले गरेका प्रतिवद्धता तर्फ ध्यानै नदिनु, सिद्धान्त विहिन राजनीति लगायतका तत्वले तराई÷मधेशमा जातियता, पैसा इत्यादी हावि हुँदै गएको बृद्ध मण्डलको बुझाई छ ।

भुमिगत कालदेखिनै नेपाली काँग्रेस सँग आबद्ध भई राजनीति थालेका मण्डल मधेशी राजनीतिमा पनि गजेन्द्रवावुकै समकक्षि हुन । उनी भन्छन्, ‘दुषित राजनीतिको परिणाम हो जातियता, यसका लागि राजनीतिक दलहरु आफै दोषि छन्, यहाँ सिद्धान्त भन्दा पनि शत्तासँग मतलब हुने गर्छन चाहेर जसरी पनि किन न होस ।’

अर्का राजनीतिक विश्लेषक डा. हेमकुमार मिश्र छिमेकी भारतको बिहार तथा उत्तर प्रदेश जस्ता राज्यवाट जातिय राजनीतिको हवा मधेश तिर पनि छिरेको वताउँछन् । ‘खासगरी ०५० साल यता हाम्रो तिरको निर्वाचनमा पनि जातिय नाराहरु हावि हुन लागेको मेरो अनुभव छ’, उनी भन्छन्, ‘त्यतिवेला विहारमा लालुप्रसाद यादव, रामविलास पासवानहरुको को राजनीति चरम उत्कर्षमा थिए भने उत्तर प्रदेशमा पनि मुलायम सिंह यादव र मयावतीको विच राजनीतिक मुख्य अजेण्डा नै जातियता नै रहेको थियो ।’

दलहरु आफै सचेत नभए सम्म जातिय राजनीतिको अन्त सम्भव नहुने उनको बुझाई छ । ‘पछाडि परेका जाति र समुदायको उत्थानका लागि राजनीति तत्परता देखाउनु पर्छ तर जातियताकै अजेण्डामा राजनीति हुनु दुर्भाग्य पुर्ण हो’, उनी भन्छन्, ‘यस्तो अवस्थामा कहिले पनि समाजिक उत्थान र मुलुकको विकासका लागि परिकल्पना समेत गर्न सकिदैन ।’ भोटको जातिय ध्रुविकरणकै कारण जति सुकै राजनीतिक आन्दोलनका बाबजुद मधेशकै जिल्लामा समेत मधेशवादी दलहरुको हकमा चुनावी नतिजा नआउने गरेको उनको बुझाई छ ।