रंगीली गोलीकाण्ड, मृतक परिवारको अझै पनि बिचल्ली…

रंगेलीमा प्रहरीको गोली लागि मृत्यु भएकी द्रोपदीदेबीकी बुहारी,छोरी र आफनत ।
रंगेलीमा प्रहरीको गोली लागि मृत्यु भएकी द्रोपदीदेबीकी बुहारी,छोरी र आफनत ।

रंगेली (डायनिया) नाङलो बुनेर कमाएको पैसाले बनाएको दुई-कोठे घरपनि अर्काकै जमिनमा । साउन यता देखीको मधेश आन्दोलनका क्रममा उनी आफनो कामले फुर्सद नपाएर कहिल्यै गएनन् । तर गत माघ ७ गते घर नजिकै भईरहेको आन्दोलनमा टोलका सबैजना गईरहदा डायनिया ९ का शिबु माझी कहिल्यै घर नफर्किने गरि संसारवाट विदा भए ।

गत बिहिवार मोरङको रंगेलीमा युवा संघ नेपाल, मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप भएपछि नजिककै डायनिया वजारमा पनि आन्दोलन सुरु भएको थियो । त्यहा युवा संघका कार्यकर्ता चढेको बसमा आगजनीपछि प्रहरीसितको झडपमा प्रहरीको गोली लागि माझीको मृत्यु भएको थियो ।

भर्खरका लक्का जवान २७ वर्षिय शिबु सुकुम्वासी हुन् । ‘कमाउथ्यो अनि खान्थ्यो’ शिबुकी ठुली आमा रञ्जोदेबीले भनिन्–‘उनी कुनै पार्टी वा राजनितीमा लागेका थिएनन्, नाङलो बुनेर , बनिबुतो गरेर जेनतेन छोराछोरी पाल्दै आएका थिए । शिबुको मृत्युको खवरले उनकी श्रीमती शिखादेवीको आखा अझै ओभाएको छैन् । नावालिका दुई छोरी वर्षा र भुमिका तथा चारवर्षे छोरा राहुल अझै बुवा आउने आशमा छन् । ‘बच्चाहरू केही बोल्न सकिरहेका छैनन्, श्रीमती शिखा छिन-छिनमा मुर्छित हुन्छिन्’,ठुलीआमा रञ्जोदेबीले भनिन्–‘अब यी लालावालाको अभिभाबकत्व मात्र होइन्, मुखको आहारा पनि छिनियो ।’ शिबुका बुवा काशीलाल श्रीमती र कान्छा छोरा सहित रोजगारीका लागि भारतको पञ्जावमा छन् ।

घरको आर्थिक अबस्था अति नै दयनिय भएपछि काशीलालले जेठो छोरा बुहारीलाई घरमा राखी श्रीमती  र कान्छो छोरा सहित रोजगारीका लागि पञ्जाव गएका थिए । ‘कहिल्यै आन्दोलनमा जानुहुन्नथ्यो’ भक्कानिदै शिुकी श्रीमती शिखाले भनिन्–‘त्यो दिन कुन काल आयो र सदाका लागि लगिदिए मेरो सहारालाई ।’ ‘अब हामीलाई कसले कमाएर खान दिन्छ’ शिखाले भनिन्,–‘यी तीन लालावालालाई कसरी पाल्नु , मेरो त जिवन नै उजाडियो ।’
‘घटनापछि एक बुन्द पानीपनि मुखमा लिन मानिरहेकी छैनन्’शिखा तर्फ देखाउदै शिबुकी ठुलीआमा रञ्जोदेबीले भनिन् ।

बिहिवार मोरङको डायनियामा प्रहरीको गोली लागि मृत्यु भएका शिबु माझीकी श्रीमती शिखा र छोरा-छोरी ।
बिहिवार मोरङको डायनियामा प्रहरीको गोली लागि मृत्यु भएका शिबु माझीकी श्रीमती शिखा र छोरा-छोरी ।

शिबुकै परिवार जस्तो बेहाल छ अर्का मृतक महादेब ऋषिदेव को । बरडंगा ३ का उनी ऐलानी जग्गामा घर छ । उनी कुनैपनि राजनितिक दलका सदस्य थिएनन् । खुटा सुनिने समस्याले ग्रसित श्रीमती सिता ऋषिदेवलाई शुक्रवार विराटनगर लगेर डाक्टरलाई देखाईदिने बाचा गरि घरवाट निस्केका महादेब गाउका साथी- भाईसित रंगेली वजारको जुलुसमा जादा गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको थियो ।

‘गोली लाग्यो भनेर एकजनाले सुनाए, बिश्वास लागेन्’महादेबकी श्रीमती सिताले भनिन्–‘गाउका मानिसले रेडियो खोलेर समाचार सुन्दा मरेको खवर पाए,हाम्रो त सहारा नै गुम्यो ।’ शनिवार सदभावना अध्यक्ष राजेन्द्र महतो सहितको टोली उनको घरमा पुग्दा उनी पटक पटक मुर्छित भइन् ।

‘घरमा म मात्र होइन् बच्चाहरू पनि रोक्दै थिए नजानका लागि’सिताले भनिन्‘टोल छिमेकका सबै जादैछन् रंगेलीको जुलुसमा म नजादा मान्छेले राम्रो भन्दैन,तुरुन्तै आईहाल्छु तिमीलाई भोली डाक्टरकोमा लगेर देखाईदिन्छु भन्दै गए , गएको गए नै भए ,म सित गरेको वाचा कहिले पनि पूरा नहुने गरी तोड़े ।’  महादेबका कोसिला र कल्पना दुइ छोरी तथा दीपेन्द्र, अरुण र रविन ३ छोरा गरि पाँच सन्तान छन् । ‘खेती-किसानी र बनिुबतो गरेर परिवार चलाउदै आएका थियौ , अब त हाम्रो परिवार चलाउने साधन नै समाप्त भयो’,सिताले भनिन्-’मेरो श्रीमानले कसको के बिगारेको थियो,किन गोली हान्यो ? के अब यी नेताहरुले हाम्रो गुजारा चलाउछ ?’

उता रंगेलीको हिंसक झडपमा परि बिहिवार प्रहरीको गोली लागि मृत्यु भएका द्रोपदीदेबी चौधरी रंगेलीको वजारमा छोरी भेटदै घर फर्किने योजनामा गएका बेला गोली लागेर मरिन् ।

दुई बुहारी खुश्बु र संगितालाई केही बेरमै आउछु भनेर गएकी द्रोपदी छोरीलाई भेटेर जुलुस नारा हेर्नका लागि केही बेर वजारमा पर्खेकी बेला झडप सुरु भयो र अस्पताल चौकमा उनी प्रहरीको गोली लागि ढलिन् । श्रीमान जायनाथ प्रसाद चौधरी राप्रपाका पुराना कार्यकर्ता भएपनि द्रोपदी घर ब्यबहार सम्हाल्थिन् ।

रंगेलीमा गोली लागि मृत्यु भएका बरडंगाका महादेब ऋषिदेवपरिवार । तस्बिरहरू : अबधेशकुमार झा ।
रंगेलीमा गोली लागि मृत्यु भएका बरडंगाका महादेब ऋषिदेवपरिवार । तस्बिरहरू : अबधेशकुमार झा ।

‘हामी बुहारी भएर आएको १० वर्ष भयो तर हामीलाई घर ब्यबहारको काम गर्न दिनुहुन्थ्यो’जेठी बुहारी खुशबुले भनिन्–‘तिमीहरूका साना साना बच्चा छन् त्यसको हेरबिचार गर्नु भन्दै आफै सबै गर्नुहुन्थ्यो ।’ महिला भएपनि घरमुली थिइन् द्रोपदी । उनको मृत्युसँगै  बिहिवार दिउसोवाट उनको घरमा रुवावासी चलेको छ । द्रोपदीका एक छोरा देबकुमार रंगेली नगरपालिकामा मुखिया पदमा करारमा जागिरे छन् भने कान्छा हेमराज रोजगारीका क्रममा साउदीमा छन् ।

घर परिवार धान्ने जग्गा जमिन भएपनि अधिकांस जग्गावाट नदी बगेकाले हातमुख जोडन यो परिवार पनि बैकल्पिक सहारा नै खोज्नुपर्ने स्थितीका छन् । ‘जुलुस हेरेर आउछु जाने बेलामा तिम्रो घरमा चिया खाएर मात्र फर्किन्छु’ छोरी रिताले भनिन्‘चिया पकाएर राखेको आमा कहिल्यै नआउने गरि जानुभयो ।’