मेगा बैंक छैटौँ बर्षमा प्रवेश

Mega Anniversray3मेगा बैंक नेपाल लिमिटेडले बिहीबारबाट छैटौ बर्षमा प्रवेश गरेको छ ।  काठमाडौंको कान्तिपथस्थित मेगा महलमा बिहीबार आयोजित पाँचौ बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा. डा. मदन कुमार दाहालले मेगा बैंकको अबको लक्ष्य तथा चुनौति सुदृढीकरण र विस्तार रहेको बताउनु भयो । ‘हामीले यो पाँच बर्षलाई स्थापनाकालको रुपमा लिएको थियौँ, पहिलो पाँच बर्षमा हामीलाई सन्तोषजनक नतिजा प्राप्त भएको छ । छोटो समयमा नै खरो प्रतिस्पर्धामा उत्रिएर मेगा बैंकलाई प्रतिष्ठित वाणिज्य बैंकको रुपमा स्थापना गर्न सफल भएका छौँ । संचालक समितिको उच्च सुझवुझ र उत्कृष्ट व्यवस्थापनका कारण यो सफलता सम्भव भएको हो ।,’ प्रा. डा. दाहालले भन्नुभयो, ‘अब आजबाट सुदृढीकरण र विस्तारको चरणमा प्रवेश गरेका छौँ । मुलुक बाहिर संयुक्त लगानीमा कारोबारको प्रारम्भ, क्षेत्रीयस्तरमा कार्यालय विस्तार तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने कार्यमा केन्द्रीत हुनेछौँ ।’

अध्यक्ष दाहालले केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको जानकारी दिनुभयो । उहाँका अनुसार, मेगा बैंकसँग पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको जारी मर्जर प्रक्रिया छिट्टै सम्पन्न हुनेछ ।

अध्यक्ष प्रा.डा. दाहालले भूकम्पले वित्तीय क्षेत्रमा नकारात्मक असर पारेका कारण सोही स्थितिलाई दृष्टिगत गर्दै प्रतिस्पर्धामा उत्रिएर मेगा बैंकलाई अझ कसरी उत्कृष्ट बैंक  बनाउने भन्ने वारे हाम्रो प्रयास जारी रहने बताउनुभयो । ‘हामीले स्थापनाको पहिलो बर्षदेखि नै मुनाफा आर्जन गर्दै आएका छौँ, गतबर्ष हामीले हाम्रा प्रबद्र्धक र शेयरधनी महानुभावहरुलाई १२ प्रतिशत वोनस शेयर बाँड्न सक्यौं । हामीसँगै खुलेका अन्य बैंक भन्दा हामीले धेरै लाभांश बाँड्न सक्नु हाम्रो उपलब्धिका रुपमा मैले लिएको छु । आगामी बर्ष पनि झन उपयुक्त लाभांश दिलाउन प्रयत्नशील हुनेछौँ ।’ भन्नुभयो ।

मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सक्षम परियोजना अन्तरगत मध्य र सुदूर पश्चिममा चार वटा शाखा खोल्ने योजना रहेकोमा यो बर्ष अछाम र डडेल्धुरामा दुईवटा शाखा विस्तार गर्न लागेको जानकारी दिनुभयो । उक्त क्षेत्रका विभिन्न जिल्लाहरुमा १० वटा शाखारहित बैंकिङ सेवा र अत्याधुनिक ट्याब बैंकिङ सेवा विस्तार गरिने उहाँले बताउनुभयो । ‘अछाम र डडेल्धुरामा शाखा खोल्ने कार्य अगाडि बढेको छ । देशका अन्य ठाउँमा ८ वटा शाखा खोल्ने विषयमा पनि अध्ययन गरेर निष्कर्षमा पुग्छौँ ।’ उहाँले भन्नुभयो ।

निमित्त सिइओ श्रेष्ठका अनुसार, ग्राहकको सुविधालाई ध्यानमा राखेर भिसा डेबिट र क्रेडिट कार्ड तथा बिजनेश कार्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसैगरी, आकर्षक ब्याजदरका निक्षेप योजना तथा ग्राहकको माग बमोजिम सहुलियत ब्जाजदरमा कर्जा योजनाहरु पनि ल्याउने बैंकको योजना छ । एसएमई र कर्पोरेट बैंकिङको बीचमा पर्ने ग्राहकलाई समेट्न स्थापना गरिएको ‘मिड कर्पोरेट’ इकाइलाई आगामी बर्षमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।

‘हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुबित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक बर्षमा मेगा बैंकको २१ अर्ब १३ करोड बरावर निक्षेप संकलन भएको छ भने १७ अर्ब ९९ करोड बरावरको कर्जा प्रवाह भएको छ । यसैगरी, ग्राहक संख्या करिब १ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार २० लाख ५१ हजार र निक्षेपको १ लाख ५७ हजार रहेको छ ।देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटीएम सञ्जाल छ । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १२ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

यसैबीच, वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई रु. १ लाख नगद सहयोग प्रदान गरेको छ । कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदन कुमार दाहालले पवित्र समाज सेवा नेपालमा आश्रित ६ जना बालिकाको शिक्षा दिक्षाका लागि सो सहयोग प्रदान गरेको बताउनुभयो । काठमाडौंको धापासीमा सञ्चालित पवित्र समाज सेवामा ३२ जना असहाय बालबालिका, महिला तथा बृद्धाहरु आश्रित छन् । मेगा बैंकले आफ्ना शाखा रहेका रसुवाको स्याफ्रुबेसी, सिन्धुपाल्चोकको चौतारा र धादिङको धादिङबेसीमा भूकम्प पीडित जनताको निमित्त ५० लाख रुपैंया बराबरको जस्तापाता यसअघि नै वितरण गरिसकेको छ ।