मन पराएकी एउटी, जोडी लाग्यो अर्कैसँग

sp1धनकुट्टा जिल्लाको धनकुट्टा नगरपालिका बार्ड नम्बर ५ मा बुवा चन्द्रबहादुर अमात्य र आमा मथुरा देवी अमात्यको कोखबाट जन्मिएका दिनेश अमात्य पेशाले प्रहरी हुन् । ४ दाजुभाई मध्ये आमा–बुवाको कान्छो छोरा दिनेशको बाल्यकाल धनकुट्टामै बित्यो । उनले त्यहीबाट एसएलसी सम्मको शिक्षा हासिल गरे । उच्च शिक्षा चाँही काठमाण्डौको शंकरदेव क्याम्पस र विराटनगरको महेन्द्र–मोरंग बहुमुखी क्याम्पसबाट गरेका हुन् ।

घर परिवारको इच्छा विपरित ०४६ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा सेवामा प्रवेश गरेका अमात्य संगठनभित्र एक कुशल, सक्षम, इमान्दार र निडर प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । प्रहरीको कारवाही, व्यवस्थापन, अपराध अनुसन्धान र भीड नियन्त्रण लगायतका विषयमा विशेष दखल भएका अमात्यले नेपालको विकट मानिने दैलेख र जुम्ला जिल्लामा सफलतापूर्वक काम गरिसकेका छन् । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान महाशाखा हनुमानढोका, काठमाण्डौ, ललितपुर र सुर्खेतमा समेत जिम्मेवारी सम्हाली सकेका अमात्य ०६५ सालमा कामु प्रहरी उपरीक्षक भएका हुन् ।

तराईका बाँके, रुपन्देही, कपिलवस्तु, चितवन, बारा, पर्सा, मोरंग, सिरहा हुँदै हाल उनीे सप्तरी जिल्लाको प्रहरी प्रमुख छन् । तराईका केही जिल्लाहरुमा सशस्त्र समुहले उत्पात मचाईरहेको अवस्थामा सरकारले उनलाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो । त्यहाँ पनि सशस्त्र समुहले एक प्रकारको खैलाबैला नै  मचाएको थियो । दिनहुँजसो एकएक गरी सातामा सात जनासम्मको हत्या, जनमानसमा त्रास र आतंकको स्थिति थियो । आज कसको अपहरण र कसको हत्या हुने हो ? भन्ने त्रास आम जनकपुरबासीको मानसपटलमा सियोले घोचे झै घोचिरहन्थ्यो ।

sp2त्यस्तो भय र आतंकबाट धनुषाबासीलाई अमात्यले कुशल व्यवस्थापन, सुझबुझ, समन्वय र सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गर्दै कठोर मेहनतपछि जनमानसमा सुरक्षाको सुध्रँदो अनुभूति गराए । त्यहाँ अमात्यले देखाएको साहसिक कामको मूल्यांकन गर्दै प्रहरी हेडक्वाटरले सशस्त्र समुहले आक्रान्त मध्यपश्चिम नेपालको केन्द्रविन्दू नेपालगंज पठाए । त्यहाँ उनले भगत सिंह बाहेक अन्य सबै सशस्त्र समुहलाई ३५÷४० दिनको छोटो अवधीमै तह लगाए । त्यसपछि अमात्यलाई विभागले सप्तरी पठाएको हो, जहाँ आधा दर्जन भन्दा बढी सशस्त्र समूहका केन्द्रिय अध्यक्षहरुको जन्मथलो नै रहेको छ । सप्तरीमा एसपी अमात्यले एक वर्ष भित्रै विभिन्न अपराधमा फरार ९२ जना अपराधीलाई पक्राउ गरी पुर्पक्षकालागि कारागार चलान गराए । सयौं राउण्ड गोली र दर्जन बढी हातहतियार समातियो । त्यतिमात्र होइन, झण्डै १३ वर्ष देखि फरार मोष्टवान्टेड अपराधी सार्प सुटरको रुपमा चर्चित रहेका हरि पासमान जो दर्जनौ व्यक्तिको हत्या र अपहरणमा संलग्न थिए, उनलाई पक्राउ गर्न सफल भए । झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागार तोडेर फरार कुख्यात अपराधी विनायक कुमार यादव र जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) समुहका सैन्य कमाण्डर मुनेश्वर मण्डललाई पक्राउ गरे । सरकारले अति नै सम्बेदनशील जिल्लाको सूचीमा राखेको सप्तरीमा शान्तिपूर्ण र भयरहित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गराउन एसपी अमात्य सफल भए ।

त्यति मात्र होइन गत विगतमा सप्तरीबाट निर्वाद्ध रुपमा हुँदै आएको तस्करीलाई समेत न्यूनिकरण गरियो । राजविराज भन्सार कार्यालयको राजश्व संकलन लक्ष्य ४० प्रतिशतले न्यून रहेकोमा अमात्यको एक वर्षे कार्यकालमा १ सय ३० प्रतिशतले वृद्धि भएको कुरा भन्सार प्रमुख धु्रवराज विकले बताएका छन् ।

अमात्यको प्रहरी पेशामा प्रवेश र विवाहको प्रसंग एकदमै रोचक रहेको छ । सप्तरी जागरण अनलाइन सित कुराकानीको क्रममा उनी आफ्नो विगत सझिरहँदा निकै भावुक देखिए । उच्च शिक्षा हासिल गरेर प्रतिष्ठित व्यवसायी वा सिए बन्ने इच्छा बोकेका उनको जीवनमा निकै उतारचढाव पनि नआएको होइन । तर उनका पाइला धैर्यतापूर्वक अगाडी बढि नै रहे । अन्ततः सहकर्मी ज्ञानेन्द्र कार्कीले अमात्यलाई नेपाल प्रहरीको ढोका घच्घच्याउन बाध्य तुल्याए । अनलाईनलाई अमात्यले भने ‘म शंकरदेव क्याम्पसमा पढ्दै थिएँ । मेरो एक जना अभिन्न मित्र थिए– ज्ञानेन्द्र कार्की । प्रहरी निरीक्षक पदमा भर्ना खुलेको कुरा उनै ज्ञानेन्द्रले मलाई जानकारी दिए । तर किन हो, मैले त्यति वास्ता गरिन । प्रहरी सेवातिर जाने मेरो इच्छा थिएन ।’ अमात्यले थपे –‘एक दिन म रमेश दाइको पसल पुरानो बानेश्वर गएँ, फर्किने बेलामा बेलुका मैतीदेवीमा ज्ञानेन्द्रसँग भेट भयो । उसको डेरा मैतीदेवी र मेरो बागबजार । ज्ञानेन्द्रले मलाई ल दिनेश अब समय छैन, दुई दिन मात्र बाँकी छ । तैँले जागिर खानुपर्छ । तैँले जानुपर्दैन, आवश्यक डकुमेन्ट मलाई देऊ म आफै गएर  आवेदन दर्ता गराई दिन्छु । ज्ञानेन्द्रले नै मेरो सबै कागजात लिएर गयो – उनले भने  ।

ज्ञानेन्द्रले मेरो आवेदनभर्न जाँदा स्कूलको चारित्रिक प्रमाणपत्र नहुँदा मेरो फारम प्रहरी हेडक्वाटरले बुझेन । ज्ञानेन्द्र निरास भएर फर्के । अब मेरो सामु मात्र एक दिन अर्थात अन्तिम दिनको म्याद बाँकी थियो । अमात्यले भने –‘त्यसपछि मैले प्रहरीमै जागिर खाने दृढ संकल्प लिएँ र अन्तिम दिन सबै डकुमेन्ट लिएर प्रहरी प्रधान कार्यालय पुगे । अपुग कागजात १५ दिन भित्र बुझाउने गरी फारम दर्ता गराएँ । त्यसपछि प्रहरीको विभिन्न परीक्षाहरु हुँदै गए । म पास भई नै रहे । मेरो मित्र ज्ञानेन्द्र लिखितमा फेल भयो । ऊ हाल विराटनगरको एउटा बैंकमा राम्रो पदमा जागिरे छ । म प्रहरी निरीक्षक पदमा परीक्षा दिईरहेको कुरा एक जना साहिला दाइलाई मात्र थाहा थियो । दाइ बाहेक घर परिवार कसैलाई थाहा थिएन । त्यति बेला प्रहरीको जागिर खानु हुँदैन भन्ने मान्यता घर परिवारमा कायम थियोे, अमात्यले बताए । ‘ जब म प्रहरीको लिखित र मौखिक परीक्षा पास भएँ, त्यसपछि मेरो चालचलन बुझ्न हेडक्वाटरको पत्र काटियो । त्यो पत्र लिएर प्रहरी मेरो घर खोज्दै धनकुट्टा पुगे । घरमा प्रहरी देख्नासाथ आमा, बुवा र दाइहरु झसंग भए । दिनेश अमात्यको घर यही हो ? भनी ती प्रहरीले दाईलाई सोध्दा घरका सबै डराए । छोराले के पो गल्ती गर्यो बा ? जब ती प्रहरीले मेरो बारेमा सबै कुरा बताए । अनि पो आमा बुवालाई छोरा प्रहरीमा जागिरे भएको कुरामा थाहा पाए, अमात्यले अनलाईनलाई बताए ।

हुन त दिनेश अमात्यको मागी विहे हो । उनका एक मात्र छोरा छन् । विवाह पनि कस्तो अचम्मको ? मन पराएकी एउटीलाई, विवाह भयो अर्कीसित । अमात्यको विहे धनुकुट्टाकै सुन्दर श्रेष्ठकी जेठी छोरी सित भएको हो । विवाहको सम्पूर्ण चाँजोपाँजो मिलाउने काम गरिदिए, स्थानीय प्रतिष्ठित देव बहादुर प्रधानले । अमात्यले भने ‘एक दिनको कुरा हो, मनोहर नारायण श्रेष्ठ (हाल सभासद्), प्रधान र म चितवन घुम्न गएका थियौं । घुम्ने क्रममा एउटी राम्री केटी बजारमा देखिइन् । उनलाई देखेपछि मेरो र मनोहरको मनमा कौतुहलता बढ्यो । हामी बीच उनका बारेमा हल्का कुराकानी समेत भयो । त्यसपछि हामीले उनको घर पत्ता लगाउने निर्णय लियौं । उनलाई मन्दिर वा तरकारी बजारमा भेट्न सकिने कुरा देव बहादुर प्रधानले नै बताएका थिए । हामी तीनैजना सोही साँझ तरकारी बजार गयौं । नभन्दै उनी आईन् र सब्जी किनेर फर्किने क्रममा हामी उनको पछिपछि लाग्यौं । घर पनि पत्ता लाग्यो । अनि हामी सबै होटलतर्फ फर्क्यौं । त्यो केटी कसले विहे गर्ने ? भन्ने कुरा प्रधानले हामी दुवैलाई सोधे । हामी दुवैबीच ती केटीसित कसले विवाह गर्ने भन्ने कुरालाई लिएर हानाथापै भयो । तर हाम्रो आदरणीय पाको दाइ प्रधानको कुरा पनि काट्न नसकिने । प्रधान दाइले मलाई सोधे, ‘ए दिनेश तँ यो केटी विवाह नगर, मनोहरलाई नै छोड्दे, तँसित धनकुट्टाकै सुन्दर सरको छोरी विवाह गराउनुपर्छ ।’ अमात्यले भने –‘मैले सुन्दर सरकी छोरी देखेको पनि थिइन । दाइले ठिक भने पछि हुन्छ, मैले भने ।’ त्यसपछि मेरो मनमा सुन्दर सरको छोरीलाई कतिखेर हेरौं जस्तो लाग्यो ? म बीरगंजमा कार्यरत थिएँ । एक महिना विदा लिएर धनकुट्टा आएँ । चिनजान नभई केटी देखादेख भयो । मैले पनि हेरेँ उनले पनि हेरिन् । देखादेखपछि अभिभावकहरुको सल्लाह बमोजिम मेरो विवाह सुमना श्रेष्ठसित भएको हो, पुराना दिन स्मरण गर्दै अमात्यले भने ।

dineshphoto
सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यका साथमा पत्नी सुमना अमात्य

सेवाभन्दा पनि मेवातिर ध्यान दिने प्रवृति तपाइँहरुको संगठनमा पनि बढनथालेको सुनिन्छ नि ? प्रसंग बदलेर सोध्दा अमात्य भन्छन् –‘छिन्नमस्ताको कसम नागरिकलाई पु¥याउनुपर्ने सेवामा लेनदेनको कुनै गुन्जाइस् हुँदैन । ेजनताको सेवा गर्न मैले पनि कुनै कसर बाँकी राखेको छैन ।’ गोर्खा दक्षिणबाहु प्रबल जनसेवाश्रीबाट विभूषित अमात्यलाई सप्तरीको शान्ति सुरक्षा कायम गर्न सक्षम नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै तराई संचार समुहले २०७० माघको बसन्तपञ्चमीका दिन तिलाठीमा एक भव्य कार्यक्रम बीच सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिसकेको छ । यसैगरी उत्कृष्ट काम गरे वापत सप्तरीको नागरिक समाज, उद्योगवाणिज्य संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ, सेभ द सप्तरी, हिमानी क्लब र तराई सञ्चार समुह लगायत दर्जनौ संघ संस्थाले संयुक्त रुपमा ताम्रपत्र र दोसल्लाबाट हालै सम्मान गरेका छन् ।