मधेसीसँग वार्ता गर्न तीन दलको वार्ता समिति

3नयाँ संविधानमा असहमति जनाउँदै आन्दोलनरत मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन् ।
सो समितिमा नेपाली कांग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एमाओवादी का एक प्रतिनिधि (नाम आउन बाँकी) रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेका, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो ।

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिए ।

‘तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन’, उनले भने, ‘संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।’

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिए ।

नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिए । उनले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गरे ।

बैठकमा नेकाका सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, नेएमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहेको थियो । रासस