भूकम्पमा पूर्वाञ्चलका दुई हजारभन्दा बढी विद्यालयका कोठा पूर्ण क्षति

school (1)गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनमा परी पूर्वाञ्चलमा दुई हजारभन्दा बढी विद्यालयका कक्षा कोठा पूर्णरुपले क्षतिभएको छ । यस क्षेत्रअन्तर्गत १६ जिल्लाका सामुदायिक विद्यालयमध्येका दुई हजार २३ कोठा पूर्ण क्षति भएको छ भने एक हजार ७२४ कोठामा मुख्य क्षति, दुई हजार ७४१ वटा कोठा चर्केको र १५७ वटा शौचालयमा क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, धनकुटाले जनाएको छ ।
यस क्षेत्रअन्तर्गत क्षति भएका विद्यालयका कोठाको पूर्ण क्षति, मुख्य क्षति, चर्केका कोठाका वर्गीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको हो सोअन्तर्गत, सबैभन्दा बढी क्षति ओखलढुङ्गामा भएको छ । सो जिल्लाको पूर्णरुपले क्षति भएका कोठाको सङ्ख्या ५३९, मुख्य क्षति कोठाको सङ्ख्या ३४५ र चर्केको कोठा सङ्ख्या ५१० रहेको छ र ३० वटा शौचालयमा पनि क्षति पुगेको पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका चुडामणि फुयाँलले बताउनुभयो । । यसका साथै सोलुखम्बुको ५१७ कोठा पूर्ण क्षति, ३०७ वटामा मुख्य क्षति र ४९४ वटा कोठा चर्केको छ । खोटाङको ३३९ वटा कोठा पूर्णरुपले क्षति भएको छ भने १८१ वटामा मुख्य क्षति, १८४ वटा चर्केको र एउटा शौचालयमा क्षति पुगेको हो । यसैगरी, सङ्खुवासभामा २५९ कोठामा पूर्ण क्षति ४० वटामा मुख्य क्षति र १८० वटा कोठा चर्केको र १७ वटा शौचालय क्षतिग्रस्त भएको छ । तेह्रथुमको २१० वटा कोठामा पूर्ण क्षति, १७६ वटामा मुख्य क्षति र १८७ वटा कोठा चर्केको छ । त्यस्तै, भोजपुरको ४० वटा कोठा पूर्ण क्षति, ११८ वटामा मुख्य क्षति र ९० वटा कोठा चर्केको छ । उदयपुरको २४ वटा कोठामा पूर्ण क्षति, १८५ मा मुख्य क्षति, ५०१ वटा कोठा चर्केको र २२ वटा शौचालयमा क्षति पुगेको हो ।
ताप्लेजुङको ५८ वटा कोठामा पूर्ण क्षति, १२१ वटामा मुख्य क्षति, ७९ वटा कोठा चर्केको र एउटा शौचालयमा क्षति पुगेको छ । यसका साथै पाँचथरको ३७ वटामा पूर्ण क्षति, २५९ मा मुख्य क्षति र २३२ वटा चर्केको र एक दर्जन शौचालयमा क्षति पुगेको छ । इलाम, झापा, सुनसरी, मोरङ, सप्तरी र सिरहा जिल्लाअन्तर्गतका विद्यालयका कुनै पनि भवन पूर्णरुपले क्षति भएको जानकारी प्राप्त नभएको सो कार्यालयले जनाएको छ । सोअनुसार, इलाममा १० वटा कोठामा मुख्य क्षति, ३० वटा चर्केको र एउटा शौचालयमा क्षति पुगेको छ । झापाका ५४ वटा कोठामा मुख्य क्षति, १५ वटा चर्केको र १० वटा शौचालयमा क्षति पुगेको हो । सुनसरीको २० वटामा मुख्य क्षति ५४ वटा चर्केको र २३ वटा शौचालयमा क्षति पुगेको छ । मोरङको १०२ वटा कोठा चर्केको र २२ वटा शौचालयमा क्षति पुगेको छ । यसका साथै सप्तरीको १४ वटा कोठा चर्केको र १२ वटा शौचालयमा क्षति पुगेको छ र सिरहाको १३ वटा कोठाका साथै दुईवटा शौचालयमा क्षति पुगेको छ । ती क्षतिग्रस्त विद्यालयको निर्माण र मर्मतसम्भारमा लाग्ने अनुमानित लागतको तथ्याङ्क सङ्कलन प्राविधिकले गरेपछि मात्र थाहा हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक माया राईले बताउनुभयो ।