‘भीभीआईपी’ उडान समयमै नभएका बारे छानविन

downloadभारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी ओली नेतृत्वको ‘भीभीआईपी’ टोलीको उडान समयमै नभएका बारे छानविन गर्न सरकारले समिति बनाएको छ ।

मुम्बईबाट नेपाल वायुसेवा निगमको आर–ए ‘टू जिरो वान’ उडानबाट प्रधानमन्त्री ओली हिजो राति ८ बजेर १० मिनेटमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि एक घन्टा ढिला भएको  थियो ।

वायुसेवा निगमको कामकारवाहीबाट उडान व्यवस्थापनमा लापरवाही हुन गएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा आज चार सदस्यीय छानविन समिति बनाएको हो ।

‘अन्तर्राष्ट्रिय अति विशिष्ट उडानको पूर्व जानकारी हुँदाहुँदै गैर–जिम्मेवारीपूर्वक लापरवाही गरेको पाइएकोले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरिएको’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिमा वायुसेवा निगमका निर्देशक जनकलाल कालाखेती र नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभास झा सदस्य छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान व्यवस्थापन विभागका निर्देशक सुधीरकुमार चौधरीलाई सदस्य सचिव तोकिएको छ । समितिलाई ‘भीभीआईपी फ्लाइट’ ढिला हुनुको कारण पत्ता लगाउने र दोषी पदाधिकारीलाई काबारहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ ।