भारतीय व्यापारीको चाँदी र रकम लुट्ने प्रहरी डिआइजीको फन्दामा

nepal-police-logoव्यापारीलाई हतियार देखाएर रकम लुट्ने सप्तरीका दुई घुमुवा प्रहरीलाई आज कार्वाहीकोलागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगर झिकाईएको छ ।

पूर्व क्षेत्रका प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेको निर्देशनमा प्रहरी हवल्दार प्रदिप मधुवन र प्रहरी जवान मोती पटेललाई बिहीबार बेलुकी अनुसन्धानको लागि बिराटनगर झिकाइएको छ । यी दुई सहित दर्जन बढी सादा पोसाकमा खटिएका प्र्रहरीहरुले सप्तरीको विभिन्न नाकाबाट तस्करी वापतको रकम उठाउने काम गर्दै आएका थिए ।

दुई साता अघि सप्तरीको बरही बिरपुर स्थित कोशी पश्चिमी नहरमा भारतीय व्यापारी कुमोद कामैतलाई हतियार देखाई तीन केजी चाँदी र भारतीय रुपैयाँ ३५ हजार ७ सय ५५ लुटेको उजुरी क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा परेपछि पटेल र मधुवनलाई आज झिकाइएको हो ।

व्यापारीबाट लुटिएको ३ केजी चाँदी मध्ये मात्र २ केजी प्रहरीमा बुझाएको र रकम समेत धुमुवाहरुले नै डर–धम्की देखाई कही कतै उजुरी गरे ज्यानमार्ने धमकी समेत दिएको सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका सप्तरी अध्यक्ष राजेश कुमार साहले बताए ।

क्षेत्रीय कार्यालयबाट आएको पत्रको आधारमा पटेल र मधुवनलाई विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि नै सुनचाँदी व्यापारीलाई दुःख दिएको भन्दै घुमुवा सहायक प्रहरी अधिकृत रामजी चौधरी र रंजित झालाई यसअघि नै क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले निलम्बन गरिसकेको छ ।

यता डिआइजी धिमिरेले आफु पूर्व क्षेत्रमा बसुञ्जेलसम्म कुनैपनि अपराधि र तस्करलाई नछाड््ने बताउँदै प्रहरीभित्र रहेका केही क्यान्सरहरुलाई सखाप गरेरै छाड्ने सप्तरी जागरण अनलाईनलाई बताए ।

उनले भने ‘प्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु हो’ तस्करी र अपराध नियन्त्रण गर्नु हो, त्यसमा हाम्रो कुनै प्रहरीको संलग्नता भेटाए त्यसलाई छाडिने छैन, कडाभन्दा कडा कार्वाही हुन्छ ।

एक किलो आठ सय ग्राम चाँदीसहित दुई पक्राउ

…………………………………………………………………………………………..

photo 3प्रहरीले उदयपुरको कटारीबाट एक किलो आठ सय ग्राम चाँदीसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ।

 सिन्धुली जिल्ला दुधौली नगरपालिका ५ बस्ने पुरुषोत्तम विश्वकर्मा र सप्तरी मैनाससराबहु गाविस ४ का बुद्धसेन प्रसाद रसाईलीलाई अवैध चाँदीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

 स ५ प ३४७८ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कटारीतर्फ आउदै गरेका उनीहरुलाई प्रहरीले मिर्चैया-कटारी सडक खण्डस्थित कटारी नगरपालिका २ स्थित बेलश्रोत भन्ने ठाउँबाट बुधबार राती करिब ८ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दिपक बस्नेतले बताउनु भयो।

 चेकजाँचकाक्रममा मोटरसाइकल पछाडी सवार रसाईलीले बोकेको झोलाबाट चाँदीको सानो ठुलो साइजका १३ थान रड र एक थान डल्ला बरामद भएको थियो। बरामद चाँदी, मानिस र मोटरसाइकललाई आजै राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रनाउ बस्नेतले जानकारी दिनु भयो। 

 त्यसैगरी प्रहरीले कटारी २ बाट आज बिहान करिब २४ हजार ६ सय ५० रुपैया बराबरको अवैध  सुर्तीजन्य पदार्थ र पान मसलासहित एक मोटरसाइकल नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालय लहानमा बुझाएको छ।

 बिहान १० बजेतिर इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको चेकिङ टोलीले सवारी चेकजाँचकाक्रममा स ३ प ७८१८ नम्बरको मोटरसाइकलबाट भन्सार छली ल्याएको पान मसला तथ सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको थियो।

 बरामद सामानहरुमा रजनीगन्धा पान मसाला, तुलसी, राजनिवास पान मसाला र महापसन्द तम्बाकु रहेको उक्त कार्यालयले जनाएको छ।