भारतले मेमनलाई फाँसी दिइयो

mananसन् १९९३ मा भारतको मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटका मुख्य योजनाकार याकुब मेमनलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ। केन्द्रीय गृह मन्त्रालयका प्रवक्ता कुलदीप धतवालियाका अनुसार महाराष्ट्रको नागपुर जेलमा ५३ वर्षीय उनलाई बिहान ७ बजे मृत्युदण्ड दिइएको हो।

१२ मार्च १९९३ को उक्त घटनामा २ सय ५७ जनाको ज्यान गएको थियो। मुम्बई स्टक एक्स्चेन्ज, राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको कार्यालय, होटल लगायत १२ ठाउँमा शृंखलाबद्ध विस्फोट भएका थिए।

त्यसमा परी ७ सय सय भन्दा बढ़ी घाइते भएका थिए। त्यसको केही महिनासम्म भारतभर साम्प्रदायिक हिंसा भए। मृत्युदण्ड खारेजीका लागि उनले अन्तिमपटक दिएको निवेदन भारतीय सर्वाेच्च अदालतले अस्वीकार गरेको केही घन्टाभित्रै उनलाई झुन्ड्याइयो। त्यसअघि नागपुर कारागारबाहिर र मुम्बईको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

महाराष्ट्र सरकारका मुख्यसचिवका अनुसार उनको शव कारागारभित्र समाधिस्थ गरिएन, पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। उनलाई मृत्युदण्ड दिनुअघि नुहाउन लगाइयो र अन्तिम इच्छाबारे सोधियो। मृत्युदण्ड दिनुअघिको औपचारिकता थियो त्यो। त्यसपछि केही खान जेल अधिकारीले गरेको आग्रह उनले अस्वीकार गरे।

मेमनका वकिलले १४ दिनपछि मात्र मृत्युदण्ड दिन याचना गरेका थिए। तर, अदालतले उनको याचिका खारेज गरिदियो। सन् २००७ मा मुम्बईस्थित विशेष अदालतले उनलाई मृत्युदण्ड तोकेको थियो। शृंखलाबद्ध विस्फोटका लागि आर्थिक र बन्दोबस्तीका सामान उपलब्ध गराएको अभियोग थियो। घटनाका ११ अभियुक्तमध्ये उनले मात्र मृत्युदण्ड पाएका छन्। अन्य १० जनालाई आजीवन कारावास तोकिएको छ। २१ मार्च २०१३ मा सर्वोच्च अदालतले बम विस्फोटमा उनको ‘नेतृत्वदायी भूमिका र अपराधको पराकाष्ठा’ का कारण मृत्युदण्ड सदर गरेको थियो। मे २०१४ मा राष्ट्रपति प्रणव मुखर्जीले आममाफीका लागि उनले दिएको निवेदन अस्वीकार गरेका थिए।बीबीसी