भारतको ७० औं स्वतन्त्रता दिवश समारोह

DSC_0657काठाण्डौ स्थित भारतीय राजदूतावास परिसरमा १५ अगष्ट २०१६ मा आयोजित एक सार्वजनिक समारोहका बीच भारतको ७० औं  स्वतन्त्रता दिवस मनाइयो । उक्त अवसरमा भारतका राजदूत श्री रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभयो । उक्त सन्देशमा छिमेकमा शान्ति र स्थायीत्वको लागि भारतको सहयोगमा जोड दिइएको थियो ।
राजदूतले उक्त अवसरमा भारतीय सेनाका भूपू सैनिकका चौधजना विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तभूपू सैनिकहरुलाई चार करोड रुपैयाँको चेक तथा कम्बल समेत वितरण गर्नुभयो । यसको साथै राजदूतले नेपालका दुर्गम सहित विभिन्न स्थानमा रहेका ५९वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गर्नुभयो ।
DSC_0310Aउक्त अवसरमा नेपालका विभिन्न अस्पताल, गैरनाफामुलक संघसंस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक तथा स्वास्थ्य सेवा उन्नयनको लागि ४०वटा एम्बुलेन्स र ८ वटा बस समेत उपहार स्वरुप प्रदान गरियो । नेपालको विकासको लागि भारतको निरन्तर सहयोगस्वरुप राजदूत रायले ३६ वटा एम्बुलेन्स र ६ वटा बस तथा बाँकि चरवटा एम्बुलेन्स तथा दुईवटा बस वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतले उपहार स्वरुप प्रदान गर्नुभयो ।
कार्यक्रममा सत्तरी वटा योजना माथि प्रकाश पार्ने एउटा छोटो चलचित्र पनि प्रदर्शन गरिएको थियो जसमा भारत सरकारले विमोचन गरेको कार्यक्रम र भारतीय विदेश मन्त्रालयको सार्वजनिक सेवा योजना ‘मदद’ पनि समावेश गरिएका थिए । उक्त कार्यक्रममा १२ र १३ अगष्टमा जनकपुरमा “रामायण सर्किट कला वर्कशप” सम्पन्नगर्ने पाँचजना भारतीय र सात जना नेपाली गरी बाह्र जना कलाकारहरुलाई सम्मान पनि गरियो ।
सन् १९९४ देखि भारत सरकारले नेपालका ७३ जिल्लाहरुका विभिन्न संस्थाहरुलाई ५८२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । यसले स्वास्थ्य सेवामा पहुँच नभएका हजारौँ मानिसहरुको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गरेको छ । भारतले नेपालका २५ जिल्लाका विभिन्न शैक्षिक र परोपकारी संस्थाहरुलाई ११४ वटा बसहरु पनि उपहार स्वरुप प्रदान गरेको छ जसले हजारौँ विद्यार्थीहरुका लागि शिक्षामा सहज पहुँचको प्रत्याभूती दिएको छ ।
भारतको ७० औँ स्वतन्त्रता दिवस कार्यक्रममा भारतीय दूतावासका अधिकारीहरु, उनीहरुका परिवार, भारतीय समुदायका सदस्यहरु र अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम भव्य सांस्कृतिक समारोह सहित अन्त्य भयो ।