बौद्धिक जिल्ला सप्तरीमा विकासको खडेरी

श्यामसुन्दर यादव
श्यामसुन्दर यादव

 नेपालमै विशिष्ट पहिचान बोकेको जिल्लाको रुपमा सप्तरीलाई चिनिन्छ । राजनीतिक, शिक्षा, विद्वता, कला संस्कृति, सामाजिक सद्भाव, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस जिल्लाले राष्ट्रियस्तरमा पुर्याएको योगदान उदाहरणीय एवम् अनुकरणीय रहेको छ ।

बौद्धिक जिल्लाको रुपमा कुनै समय प्रसिद्धी पाएको सप्तरी जिल्लाको जुन रुपले विकास हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन । सप्तरी जिल्लामा जन्मेका दर्जनौ व्यक्तित्वहरू उच्च ओहोदा तथा निर्णायक तहमा पुगेका अनेकौं उदाहरणहरु छन् । भारतीय स्वतन्त्रता संग्रामदेखि नेपालको निरङ्कुश राणाशासन अन्त्यका लागि सप्तरीको योगदानलाई इतिहासले त समेटेको छ नै । त्यसवाहेक पञ्चायती व्यवस्था विरूद्धको २०४६ सालको जनआन्दोलन, दोस्रो जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन, जातिय छुवाछुत विरूद्ध लगायतका आन्दोलनमा समेत यो जिल्ला अग्रणी छ । देश र जनताको मुक्तिका लागि विभिन्न समयमा यहाँका योद्धाहरुले सहादत दिएर रातो रगतले गौरवमय इतिहास रचेर गएका छन् ।
राष्ट्र गौरव प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहदेखि समानता र स्वाभिमानका निम्ति आजिवन लडाई लड्ने गजेन्द्रनारायण सिंह समेतको जन्मथलो सप्तरी नै हो । हनुमाननगरको जेल ब्रेक काण्डलाई बिर्सन मिल्दैन । स्वतन्त्रता संग्रामका क्रममा हनुमाननगर जेलमा रहेका नेताहरुलाई जेलमुक्त गराउनका लागि सप्तरीकै योद्धाहरुले जेल ब्रेक गरेको कुरा कसैबाट लुकेको छैन ।

किसान आन्दोलनका क्रममा गुजाई यादव, कृष्णराज वर्मा, कन्छु यादव लगायतका किसान नेताहरुको नेतृत्वमा चलेको आन्दोलनले नेपालमा समानान्तर सरकार सञ्चालन भईरहेको भनि बिबिसी जस्तो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रशारण गरेको इतिहासलाई विर्सन मिल्दैन । निरंकुश पञ्चायती शासन व्यवस्था विरुद्ध लडाई लड्ने क्रममा युवावस्थामै हाँसीहाँसी ज्यान उत्सर्ग गरेका योद्धा शाकेतचन्द्र मिश्र र दिलिप चौधरीको योगदान हाम्रा लागि प्रेरणादायी रहेको छ । हरेक राजनीतिक परिवर्तनपछि गठित सरकारमा सप्तरीका विभिन्न व्यक्तिहरूले महत्वपूर्ण स्थान पाएका पनि छन् । तर, दुर्भाग्य नै भन्नुपर्दछ यस जिल्लाको का“चुली फेरिएन । यो जिल्ला क्रमशः पछौटेपनको शिकार बन्दै गयो । आर्थिक समृद्धिका लागि थुप्रै पुर्वाधार रह“दारह“दै तिनको उपयोगिताका लागि नत राजनीतिक व्यक्तिहरु गम्भिर देखिए न सप्तरीवासी नै सजग भए ।
बढ्दो सरकारी उदासिनता, पू“जीका साथसाथै तराईमा जारी सशस्त्र आन्दोलनका कारण वौद्धिक व्यक्तित्व समेतको पलायनले गर्दा पनि यस जिल्लाले ठूलो क्षति व्यहोर्नु परेको अवस्था विद्यमान् छ । खासगरी पहाडे समुदायका व्यक्तिहरुलाई सशस्त्र समूहहरुले तारो बनाउन थालेपछि उनीहरु कौडीकोे भाउमा घर जग्गा बेचेर सुरक्षित गन्तव्यतर्फ लागेको तथा असुरक्षा महशुस गर्न थालेपछि व्यवसायीहरु पलायन हुन पुगेको दुःखद यथार्थलाई समेत विर्सन मिल्दैन । यस्तो अवस्थाका कारण सदरमुकाम राजविराजमा आर्थिक कारोबार समेत ह्वात्तै घट्न पुग्यो । यद्यपी वि.सं. २०६८ सालमा सप्तरी उद्योग वाणिज्य संघको पहलमा राजविराजमा आयोजना गरिएको सप्तरी महोत्सव तथा पुर्वाञ्चल मेला पश्चात अर्थतन्त्रमा केही सकारात्मक परिवर्तनहरु भने अवश्य नै देखिएको छ । सुरक्षा निकायले जिल्लामा शान्ति सुव्यवस्था कायम गराउनका लागि थालेको पहलले गर्दा विस्थापनको घाउमा मलमको काम गरेको छ ।
अर्कोतर्फ जिल्लाको विकास निर्माण लगायतका कार्यहरु गर्नका लागि वर्षेनी आउने सरकारी बजेट कागजी प्रक्रिया मिलान गरेर हजम गर्ने प्रवृति बढ्दै गएको छ । जसका कारण जिल्लाको विकास निर्माणको अवस्था एकदमै जर्जर रहेको छ । भारतीय लगानीमा सञ्चालित कन्या छात्रावास, विद्यालय भवनहरु निर्माण लगायतका योजनाहरुको काम वर्षौंदेखि अलपत्र रहँदैआएको छ । जसका कारण भारत सरकारले थप लगानी गर्न समेत बन्द गरेको छ । देशका अन्य जिल्लाहरुले विकास निर्माण लगायतका क्षेत्रहरुमा फड्को मारिसकेको छ तर सप्तरीवासीको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन ।
सरकारी कार्यालयहरुमा आर्थिक पारदर्शिता नभएका कारण  अनियमिता चुँलिदै गएको छ । कार्यालयहरुमा नियमित रुपमा प्रमुख लगायतका कर्मचारीहरु नबस्ने गरेका कारणले सर्वसाधारण जनताहरुले सर्वसुलभ रुपमा सुविधा पाउन सकिरहेका छैनन् ।
जिल्ला विकास समितिले हतार हतारमा योजना बनाई कागजी प्रक्रिया मिलान गरेर रकम दुरुपयोग हुने गरेको वास्तविक यथार्थ समेत कसैबाट लुकेको छैन । जिल्लाको विकासका लागि वर्षेनी करोडौं रुपैयाँ आउने गर्दछ । तर प्रतिफल भने हात लागि शून्य झंै भएको छ । अहिले पनि यहाँ बाटो–घाटोको अभाव उस्तै छ । पूर्व–पश्चिम हुलाकी सडक, सहायक सडक तथा ग्रामिण सडक तथा बाटोहरुको दुरावस्थाका कारण यहाँका जनताहरुका लागि वर्षायामका महिनाहरु निक्कै कष्टकर बन्ने गरेका छन् । हिलाम्य बाटोका कारण सर्वसाधारण जनतालाई पैदल हिँड्न समेत अप्ठ्यारो हुने गर्दछ ।
विद्युतको अवस्था पनि उस्तै छ । हालसम्म जिल्लाको सम्पूर्ण गाउँहरुमा विद्युत सेवा पुग्न सकेको छैन । विद्युत पुगेका गाउँहरुमा पनि नियमित विद्युत सेवा नहुँदा टुकी ( डिबिया) र लालटिनको भरमा बस्नुपर्ने वाध्यता छ । ग्रामिण क्षेत्रमा रहेका सरकारी निकायका केन्द्र तथा उपकेन्द्रहरुको अवस्था पनि खासै सन्तोषजनक छैन । गाविस कार्यालय, स्वास्थ्य चौकी, पशु स्वास्थ्य केन्द्र, उपकेन्द्र लगायतका कार्यालयहरुमा कर्मचारीहरु नियमित रुपमा नबस्ने गरेका कारण सर्वसाधारण जनता सास्ती व्यहोर्न बाध्य छन् । केही वर्ष अघिसम्म पहाडे समुदायका व्यक्तिहरुलाई तारो बनाएर शुरु गरेको आन्दोलनका कारण राम्रा एवम् बौद्धिक जमातका साथै उद्योगधन्दाहरु समेत पलायन भएपछिको घाउ अहिलेसम्म पुरिन    पाएको छैन ।
बौद्धिक जिल्लाको रुपमा चिनिने सप्तरीको शिक्षा क्षेत्रको वर्तमान अवस्था झन जर्जर बन्न पुगेको छ । विद्यालयमा टिफिनपछि छुट्टी हुने, कक्षामा शिक्षक नजाने, भनसुनमा शिक्षक नियुक्ति, एसएलसी परीक्षामा चीट चोरी हुने लगायतका समस्याहरुका कारण शिक्षाको गुणस्तर खस्किदै गएको छ । शिक्षा कार्यालयको यसतर्फ ध्यान पुग्न सकेको छैन ।
कृषि क्षेत्रको अवस्था अति रुग्न रहेको छ । यहाँका खेतीयोग्य समथर फाँटहरु सिँचाइ सुविधा, मलखाद, बीऊ बिजनको अभावमा किसानहरुले चाहेर पनि खेती गर्न सकिरहेको छैन । किसानहरुको समस्याप्रति सरकार हालसम्म उदासिन रुपले प्रस्तुत हुँदैआएको छ । जिल्ला कृषि विकास कार्यालय मार्फत किसानहरुलाई आउने अनुदानको बीऊ बिजन तथा मलखाद सहज रुपमा पाउन सकिरहेको छैन । अनुदानको बीऊ बीजन, मलखाद्, किटनाशक औषधीहरु अन्यत्रका पसलहरुमा बिक्रि हुने गरेको छ । व्यावसायिक माछापालन, तरकारी खेती, प्याज मिसन लगायतका कार्यक्रमहरु समेत आर्थिक अनियमितताका कारण असफल हुँदै आएको छ । किसानहरुका लागि आउने कृषि औजार तथा उपकरणहरु पसलहरुमा बिक्री हुने गरेको छ । कृषि क्षेत्रका प्राविधिकहरु ठाउँमा नपुग्ने तर खोज्दै किसान कार्यालयसम्म परामर्श तथा सेवा लिन आउँदा ‘ फिल्ड गएको’ भनि जवाफ दिने गरेको अवस्था छ ।
सप्तरीकै चन्द्रनहर देशकै सबैभन्दा पुरानो त हो । तर, अहिले यसको अवस्था दयनीय बन्दै गएको छ । कमाण्डक्षेत्रसम्म सिंचाईं सुविधा नपुग्नु, अतिक्रमण बढ्नु, नहर निर्माणका क्रममा बनाइएका हाल पुराना भवनहरूको संरक्षण नहुनु जस्ता यस नहरका समस्याप्रति सरकारले ध्यान पु¥याउन सकेको छैन । यस्तै अवस्था छ कोशी पम्प नहरको पनि । जिल्लाका यी दुई नहरहरुको मर्मत सम्भारको अभावमा कमाण्ड एरियासम्म सिंचाई सुविधा पुर्याउन सकिरहेको छैन । कमसेकम भरपर्दो सिंचाईको प्रबन्ध भइदियो भने भारतको दिल्ली, पञ्जाब, हरियाना, लुधियानाका साथै खाँडी मुलुक जाने क्रम अवश्य नै रोकिनेछ । यो जिल्लाबाट विषयगत मन्त्रीहरु कैयौं पटक भए तर किसानहरुको समस्या भने ज्यूँका त्यूँ रहेको छ । आकाशे भरमा खेती गर्नुपर्ने अवस्था हालसम्म विद्यमान रहेको छ ।
कुरा गरौं अब धार्मिक तथा पर्यटन क्षेत्रको छिन्नमस्ताको सखड़ेश्वरी भगवती, राजविराजको राजदेवी भगवती, भारदहको कंकालीनी भगवती, राजविराजको राजदेवी, चण्डेश्वरी भगवती, हरिनन्देश्वर महादेव मन्दिर, वैष्णवी काली, राधाकृष्ण मन्दिर, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, कटैयाको दिनाभद्री, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर, पातोको डाकनी थान, लालापट्टीको लालेश्वरनाथ, चुरे क्षेत्रमा चन्द्रवंशी राजाहरूको दरबार, खोक्सर प्रवाहाको कनकपट्टी दरबार, मानराजाको मानराजा गढी, कञ्चनपुरको कञ्चनगढ, ठेलियाको खोदरदेवी, महदेवाको अंकुरी महादेव, झुटकीको प्राचीन चन्द्रदेवी पोखरी, कविलासाको कपिलेश्वर महादेव, मौवाहाको पञ्चदेवता, मझौ गहवरसहितका धार्मिक स्थल एवम् पौराणिक अवशेषहरूले यस जिल्लाको ऐतिहासिकतावारे थप पुष्ट्याइ“ गरेको छ ।
यसैगरी राजविराजको जामे मस्जिद, रामनगर–कोदरकट्टीको सन्तकवीर मठ, प्रसवनीको बौद्धस्तुप, विभिन्न स्थानहरूमा रहेका चर्च, जैनधर्मावलम्वीहरूको राजविराज स्थितको प्रार्थनास्थल, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सहितका स्थलहरूले यस जिल्लाको गरिमा बढाउने काम गरेका छन् । तर तीनको संरक्षण सम्वद्र्धनका साथै यातायातको सुबिधा नहुँदा अर्थतन्त्रले गति लिन सकिरहेको छैन । यस्तै कोशी टप्पु, गोलघर, मध्यवर्तिक्षेत्र चन्द्रनहर, कोशी पम्प नहर, बरमझियाको पेडा, महुलीको दुध, दही, मासु, बाख्रापालन, गाईपालन, संरक्षित सामुदायिक वनले नेपालमै प्रसिद्धि पाएको छ । तिनको लागि राज्यपक्षबाट प्रोत्साहनको खाँचो छ । यहा“को आँप र माछाले त राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाएको छ । तर यसलाई व्यवसायिक रुपमा जगेर्ना गर्नेतर्फ सरकारले खासै चासो देखाउन सकेको छैन ।
वि.सं. २०१६ सालमा तत्कालीन यातायात मन्त्री स्व. गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थल हालसम्म सञ्चालनमा आउन सकेको छैन । यस विमानस्थलको पक्की रनवेका लागि पटक–पटक करोडौं रूपैया“ खर्च भइसकेको छ तर निर्माण कामले पूर्णता पाउन सकेको छैन । जिल्लावासीको आशा भरोसाको रूपमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र निर्माण भएको झण्डै दुई दशक बितिसकेको छ तर हालसम्म सञ्चालनमा आउन सकेको छैन । सगरमाथा अञ्चल अस्पतालको अवस्था समेत त्यस्तै रहेको छ । चिकित्सकको अभावमा अञ्चल अस्पताल रेफरल सेन्टरको रुपमा परिणत भएको छ । मधेशवादी दलका नेताहरुको पहलमा राजविराज विमानस्थल, राजविराज औद्योगिक क्षेत्र र सगरमाथा अञ्चल अस्पतालको नामको अगाडी गजेन्द्रनारायण सिंह त जोडियो तर उन्नती प्रगति भने केही हुन सकेको छैन ।
नेपालकै अति पुरानो वि.सं. २०१६ सालमा स्थापना घोषणा भएको राजविराज नगरपालिकाले काँचुली फेर्न सकेको छैन । अझैं पनि ढल निकास, छाडा पशु चौपाया, फोहोर व्यवस्थापन, जीर्ण सडक, अतिक्रमण, अव्यवस्थित हाट बजार, अव्यवस्थित बसपार्क, नागरिक अचेतना जस्ता समस्याका कारण यो सहर थप कुरुप बन्न पुगेको छ । भारतको गुलाबी सहर भनेर चिनिने जयपुरको नक्साको आधारमा टाउन प्लानिङ्ग गरिएको तथा सगरमाथा अञ्चलको सदरमुकाम रहेको राजविराजको विकास हुन सकेको छैन । वर्षेनी नदी कटान, बाढी, शीतलहरको कहर, चुरे विनास लगायतका समस्याहरु विद्यमान छ ।
क्षेत्र नम्वर ३ बाट निर्वाचित सभासद् उमेश कुमार यादवले जिल्ला तथा नगरको समग्र विकासका लागि द ग्रेट सप्तरी द बेस्ट सप्तरी ग्रीन राजविराज क्लिन राजविराज भन्ने नारालाई अगाडी बढाएका छन् । यसअतिरिक्त जिल्ला तथा नगर बनाउने अभियानमा जिल्लाका सम्पूर्ण सभासद्हरु एकमत भएर विकास निर्माणका साथै बेथितिहरु विरुद्ध एकमत भएर अगाडी बढेका छन् । काठमाण्डौमा समेत जिल्लाका १६ जना सभासद्हरु पटक–पटक बैठक बसेर विभिन्न कार्यक्रम तथा योजनाहरु अघि सारेका छन् । जिल्लाको साखलाई कायम राख्नका लागि सम्पूर्ण जिल्लावासीहरु एकजुट भएर अगाडी बढ्नु जरुरी छ ।