बैद्यनाथ झालाई ५० हजार रुपियाँको पुरस्कार

baidyanath.jpg  BaidhyanathJhaअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  ‘२१ औं  प्रकाश मानवअधिकार पुरस्कार २०७१’ बाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित पुरस्कार सिफारिश समितिले झाको नाम छनोट गरेको हो । झा चार दशकदेखि मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील छन् ।

इन्सेकका पाँचै क्षेत्रीय कार्यालयबाट सिफारिश भएका नामहरूमध्येबाट समितिले अन्तिम निर्णय गर्ने गर्दछ । यसअघि  सप्तरीका  स्व. रमानन्दप्रसाद  सिंह यस पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।

सामान्य  प्रशासन  मन्त्री  माननीय  लालबाबु  पण्डितको  प्रमुख  आतिथ्यमा  राजविराजस्थित सप्तरी जिल्ला विकास समितिको सभाकक्षमा साउन १६ गते ११ः०० बजे सम्पन्न हुने समारोहमा झालाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

इन्सेकका संस्थापक महासचिव अथक मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानवअधिकार पुरस्कार’बाट यसअघि २० जना सम्मानित भइसक्नु भएको छ । यस पुरस्कारस्वरूप सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।