बाल श्रमिक प्रयोग गर्ने ईटा भट्टामाथि कार्वाही हुने

ईटा व्यवसायीसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवसहित सरोकारवाला निकायका प्रमुखहरु ।
ईटा व्यवसायीसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवसहित सरोकारवाला निकायका प्रमुखहरु ।

सप्तरीका ईटा भट्टामा कार्यरत बाल मजदुरहरुलाई आईन्दा काममा नलगाईने भएको छ ।

जिल्ला बाल कल्याण समितिले शुक्रवार स्थानीय ईटा व्यवसायीहरुलाई राखेर यसप्रकारको सहमति गरेको हो । जिल्लामा रहेका कुल ४२ ओटा ईटा भट्टामध्ये अधिकांशमा बाल मजदुरहरु कार्यरत रहेको गुनासो उठेपछि ईटा व्यवसायी संघका पदाधिकारीसमेतलाई राखेर आईन्दा त्यहाँ बाल मजदुरहरुलाई काममा नलगाउने सहमति भएको जिल्ला बाल कल्याण समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताए ।

यसका लागि महिला तथा बालबालिका कार्यालयकी बाल कल्याण अधिकृत पूनम चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा जिल्ला बाल कल्याण समितिका बैद्यनाथ झा, ईटा व्यवसायी शशी कुमार यादव, नेपाल पत्रकार महासंघ र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रतिनिधी रहेका छन् । समितिले ईटा भट्टामा कार्यरत बाल मजदुरहरुको तथ्यांक संकलन गर्ने, बाल मजदुर नराख्न सुझाव दिने र अटेर गर्नेलाई कार्वाहीको लागि सिफारिस समेत गर्ने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् ।