बाल कल्याण गृहमा नायिका डोली

doliमैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले सोमवार आफ्नो जन्मदिन राजविराज स्थित बाल कल्याण गृहका बालबालिकाहरुसँग मनाएकी छिन् ।

जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई चुनौति दिँदै उनले विगत तीन वर्षदेखि बाल कल्याण गृहका बालबालिकाहरु रमाइलो गरेर जन्मदिन मनाएकी हुन् । २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेकी नायिका डोलीले असहाय बालबालिकालाई लुगा, कपी, कलम, चाउचाउ र बिस्कुट वितरण गर्दै उनीहरुसँगै सामुहिक रुपमा केक काटेकी छिन् ।

धार्मिक म्युजिक भिडिओको छायाङ्कन तथा नृत्य निर्देशनमा व्यस्त रहेकी उनले उक्त कार्यलाई थाती राख्दै बालबालिकाहरुसँग रमाईलो गर्न बाल कल्याण गृह पुगेकी थिईन् । सिनेमामा नायकका साथ तथा म्युजिक भिडिओहरुमा मोडेलका साथ अभिनय तथा नृत्य गर्ने डोलीले त्यहाँ रहेका बालबालिकालाई नाच्न लगाउँदै आफू पनि नृत्य गरिन् ।

हरेक बालबालिकालाई नाच्ने, गाउने, खेलकुद गर्ने चाहना हुने गरेको बताउँदै उनले भनिन् ‘बाल कल्याण गृहका बच्चालाई सबैले माया, ममता र दुलार गर्नुपर्छ त्यसैले मैले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको छु ।’ आफ्नो जन्मदिन सम्झिँदा सबभन्दा पहिला बालकल्याण गृहका बच्चाहरुलाई नै सम्झिने उनले बताईन् । ‘आफ्नो क्षमता भ्याएसम्म समाजकालागि केही नकेही कामहरु गर्दै जानुपर्छ’ नायिका डोलीले भनिन् ‘बच्चाहरुकासाथ रमाइलो गर्न पाउँदा म सर्वाधिक हुन्छु ।’

उनले यस अघिका वर्षहरुमा समेत खेलकुद तथा शैक्षिक सामग्री वितरण गर्दै बच्चाहरुसँगै जन्मदिन मनाएकी थिईन् । डोलीले करिब दुई दर्जनभन्दा बढी मैथिली, भोजपुरी तथा थारु भाषाका म्युजिक भिडिओहरुमा काम गरिसकेकी छिन् भने एक दर्जन फिल्महरुमा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् ।