बहुमतका आधारमा संविधान जारी गरिए देशकै लागि दुर्भाग्य

राजविराजमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादीकी नेतृ हिसिला यमी ।
राजविराजमा बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाओवादीकी नेतृ हिसिला यमी ।

एकिकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले ७ र १० प्रदेशको बिच सहमति खोजी माघ ८ गतेभित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिएकी छिन् ।

राजविराजमा बुधवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएकी हुन् । नेपाली काँग्रेस र नेकपा एमाले सात प्रदेशको पक्षमा रहेको तर आफूहरु १० प्रदेशको पक्षमा रहेको भएपनि ७   र १० को बिचमा सहमति खोजेर माघ ८ भित्रै संविधान जारी हुनुपर्नेमा उनले जोड दिईन् ।

जीत र हारको विषय नबनाएर मधेशी, दलित, जनजाति, आदीवासीलगायत शोषित उत्पीडित जनताको पक्षमा संविधान ल्याउनुपर्ने नेतृ यमीले बताईन् । हामीहरु एकदमै लचिलो रुपमा प्रस्तुत हुँदैआएका छौं तर काँग्रेस र एमाले भने आफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको छैन– उनले भनिन्– काँग्रेस एमाले लचिलो हुन सकेको छै्रन तर हामी भने बिचको बाटो अपनाउन तयार छौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिबाट संविधान बनाउन दिएको सल्लाहप्रति समर्थन जनाउँदै नेतृ यमीले मित्रराष्ट्र भारत र चीनको चासो स्वाभाविक भएको प्रष्ट पारिन् । उनले भनिन्– नेपालमा शान्ति र स्थायित्व भए भारतलाई पनि सकारात्मक प्रभाव पर्ने भएकोले नेपालमा चाँडो संविधान जारी भएको हेर्न चाहनु सकारात्मक हो ।

बहुमतको आधारमा संविधान जारी भए तपाईहरु के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरुद्वारा सोधिएको प्रश्नमा उनले बहुमतका आधारमा संविधान जारी गरिए देशकै लागि दुर्भाग्य हुने तथा बाध्य भएर जनताको बिचमा जाने बताइन् ।