बन्द नै समाधान होइन…

photo 5आन्दोलन गर्दा माग पुरा गराउन बन्द, हडतालको नै सहारा खोज्ने परिपार्टीलाई अझै त्याग्न सकेको छैन । लामो समय देखि तराई मधेशमा चलेको आन्दोलनले यतिबेला अत्यावश्यक बस्तु समेतको यत्रतत्र हाहाकार मचिएको छ । बन्दले पेट्रोलियम पदार्थको सहज आपुर्ति नभएपछि दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ ।

यस बाहेक बिरामीको उपचारका लागि अत्यावश्यक अक्सिजन र औषधी समेतको अभाव देखिन थालेको छ । बाहिरबाट आयात गर्नुपर्ने औषधी त रोकिएकै अवस्था छ । यस बाहेक मुलुक भित्रै उपलब्ध औषधी समेत ढुवानी हुन नसक्दा बिरामीको उपचार प्रभावित भएको छ ।

स्वास्थ्योपचार कै क्षेत्रमा प्रयोग हुने एम्बुलेन्स सेवा समेत प्रभावित हुँदा आकस्मिक उपचारबाट समेत बन्चित हुनुपर्ने असहज परिस्थिति उत्पन्न भएको छ । बन्दले गर्दा तराई मधेशका लाखौ बालबालिकाको पढाई नराम्ररी बिथोलिएको छ । भुकम्पबाट लामो बन्द हडतालले गर्दा बालबालिकाको पठनपाठन हुन सकिएको छैन । सरकारले आन्दालनकारीसित सार्थक वार्ता गरी समस्याको टुंगो लगाउन नसकेपछि आन्दोलन लम्बिदै गएको छ ।

आन्दोलनकारी पक्षले पनि स्वास्थ्य, उपचार पहल हुन सकेको छैन । भविष्यका कर्णधार मानिने अबोध बालबालिकालाई निर्वाध पढ्ने लेख्ने वातावरण मिलाउँदा नै बालबालिकाको संरक्षण हुन सक्दछ । बन्दका आयोजकले कम्तिमा यस्तो सम्वेदनशील विषयप्रति उदारतापूर्वक सोचि दिए बालबालिकाको पठनपाठन बिथोलिने थिएन होला । पढ्न लेख्ने उमेरका बालबालिकालाई बाधा अवरोध विना शिक्षा आर्जतिर लाग्नु जरुरी कुरा हो । त्यसो भएन भने यसको नोक्सानी सिङ्गो राष्ट्रमाथि नै पर्ने निश्चित छ ।

नेपालमा हालैको विनाशकारी भुकम्प र लामो समय देखिको आन्दोलनले गर्दा लाखौं बालबालिकाहरुको पठनपाठन प्रभावित भएको भन्दै संयुक्त राष्ट्र संघ सम्बद्ध निकायले समेत चिन्ता व्यक्त गरि सकेको छ । यस्तो सम्वेदनशील विषयप्रति सरकार र आन्दोलनरत पक्षले ध्यान पु¥याउनु जरुरी देखिन्छ । विगतका आन्दोलनहरुमा पनि बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्नेतर्फ ध्यान पु¥याउनु पर्ने कुरा उठ्दै आएको विषय हो । विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्दै बन्द हडतालबाट मुक्त राख्ने कुरा यसै सेरोफेरोमा समेटिएको हो । यो कुरालाई मनन गरिनु आवश्यक छ ।

बन्दबाट बिरामीले समयमा उपचार नपाउँदा ज्यानै खतरामा पर्न सक्छ, यातायात नचल्दा कुनै भवितव्य परे ठूलो क्षति हुन सक्छ । नियमित औषधी सेवन गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीलाई समयमा औषधी सेवनबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । त्यसैले बन्दको विकल्प खोजेर आन्दोलन गर्न सक्दा नै यस्ता अप्रिय अवस्थाबाट जोगिन सकिन्छ भन्ने तर्फ आन्दोलनरत पक्षको ध्यान पुग्नु आवश्यक छ ।