प्रधानमन्त्रीको भारत भ्रमण रद्द

pm korilaप्रधानमन्त्री सुशील कोइरालाले यसै महिनाको अन्तिम साता गर्ने भनिएको भारत भ्रमण स्थगित भएको छ।नयाँदिल्लीस्थित दक्षिणएसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा प्रधानमन्त्री कोइराला भारत जान लागेका थिए। विश्वविद्यालयले अन्तिम समयमा आएर दीक्षान्त कार्यक्रम नै स्थगित गरेपछि प्रधानमन्त्रीको भारत भ्रमण रोकिएको हो।
प्रधानमन्त्रीको भ्रमण औपचारिक बनाउन नेपाल र भारत सरकारबीच गृहकार्य भए पनि अन्तिम समयमा आन्तरिक कारण देखाउँदै विश्वविद्यालयले समारोह एक वर्षका लागि सारेको हो। प्रधानमन्त्री कोइराला जेठ २५ गते भारत जाने तय भएको थियो।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र महाभूकम्पपछिको राहत व्यवस्थापनमा सरकार लागेका कारण प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भएको दाबी गरे।
‘नयाँ सरकारबारे अहिले दलहरूबीच छलफल जारी छ। प्रधानमन्त्रीज्यू यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने पक्षमा हुनुहुन्छ। त्यसैगरी महाभूकम्पपछिको राहत बाँड्ने कामले समेत पूर्णता पाइसकेको छैन। यी दुई कुरालाई हेरेर प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको टुंगो हुन नसकेको हो’, भट्टराईले भने।